कृषि कर्म

किवी खेतीमा कृषकहरूको आकर्षण

सुर्खेत: सुर्खेतमा किवी खेतीमा कृषकहरूको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको चिङ्गाड गाउँपालिका वडा नं. २ रहकुलका किसानहरू आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका हुन् ।

विगत सात वर्ष अघिदेखि खेती सुरु गरेका कर्णबहादुर थापाले यतिबेला किवीको व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक करिब चार लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । सात रोपनी जग्गामा किवीको व्यावसायिक उत्पादन सुरु गरेको थापाले बताए । उत्पादित किवी स्थानीय बजारदेखि वीरेन्द्रनगर, नेपालगञ्ज र काठमाडौंसम्म पुग्ने गरेको उनले जानकारी दिए ।

थापाको मुख्य आम्दानी यतिबेला किवी बनेको छ । यो वर्ष किवीको फल लागिरहेको छ । भदौ र असोजमा किवी पूर्ण रूपमा बिक्रीवितरण गर्न योग्य हुन्छ । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष किवी लटरम्म फलेको कृषक थापाले बताए । फल पनि राम्रो लागेकाले उत्पादन बढ्ने उनको अनुमान छ । २०७४ सालबाट व्यावसायिक किवी खेती सुरु गरेको थापाले बताए । उनले थापा कृषि फर्म दर्ता गरेर व्यावसायिक किवी खेती सुरु गरेका हुन् । सुरुमा १५ वटा बिरुवाको परीक्षण सुरु गरे । थापाको बारीमा अहिले किवीका दुई सय बिरुवा लटरम्म फलिरहेका छन् ।

चिङ्गाड–२ रानीबास काडाँपोखरीका ४५ वर्षीय रामबहादुर हमालले लगाएको किवीको बगानमा पनि लटरम्म फल लागेका छन् । यो वर्ष फल राम्रो लागेकाले करिब साढे २० क्विन्टल किवीको उत्पादन हुने हमालको अनुमान छ । २०७३ सालबाट व्यावसायिक खेती सुरु गरेका उनको दैनिकी अहिले त्यही किवीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएका हमालले आफ्नो गाउँठाउँमा माटो सुहाउँदो फलफूल खेती थालेका हुन् । घर अगाडि–पछाडि रहेको २७ रोपनी खेतीयोग्य जमिनमा हमालले आधिकारिक रूपमा फर्म दर्ता गरेर व्यवसायिक किवी खेती गरेका छन् । गत वर्ष साढे तीन लाख रूपैयाँ मूल्य बराबरको किवी बिक्री भएको थियो । यो वर्ष फल राम्रो फलेकाले उत्पादन दोब्बरले वृद्धि हुने उनको अनुमान छ ।

सरकारी अनुदानले व्यवसाय गर्न सहज भइरहेको उनको भनाइ छ । कृषि विकास निर्देशनालय सुर्खेतबाट अनुदान लिने गरेको हमालले बताए । यो वर्ष मात्र पक्की पोल र किवीका बिरुवा लगाउनका लागि एक लाख २० हजार अनुदान लिएको हमालले जानकारी दिए । सुरुवातीदेखि हालसम्म करिब नौ लाख अनुदान पाएको उनले सुनाए । दुई जना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई रोजगारीसमेत दिएका छन् ।
किवीले रोपेको तीन वर्षपछि उत्पादन दिने गरेको छ । उत्पादन भएको किवी सुर्खेत, सल्यान, नेपालगञ्ज, दैलेख लगायतका ठाउँहरूमा बिक्री हुने गरेको छ । उनले भने, ‘गत वर्ष उत्पादन भएका किवी बगानबाट टिप्नु अगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको थियो । यो वर्ष उत्पादन बढ्ने देखिएको छ । अहिले फर्ममा पाँच सय किवीका बिरुवा लटरम्म फलेका छन् ।’

हमालले किवी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएका छन् । तालिम लिएसँगै खेती गर्न सहज भएको हमालले बताए । सुरुमा अन्दाजी रूपमा बिरुवा लगाएका उनले अहिले ज्ञान सिकेर व्यावसायिक रूपमा खेती गरिरहेको जानकारी दिए । ‘किवी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन रहेछ’ उनले भने, ‘कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप क्षेत्र विस्तार गर्ने तयारीमा छु ।’

१२ वटा बिरुवाबाट सुरु गरेका हमालको बारीमा पाँच सय वटा किवीका बिरुवा छन् । रोपेको करिब तीन वर्षमै उत्पादन दिन थाल्छ । हमालले उत्पादन गरेको किवी प्रति केजी दुई ५० देखि तीन सय रूपैयाँ सम्ममा घरैबाट बिक्री हुनेगरेको छ । अहिले बारीमा लटरम्म फल लागिरहेको कृषक हमाल बताउँछन् । भदौबाट किवी बिक्री सुरु गरिने उनले जनाए । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किवीको बिरुवासमेत हमालले आफैले उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किवीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक लाखौ बढी आम्दानी हुने गरेको उनले बताए ।

हमालले उत्पादन गरेको बिरुवा प्रतिगोटा साढे दुई सय रूपैयाँमा घरबाटै बिक्री हुने गरेकोे छ । जिल्लामा किवीको व्यावसायिक खेती सुरु गर्ने कृषकको संख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको हमालको भनाइ छ । २०७३ साउन ३२ गते हमाल कृषि फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गरेको हमालले जनाए ।

रहरै रहरमा किवी खेती सुरु गरेका हमालका लागि अहिले किवीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । हमाललको फार्ममा अहिले एक हजार पाँच सय बढी बिरुवा मौज्दात रहेको बताए । एउटा वयष्क किवीको बोटमा २५ देखि ४० केजीसम्म फल उत्पादन हुने गरेको कृषक हमालले बताए । बजार मूल्यमा अन्य फलफूलभन्दा किवी धेरै महङ्गो छ । आफूले उत्पादन गरेको किवी बजार पु¥याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेको हमालले बताए । उनीजस्तै एक दर्जन घरका स्थानीय बासिन्दाले व्यावसायिक रूपमा किवी खेती गरिरहेका छन् ।

 

किवी खेती विस्तार गरिने

कृषि विकास निर्देशनलाय सुर्खेतले किवीको क्षेत्र विस्तार गरिरहेको छ । कृषकलाई अनुदान उपलब्ध गराएर किवी खेतीलाई प्रवद्र्धन गर्नेगरिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले बताए । कर्णालीको वातावरण किवी खेतीका लागि उपयुक्त रहेको उनको भनाइ छ ।

किवी फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ । किवी खेतीका लागि निर्देशनालयले पोल, बिरुवा र सिँचाइमा सहयोग पु¥याउँदै आएको छ । व्यावसायिक किवीको उत्पादनमा युवाहरूको चासो बढेको निर्देशक रोकायले बताए । कृषकहरूलाई किवी खेती गर्न प्रोत्साहित गर्नका लागि निर्देशनालयले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी आर्थिक वर्षदेखि पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उनले जानकारी दिए ।

सुर्खेतको चिङ्गाड गाउँपालिका, जाजरकोटको नलगाड, भेरी नगरपालिका र कुशे र जुनीचादे गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका र रुकुमपश्चिमका विभिन्न पालिकामा समेत किवी खेती भइरहेको निर्देशनालयले जनाएको छ । किवी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरूलाई निर्देशनालयबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाइएको छ । अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने कृषकको अनुभव छ । अहिले कृषकका बारीहरू किवीले ढपक्कै ढाकिएका छन्् । किवी बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ५० देखि एक सय किलोसम्म फल दिने गरेको कृषकहरूको भनाइ छ ।

 

 

 

प्रकाशित मितिः   २ असार २०८१, शनिबार ०९:५७