एक करोड लगानीमा पानी उद्योग

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ माघ । 
युवा व्यवसायी भीमबहादुर भण्डारीले एक करोडभन्दा बढीको लगानीमा पानी उद्योग सञ्चालनमा ल्याएका छन् । देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि स्थापना गरी भण्डारीले सिजन्स प्रशोधित पानी उद्योग स्थापना गरेका हुन् । 
वीरेन्द्रनगर–१३ मा रहेको उद्योग एक करोड २३ लाखको लगानीमा स्थापना गरिएको भण्डारीले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए । उद्योगले अहिले दैनिक चार हजार लिटर पानी उत्पादन गरिरहेको छ । सहरी क्षेत्रहरूमा देखिएको खानेपानीको अभाव समाधान गर्न पानी उद्योग स्थापना गरिएको भण्डारीले बताए । एक गाग्री पानीका लागि साँझ बिहान घण्टौं लाइन बस्नुपर्ने वीरेन्द्रनगरवासीको समस्या समाधानका लागि आफूले पानी उद्योगमा लगानी गरेको भन्दै उनले उपभोक्ताहरूको घर–घरमा शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता जनाए । 
वीरेन्द्रनगरमा पनि माग अनुसारको पानी आपूर्ति हुन नसकेको उनले जनाए । ‘अहिले सुर्खेतमा बाहिर जिल्लाहरूबाट समेत बोत्तल पानी आपूर्ति भइरहेको छ, त्यसलाई प्रतिस्थापन गरी स्थानीयस्तरमै खानेपानीको समस्या समाधान गर्नका लागि मैले प्रयास थालेको हुँ’ उनले भने । आफूहरूको पहिलो प्राथमिकता सुर्खेत भए पनि दैलेख, जाजरकोट, बाँके लगायत मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा समेत सेवा विस्तार गर्ने लक्ष्य रहेको भण्डारीले जनाए ।
एक लाखको अक्षयकोष घोषणा
यसैबीच देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिका सञ्चालक भीमबहादुर भण्डारीले एक लाख ११ हजार एक सय ११ रूपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । 
प्रालिले आइतवारदेखि बजारमा ल्याएको सिजन्स पानीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नै उनले अक्षयकोषको घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत् उक्त कोष सञ्चालन हुनेछ । कोषबाट हरेक वर्ष खानेपानी तथा सरसफाइको क्षेत्रमा कलम चलाउने उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ । जनतालाई सत्य तथ्य समाचार सम्प्रेषण गरी सुसूचित गराउने कार्यमा अहोरात्र खटिने पत्रकारहरूलाई हौसलाका लागि अक्षयकोष स्थापना गर्ने योजना बनाएको भण्डारीले बताए । पत्रकारहरूलाई आफ्नो पेसामा थप ऊर्जा प्रदान गर्न अक्षयकोषले महŒवपूर्ण योगदान पु¥याउने भन्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले भण्डारीलाई धन्यवाद ज्ञापन गरे ।
प्रकाशित मितिः   १८ माघ २०७२, सोमबार ११:५५