समृद्ध कालिकोटको परिकल्पना
‘झल्को लाली ओठको, सडक पुग्यो मोटर चल्यो जुम्ला कालिकोटको…’, ‘जुम्ला, हुम्ला, राराताल कहिले घुम्ने होला ?’ जस्ता सहज लोकगीतले कर्णाली र विशेषगरी कालिकोटलाई प्रतिबिम्वन गरेका छन् । विकासले भाषिक सिर्जनालाई प्रत्यक्ष प्रभाव पार्दछ भन्ने कुरा यी दुवै गीतले सूचक बनाएका छन् । जुम्ला, हुम्ला राराताल कैले घुम्ने होला ? जिज्ञाशामूलक, प्रश्नसूचक लयात्मक गीतले आफूलाई जन्माएको तीन–चार वर्षपछि २०६९ सालतिर जुम्लासम्म सडक पुगे लगतै अर्को सालतिर रारा नपुगे पनि मुगु सदरमुकाम कच्ची, धुले बाटो पुगेर मोटर गुड्यो । यसको धेरै वर्ष अगाडि रारा चाउचाउ, रारा बोर्डिङ्ग, राराकी अप्सरा जस्ता शब्दसँग जोडिएका रचनाहरू आइसकेका छन् ।
मूलतः बाहुन, क्षेत्री, कथित दलित, ठकुरीहरूको संयोग तथा एकदम कम लामाहरूको समिश्रणबाट कालिकोटको समाज निर्मित छ । एक लाख ३६ हजार नौ सय ४८ जनसंख्याको कालिकोटलाई दुई लाख ८९ हजार आठ सय ५० क्वीन्टल खाद्यान्न चाहिन्छ । कालिकोटलाई एक लाख ६३ हजार ६ सय बीस क्वीन्टल अपुग छ । कालिकोट जिल्ला पनि विकट, भीमकाय, असमान पहाडले बनेको छ । रास्कोट, चिलखाया, लालु, सुकाटीया, भर्ता क्षेत्रतिर राम्रो उत्पादन हुन्छ । चामल, गुहँ, मकै, जौं र कोदो प्रमुख खाद्यवाली भए पनि फापर, चना, कागुनो, लट्टे, माटे लगायत अन्य सहायक खाद्यबाली पनि उत्पादन हुन्छ । अर्गानिक उत्पादनका लागि कालिकोटलाई सकारात्मक पक्षमा राख्नुपर्छ । कर्णाली र तीला नदी कालिकोटका ठूला प्रमुख तथा सदाबहार नदीहरू हुन् । शिष्ट, शालिन, कञ्चन, भद्र प्रवृत्ति जलाधारका खोला, मूल, खोल्सा, नदी, गाड, जरुवाले कालिकोट प्रचूरता छ । गोठेमल, पशुपालन, खर्क, लेकबेशी, काल्ना, वन सामुदायिक वन, वगर, भीर, पाखा, पखेरा, पहरा कालिकोटका सामथ्र्य बोकेका सम्पत्तिहरू हुन् । बाटोभर देउडा गीत गाउँदै दिनभर बिताउन सक्ने लोक समाज, संस्कृति र परम्परा कालिकोटको मौलिकता र विशिष्टता हो । मौलिकता पनि हो । असारदेखि मंसिर महिनासम्म सम्भवतः कालिकोट नै नेपालकै सबैभन्दा बढी झरनाहरू देखिने पाइने प्रतिनिधि जिल्ला हो ।
स्वास्थ्य, बजार, मूल्य लगानी, शिक्षा, ज्ञानसीप, धारणालाई बेवास्ता गरिएर जीवन निर्वाहमा कृषि पेसा तथा अति कम पशुपालन गर्नु कालिकोटको सीमा हो । विकास सूचकांकले पछि पारिएको कालिकोटमा छोराछोरीबीच चरम विभेद छ, छुवाछुत चरम स्थितिमा छ, कुपोषण त्यस्तै छ, बालविवाह, बहुविवाह, अनमेल विवाह आज पनि कालिकोटमा कायम छ । अन्धविश्वास, अन्धपराम्परा, रुढिवादी धारणा, संकीर्णताले कालिकोटको समृद्धिलाई स्तरोन्नति गर्न सकिरहेको छैन । शिक्षाका क्षेत्रमा सकारात्मक, गुणात्मक समृद्धि असम्भव छ ।
कालिकोटको बेसीमा आँप, केरा, मेवा, लिची, अम्बा फल्छ । अलि माथि सुन्तला, कागती फल्छ । झन् माथि ओखेर, आरु, नास्पति पनि फल्छ र सबैभन्दा उच्चमा जडिबुटी फल्छ । त्यसकारण कालिकोट अचम्मको सबै फल्ने जैविक विविधतापूर्ण जिल्ला हो । कालिकोटमा सालदेखि देवदारसम्म उम्रिन्छ । सल्लाको प्रजाति सबैभन्दा बढी नै कालिकोटमा पाइनाले कालिकोट पर्यापर्यटन, फलफूल पर्यटन, जैविक विधिता पर्यटन, हर्सराइडिङ, ¥याफ्टिङ, बज्जी, क्यानिन, रकक्लाइम्बिङ, ट्रिक्लाइम्बिङका लागि नेपालकै अगुवा जिल्ला हो । असिम प्राकृतिक सम्भावना तर अति कम समर्पण भएका कारण २०४२ सालमा निर्माणाधीन कोटबाडको हवाइमैदान २०७३ माघतिर मात्र परीक्षण पुगेको छ । दैलेखको रावतकोट सिँचाइ र कोटबारा हवाइजहाज मैदान एकै वर्ष शिलान्यास भए पनि अहिलेसम्म विकसित हुन सकेको देखिएका छैनन् । समाजशास्त्रीय, मावनशास्त्रीय, ऐतिहासिक, राजनैतिक, धार्मिक, सांस्कृति, लोकसाहित्यिक कोणबाट जीवनशैली, चिन्तन पद्दति, पशुपालन, कृषि, फलफूल, चैतेधान, मौरीपालन, चरीपालनहरूको सोध, खोज, विश्लेषण अध्ययनको हब कालिकोटको दिगो, सन्तुलित र समानुपातिक शान्ति र समृद्धि हो । यसका लागि अर्गानिक मन, श्रम, व्यवहार, माटो, पानी चाहिन्छ । जनचेतना, प्रचार–प्रसार र प्रयोग पाइला हो ।
पर्यटनका जगबाट सुदूरपश्चिम तथा मुस्ताङ मुक्तिनाथका सम्बन्धका आधारबाट औलो उन्मुलन अघि सुदूरपश्चिमका जनताहरू दैलेख समेतका मुक्तिनाथको दर्शनमा जाँदा भर्तादेखि हाउडी, महावु हुँदै च्याखुरेको लेक हुँदै डोल्पा कोटेर मुक्तिनाथ जाँदा यही रुटको प्रयोग गर्दथे र फर्कन्थे । यस ऐतिहासिक पर्वतीय धार्मिक, सांस्कृतिक, पर्यटकीय यात्रालाई निकुञ्जको रुट दिएर घोडेयात्रा, ट्रेकिङ तथा पर्यापर्यटनलाई कालिकोट भर्तादेखि मुस्ताङसम्म लेकाली भागलाई निकुञ्जमा विकसित गरी हाउडी, महावु, बढिमालिका, चन्दनजनाथ, त्रिपुरासुन्दरी, मुक्तिनाथ धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्र विकास कालिकोटको भावी पर्यटकीय कोणको समृद्धि हो । यसै रुटभित्र विविध अध्ययन गर्न सकिन्छ र जनस्तरसम्म फल पु¥याउन सकिनेछ । कर्णाली करिडोर सुर्खेत–जुम्ला सडक निर्माण तथा स्तरोन्नतीसँगै ग्रामीण कृषि पहुँचमार्ग जोड्नु कालिकोटका पहिलो पूर्वाधारको ढोका हो । जुम्ला सडकलाई डोल्पा दुनैसँग, नाग्मा मुगु सडक, मुगुको नाक्चेलाग्ना सडक, कालिकोट–जुम्ला–जाजरकोट सडक पनि त्यत्तिकै महŒवपूर्ण सडकहरू हुनेछन् । पूर्वाधार, जलस्रोत, ऊर्जा, पर्यटन कृषि, पशुपालन, जडिबुटी, घरेलु तथा साना उद्योग, सिस्नो, अल्लो, लोक्तामा आधारित उद्योग, जाम, जेली लगायत औषधिसँग सम्बन्धित वनस्पति रोपण कालिकोट समृद्धिका पर्याय वस्तुगत आधारहरू हुन् । मान्म–कोटबाडा केबुलकार सञ्चालन कालिकोटको पहिलो स्तर हो । फापर, पैयु, चिउरी, तोरीबारी, मह उत्पादनहरू कालिकोटे कृषकहरूका आयस्रोतहरू हुन् । सेरेना जातको माहुरीको वैज्ञानिक घार व्यवस्थापन, भीर मौरीको मह, तितेफापर, मार्सी चामल, अर्गानिक तरकारी, फलफूल सुकाटियाका आम्ल प्रजातिका फलफूल, उखुजन्य उत्पादनको वैज्ञानिक विकास, प्रविधि, सुविधा, बजार उचित मूल्य कालिकोटे किसानहरूमा पुग्ने समृद्धि हो । दलितले उत्पादन गरेका गर्दै आएका तर छुवाछुतकै कारण बजार नपाएका पशुजन्य उत्पादनले उच्च मूल्य नपाउँदासम्म कल, आरन, खल, मादल, रुल्पा, दमाहा, दोलक, ट्याम्को, झ्याली, बाँसुरी, मुजुरा, सारंगी, मुरली पिपिरी, डोका, डालो, सन्दुसल उच्चमूल्य नपाउँदासम्म कालिकोटको समृद्धि भाषणमा मात्र हुने छ । हुनेखानेले मात्र पाउने, भीरको चिचिण्डो सिवाय अरु केही बन्नेछैन ।
अबका सिन्नो, अल्लो, अमला, अम्रिसो, हर्रो, बर्रो, भलायो, तेजपात, सल्लो, कोइरालो, चिउरी, आरु, घुँटालो, घडारु, मेहेल, बावियो, फर्सी, काँक्रो, फोला, भान्टाले नियमित सुनिश्चित मूल्य नपाउँदासम्म सारको समृद्धि उपलब्ध नहुने पक्कापक्की जस्तै छ । कालिकोटका शैक्षिक संस्था समायानुकूल परिवर्तन नगर्दासम्म हुनेखानेलाई कालिकोट स्वर्गलोक र नहुनेलाई नर्कलोक जस्तै बन्नेछ । तिला र कर्णाली कालिकोट जनताको खाँसुको नदीहरू बन्नेछन् । कालिकोटले स्थानीय पोसिला खाद्यबालिले जंक फुडलाई मात्र विस्तापित गर्नै पर्छ । देउडा, ठाडी भाकाको संरक्षण गरिनुपर्दछ । सामुदायिक वन कालिकोटको आयस्रोतका पहिलो विश्वास लाग्दो प्राकृतिक उपहार हो । वन व्यवस्थाविना गरिएका टर्पेन्टाइनको कच्चा पदार्थको राजधानी कालिकोटका बस्तीबस्तीले हकभोग गर्न पाउने पहिलो नैसर्गिक अधिकार हो । कालिकोटका सल्लाले चलेका नेपालगन्जका खोटो उद्योगहरूले कालिकोटका समाजका सबै क्षेत्रमा लगानी नगर्दासम्म तिनीहरूलाई विना अनुशासन खोटो निकाल्न दिँदासम्म जनताको शान्ति, समृद्धि तथा आयस्रोतमा सुनिश्चितता हुनेछैन ।
योगी नरहरिनाथ लागायत राष्ट्रिय स्थानीय जीवनमा योगदान दिएका अर्गानिक राष्ट्रसेवक विभूतिका लागि मान्म नगरपालिकाको नामाकरण गरिनुपर्छ,, संग्राहलय, सोधखोज, गरिनुपर्छ । तिला कर्णालीमा जलविद्युत उत्पादनसँगै वनमा आधारित ऊर्जा परम्परालाई विस्तापित नगर्दासम्म महिलाको स्वास्थ्यस्थिति सुधार नहुने स्थिति छ । इन्डियन एलपी ग्यासका विकल्पमा सौर्य जैविक, वायु, हाइड्रोपावरको विकास अनिवार्य आवश्यकता हो । घट्ट, थान, गादी, देवल, मन्दिरको संरक्षण सम्वद्र्धन तथा विकासविना कालिकोटको पहिचान असम्भव छ । व्यवस्थित बसोबास, एकीकृत विकास, खानेपानीका सू–व्यवस्था स्वास्थ्यचौकी स्थापना, लिंगीय विभेद, पिली युद्धसंग्राहलय, कोटबाडा, आमहत्या, मान्ममा प्राविधिक संस्था, जिल्ला अस्पतालको स्तरोन्नति, वैज्ञानिक भू–उपयोग नीति, पहिचानका आधारमा कलाकारलाई पेन्सन निःशुल्क औषधिको व्यवस्थामा कालिकोटको भावी समृद्धि अडिएको छ ।
प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार १५:३७
साझा बिसौनी संवाददाता ।