सुर्खेतमा बढे कुष्ठरोगका बिरामी
मध्यपश्चिममा ३३८ बिरामी, डोल्पा कुष्ठ रोगीविहीन, रोग लुकाउँदा समस्या
गीता थापा
सुर्खेतमा मात्र यो वर्ष कुष्ठरोगका ३५ जना नयाँ बिरामीहरू फेला परेका छन् । अघिल्लो वर्ष सुर्खेतमा २२ जना बिरामीहरू फेला परेका थिए । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार सुर्खेतमा हरेक वर्ष यो रोगका बिरामीहरू बढेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले वर्षेनी कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको जनाएको छ । रोग नियन्त्रणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले वर्षेनी करोडौं रकम खर्च गरे पनि सुर्खेतसहित मध्यपश्चिममा भने हरेक वर्ष कुष्ठरोगका बिरामीहरू बढ्दै गएका छन् । अहिले यस क्षेत्रमा तीन सय ३८ जना कुष्ठरोगका बिरामीहरू रहेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार अघिल्लो वर्ष मध्यपश्चिम क्षेत्रमा दुई सय ८७ जना कुष्ठरोगका बिरामीहरू थिए । तर, यो वर्ष त्यो संख्या वृद्धि भएर तीन सय ३८ पुगेको हो । यस्तै यस क्षेत्रमा रहेका तराईका जिल्लाहरू बर्दिया, बाँके, दाङ र सुर्खेत कुष्ठरोगको उच्च जोखिममा रहेका छन् । हरेक वर्ष बिरामीहरूको संख्या बढ्दै गएको भन्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालयले अहिलेकै अवस्थामा यो रोग नियन्त्रण गर्न सम्भव नभएको जनाएको छ । बिरामीहरूले रोग लुकाउँदा उपचारमा समस्या भइरहेको भन्दै निर्देशनालयले अब घर–घरमा गएर बिरामीहरूको खोजी गरिने जानकारी दिएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयरोग–कुष्ठरोग अधिकृत महेश पुरीले यस क्षेत्रमा सबैभन्दा बढी कुष्ठरोगका बिरामी बर्दियामा रहेको जानकारी
दिए । उनका अनुसार हाल बर्दियामा ९३ जना बिरामी छन् । यस्तै बाँके, सुर्खेत, दाङ र रुकुममा समेत हरेक वर्ष नयाँ बिरामीहरू देखिन थालेको उनको भनाइ छ । आफूहरूले रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको भए पनि रोग लुकाउने र उपचारमा नआउने प्रवृत्तिका कारण जटिलता उत्पन्न भएको उनले बताए । उनले भने, ‘पहाडी जिल्लामा भन्दा तराईमा बढी समस्या देखिएको छ, बर्दिया र बाँकेमा भारतबाट समेत यो रोगका बिरामीहरू उपचारका लागि आउने गर्छन् । जसको कारण उनीहरूबाट नेपालीहरूमा रोग सर्ने गरेको छ, यसमा अब नयाँ रणनीति अपनाउनु पर्छ ।’ उनका अनुसार यस क्षेत्रका अन्य जिल्लामा बढी समस्या देखिए पनि दुर्गम जिल्ला डोल्पा भने कुष्ठ रोगीविहीन बनेको छ । डोल्पामा हाल एकजना पनि कुष्ठरोगको बिरामी नरहेको निर्देशनालयले जनाएको छ । यस्तै मुगुमा भने अहिले एक जना मात्र यो रोगका बिरामी रहेका छन् । यस्तै पछिल्लो एक वर्षको अवधिमा यस क्षेत्रमा तीन सय १५ जना कुष्ठरोगका बिरामीहरू उपचारपछि घर फिर्ता भएको समेत पुरीले जानकारी दिए ।
निर्देशनालयका अनुसार अहिले मध्यपश्चिममा फेला परेका यो रोगका नयाँ बिरामीहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पहाडी जिल्लामा जनसंख्या पनि कम रहेको र त्यहाँबाट मानिसहरू तराईमा बस्ती सर्ने भएकाले पनि पहाडको तुलनामा तराईमा कुष्ठरोगका बिरामीहरू धेरै भएको हुन सक्ने निर्देशनालयको भनाइ छ । सरकारी अधिकारीहरूले कुष्ठरोग निवारणको अवस्थामा पुगेको दाबी गरे पनि मध्यपश्चिम क्षेत्रमा हरेक वर्ष यो रोगका नयाँ बिरामीहरू देखिन थालेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयरोग–कुष्ठरोग अधिकृत महेश पुरीले भने, ‘अहिलेकै अवस्थामा यो रोग निवारण गर्न मुस्किल छ, अब घर घरमै पुगेर बिरामीहरूको खोजतलासी गर्न आवश्यक छ । रोग लुकाउँदा समस्या जटिल बनेको छ, यसमा हामी नयाँ सोचका साथ कार्यक्रम ल्याउँदै छौं ।’ उनले थपे, ‘परिवार र समाजले कुष्ठरोगका बिरामीलाई विभेद मात्र गर्न छोड्ने हो भने समस्या सजिलै निराकरण गर्न सकिन्छ ।’ डाक्टरहरूका अनुसार सर्ने खालको कुष्ठरोगका बिरामीले १२ महिना र नसर्ने खालको कुष्ठरोगका बिरामीले ६ महिनासम्म नियमित औषधी सेवन गरेमा यो रोग निको हुन्छ । यस्ता किसिमका औषधीहरू हाल स्वास्थ्य संस्थाहरूबाट निःशुल्क पाइन्छ । कुष्ठरोग लाग्नुभन्दा अगाडि शरीरको कुनै भागमा लाटो वा फुस्रो दागहरू देखापर्ने, विस्तारै दागमा रौँहरू झरेर जाने जस्ता लक्ष्णहरू देखापर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
कुष्ठरोग निवारणका लागि अब विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा समेत सरोकारवालाहरूले जोड दिएका छन् । ६३ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालयका कुष्ठरोग अधिकृत गणेश गौतमले जिल्लामा कुष्ठरोगका बिरामीहरूको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार नेपालमा कुष्ठरोग घट्दो क्रममा रहेको भए पनि सुर्खेतमा भने बिरामीको संख्या बढ्दै गएको ।
छिमेकी जिल्लाहरूबाट समेत बिरामी आएर उपचार गराइरहेका कारण पनि जिल्लामा कुष्ठरोगका बिरामीको संख्या बढेको गौतमको भनाइ छ । उनले भने, ‘कुष्ठरोगलाई पापको रूपमा लिएको र गाउँ समाजमा थाहा पाए अपहेलित भइन्छ भन्ने मानसिकताका कारण उपचार गराउन बिरामीहरू जाँदैनन् ।’ यसैबीच सोही अवसरमा राष्ट्रिय दादुरा रुवेला खोपको बारेमा पनि जानकारी दिइएको थियो । स्वास्थ्य शिक्षा अधिकृत बसन्त श्रेष्ठले कार्यक्रममा दादुरा खोपको बारेमा जानकारी दिदंै सुर्खेत जिल्लामा दादुरा खोपको प्रभावकारिता ८५ प्रतिशत रहेको बताए । वर्षेनी एक हजार बालबालिका दादुरा रोगबाट जोखिममा रहेको उनको भनाइ थियो । त्यस्तै विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार नै जिल्ला स्वास्थ्य कार्यालय र आइएनएफको साझेदारीमा आइएनएफमा रहेका कुष्ठरोगका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । कुष्ठरोग सम्बन्धी शनिवार राकममा र आइतवार वीरेन्द्रनगरमा सडक नाटक समेत प्रदर्शन गरिएको छ ।
साझा बिसौनी संवाददाता ।