बाढीपीडितलाई राहत

सुर्खेत, १७ माघ । (साबिस)
जिल्लाको पश्चिम क्षेत्रका बाढी पीडितहरूलाई आइतवार राहत वितरण गरिएका छ । भैरोचना फाउण्डेशन काठमाडौंले सामुदायिक अध्ययन विकास केन्द्र बावियाचौर–५ सुर्खेतको समन्वयमा बावियाचौर र तातापानीका बाढीपीडितहरूलाई विभिन्न राहत सामग्री वितरण गरेको हो । 
प्रति परिवारलाई एक÷एक वटा ब्लाङ्केट, बालबालिकाहरूका लागि टोपी र ट्राउजर वितरण गरिएको छ । फाउण्डेशनका सदस्य तथा केन्द्रका अध्यक्ष केशव शाहीको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो । बावियाचौर–१ को तिखाकुनाका एक सय ३६ घरपरिवारलाई ब्लाङ्केट र तीन सय ५० बालबालिकाहरूलाई ट्राउजर र न्यानो टोपी वितरण गरिएको छ । 
यस्तै आइतवार नै तातापानी गाविसका एक सय १० घर परिवारलाई ब्लाङ्केट र ४४ जना बालबालिकाहरूलाई न्यानो टोपी र ट्राउजर वितरण गरिएको हो । राहत सामग्री वितरण कार्यक्रममा बोल्दै फाउण्डेशन सदस्य शाहीले सुर्खेतका बाढीपीडितहरूलाई पनि सरकारले भूकम्पपीडित सरह मान्यता दिएर त्यसै अनुसार राहत वितरण गर्नुपर्ने बताए । साथै बाढीपीडितहरूलाई तत्काल घरबासको व्यवस्थापन गर्नेुपर्ने र आत्मनिर्भर बन्नका लागि सीपमूलक कार्यक्रम गर्नु आवश्यक भएको भन्दै यसका लागि आफ्नो संस्थाले पनि पहल गर्ने बताए । कार्यक्रममा राहत बुझिसकेपछि बाढीपीडितहरूले आफूूहरूलाई सरकारले वास्ता नगरेको भन्दै गास बासको पनि व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए । बाढीले विनाश गरेको साढे एक वर्ष हुँदा पनि सरकारले आफूलाई व्यवस्थापन नगरेको भन्दै पीडितहरूले यस्तो गुनासो गरेका हुन् । राहत वितरण कार्यक्रममा बावियाचौर गाविसका प्राविधिक मानबहादुर बुढा, बाढीपहिरो सङ्घर्ष समिति सुर्खेतका अध्यक्ष खगीराम रेग्मी, तिखाकुना शिविरका अध्यक्ष मानबहादुर शाही, समाजसेवी प्रेमबहादुर विष्ट, चक्र दर्लामी र बावियाचौर स्पोर्टस् क्लबका थीन शाही, कमल रावल, नगेन्द्र देवकोटा, क्षितिज बोगटी लगायतको सहभागिता रहेको थियो । 
प्रकाशित मितिः   १८ माघ २०७२, सोमबार ११:५३