रेक्चामा खानेपानीको संकट

रित्ता गाग्री बोकेर गाउँपालिकाको कार्यालय घेराऊ

सुर्खेत: चौकुने–५ रेक्चाका नागरिक बिहीवार दिउँसो करिब १२ बजे रित्ता गाग्री लिएर गाउँपालिकाको कार्यालयमा पुगे । खानेपानी अभावको समस्या समाधान गर्न पालिकाले बेवास्ता गरेपछि नागरिक आन्दोलित भएर रित्ता गाग्रीसहित पालिकाको कार्यालयमा पुगेका हुन् ।

रेक्चामा खानेपानीको चरम संकट छ । स्थानीय उमेश बुढाले चैतदेखि कुवामा पानी नआउँदा खानेपानीको समस्या भइरहेको बताए । अहिले कुवा सुकेकोले एक गाग्री पानी ल्याउनको लागि करिब ६ घण्टा समय लाग्ने गरेको उनले जानकारी दिए । अर्को वडामा पुगेर पानी ल्याउनका लागि भिडभाड हुने गरेको समेत जनाए । ‘हाम्रो टोलका करिब ५० घरपरिवार खानेपानीको समस्यामा रहेका छौँ । कुवामा पानी आउँदैन । अन्य वडामा रहेको मूलको पानी ल्याएर खाने गरेका छौँ । त्यहाँ पनि धेरै भिडभाड हुन्छ । एक गाग्री पानी ल्याउनको लागि ६ घण्टा लाग्छ । यो समस्या अहिलेमात्र होइन । हामीले यो समयमा बर्सेनि भोग्दै आएका छौँ । पहिलेका जनप्रतिनिधिहरूलाई धेरै पटक भन्यौँ, हाम्रो कुरा सुन्दैनन् । अहिले नयाँ आएकालाई समस्या देखाउन गाग्री ल्याएर गाउँपालिका कार्यालयमा आएको हौँ’ बुढाले भने ।

खानेपानीको समस्या चर्किएपछि गाउँपालिका घेर्न आइपुगेको वडा नं. ५ कै किरणप्रकाश बिसीले बताए । नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार गम्भीर नबनेको उनको आरोप छ । रेक्चा बस्तीमा रहेका कुवा सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको उनको भनाइ छ । मुहान सुक्दै जानु र उपभोक्ता बढ्दै जादा पानीको समस्या हुने गरेको छ । समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको स्थानीयहरूको गुनासो रहेको छ ।

अर्का स्थानीय पेउरी बुढाले निर्वाचनको समयमा नेताहरूले समस्या समाधान गर्ने भनेर भोट माग्ने गरेको भएयता पनि जितेपछि बेवास्ता गर्ने गरेको बताइन् । उनले आफूले यो समस्याको लागि बारम्बार सम्बन्धित निकाय र जनप्रतिनिधिहरूलाई भन्दा पनि कुनै सुनुवाइ नभएको जनाइन् । गर्मीयाममा मात्र नभइ हिउँदको समयमा पनि आफूहरूलाई पानीको समस्या हुने गरेको उनले बताइन् । ‘हिउँदको ६ महिना लेदो छानेर पानी खायौँ, बर्खा सुरु भएपछि गाउँ नै काकाकुल बनेको छ,’ स्थानीय रमा बिसीले भनिन् ।

वर्षौंदेखि खानेपानीको चर्को अभाव भोग्दै आएका रेक्चाका नागरिकले बिहीवार विरोधस्वरूप गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । खानेपानी समस्या समाधानको आश्वासन मात्रै दिएको भन्दै स्थानीयवासीले पालिकामा पुगेर आन्दोलन गरेका हुन् । रेक्चाका विभिन्न टोलका झण्डै ५० घर परिवारका मानिसहरूले डोकोमा गाग्री बोकेर पालिका कार्यालय पुगेका थिए । सरकारले कुनै चासो नदिएकोले प्रदर्शन गरिएको स्थानीय तपेन्द्र बिसीले बताए । २०१६ सालमा बनाइएका कुवा सुकेपछि स्थानीयहरू पानीको माग गर्दै सरोकारवाला निकायसमक्ष पुगे पनि सुनुवाइ नभएको उनीहरूले जनाएका छन् ।

रेक्चा गाउँ अहिले काकाकुल छ । यहाँका स्थानीयले झन्डै पाँच दशकदेखि पानीकै लागि ठूलो सास्ती भोगिरहेका छन् । गाउँमा ११ वटा कुवा छन् । तर सबैजसो कुवा सुकेका छन् । स्थानीयले अहिले लेदो पानी कपडाले छानेर खाइरहेका छन् । कुवामा सर्प, भ्यागुता, किरा, फट्याङ्ग्रा मरेका भएपनि त्यहाँको पानी उपभोग गर्नुको विकल्प नभएको स्थानीय पेउरी बुढा बताउँछिन् । पुर्खौंदेखि पानीका लागि ठूलो सास्ती व्यहोरिरहेको उनको गुनासो छ । ‘हिउँदको ६ महिना लेदो छानेर पानी उपभोग गरियो तर बर्खा सुरु हुँदा गाउँ नै काकाकुल बनेको छ,’ उनले भनिन्, ‘पानीका लागि कुन तहका सरकारलाई भन्नु पर्ने हो हामीले त तीन तहका सरकार समक्ष धेरै पटक भनिसक्यौँ ।’

चौकुने गाउँपालिकाले चार वर्षअघि कर्णाली नदीबाट लिफ्ट गरेर रेक्चामा ल्याउने भन्दै एक करोड ७२ लाख रूपैयाँमा ठेक्का आह्वान ग¥यो । तर अझैसम्म पनि कामले गति लिएको छैन । रेक्चामा रहेका १९ वटा कुवामा ११ वटा जीर्ण अवस्थामा छन् । जीर्ण कुवाहरू मर्मत हुन नसक्दा केही भत्किएका छन् भने केही सुकेका छन् ।

 

विकल्प खोजिने

चौकुने गाउँपालिकाले रेक्चा बस्तीको खानेपानीको समस्या समाधानका लागि विकल्प खोजिने जनाएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विकले उक्त स्थानको दिर्घकालीन समस्या समाधानका विषयमा पालिका गम्भीर बनेको जनाएका छन् । ‘बिहीवार स्थानीयले पालिकामा माग सहित आउनु भएको रैछ, म गाउँमा कामको शिलशिलामा आएको छु, तर उहाँहरूको समस्यामा पूर्ण जानकार छु’ उनले भने ।

बस्तीस्तरको योजना छनोटका लागि गाउँपुगेको उनले जनाए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रेक्चा बस्तीको समस्यालाई प्राथमिकतामा राखिने उनले जनाएका छन् । धर्ना दिन पुगेका स्थानीले भने गाउँपालिकाका अध्यक्ष नआउँदासम्म पालिका घेराउ गरिराख्ने जनाएका छन् ।

 

 

 

प्रकाशित मितिः   १ असार २०८१, शुक्रबार ०५:०५