एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँड

सुर्खेत, १२ चैत्र ।
नेकपा एमाले सुर्खेतले स्थानीय तह अनुसार पार्टीको जिम्मेवारी बाँडफाँड गरेको छ । शनिवार सम्पन्न जिल्ला कमिटी सुर्खेतको पूर्ण बैठकले नयाँ स्थानीय तहका लागि जिम्मेवारी तोकेको हो ।
पार्टी कामलाई थप व्यवस्थित गर्न र आगामी स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न जिल्लाका नौं वटौ स्थानीय तहमा जिम्मेवारी बाँडफाँड गरिएको एमाले सुर्खेतले जनाएको छ । जस अन्तर्गत चौकुने गाउँपालिकामा संयोजक हरिप्रसाद अधिकारी र सह–संयोजकमा हरिप्रसाद खनाललाई जिम्मेवारी दिइएको छ । पञ्चपुरी नगरपालिकामा संयोजकमा मनबहादुर विक र सह–संयोजकमा तुलबहादुर सहकारीलाई जिम्मेवारी दिइएको छ । बराहताल गाउँपालिकामा संयोजकमा
इन्द्रबहादुर खत्री र सह–संयोजकमा घनश्याम पाण्डेलाई जिम्मेवारी तोकिएको छ ।
लेकबेशी नगरपालिकामा संयोजक गगनसिं सुनार र सह–संयोजकमा टीकाराम सोमैलाई जिम्मेवारी तोकिएको छ । चिङ्गाड गाउँपालिकामा संयोजक बखतबहादुर खत्री र सह–संयोजकमा हर्कबहादुर रानालाई जिम्मेवारी दिइएको छ । सिम्ता गाउँपालिका संयोजकमा ऐनबहादुर चन्द र सह–संयोजकमा कविन्द्रकुमार केसीलाई जिम्मेवारी तोकिएको जनाइएको छ । गुर्भाकोट नगरपालिका, भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकामा पूर्ववतः जिम्मेवारीलाई यथावत राखिएको छ । वीरेन्द्रनगरमा नगर अध्यक्ष निलकण्ठ खनाल, भेरीगंगा नगरमा लालमणि पौडेल र गुर्भाकोट नगर अध्यक्ष अमृत जैसीको जिम्मेवारी यथावतनै रहेको छ । तोकिएको
समयमा स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न मातहतका सम्पूर्ण कमिटीहरूलाई सक्रियतापूर्वक लाग्दै नेकपा एमाले पार्टी र त्यसका उम्मेदवारलाई निर्वाचित गराउन स्थानीयस्तरमा जुट्न बैठकले निर्देशन दिएको एमाले सचिव मोहनसिं बडुवालले जानकारी दिए । ‘सवल, समृद्ध र सम्पन्न राष्ट्र, सुखी र खुशी नेपाली’ को अभियानलाई सफल पार्न समेत पार्टीले आफ्ना कार्यकर्ता र आम सुर्खेतबासीलाई आग्रह गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षता र नेकपा एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेलको प्रमुख आथित्यतामा शनिवार वीरेन्द्रनगरमा बैठक सम्पन्न भएको हो । बैठकले यही चैत्र ५ गते सम्पन्न भएको जनसभा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै उक्त जनसभा सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेको छ । साथै एमालेले निर्वाचनको मुखमा पदीय दुरूपयोग गर्दै साधन र स्रोतको प्रभावमा पार्दै निर्वाचन आचारसंहिता विपरित भएका गतिविधिहरूलाई रोक्न सम्बन्धित निकायलाई आव्हान समेत गरेको छ । निर्वाचनका आचारसंहिता पूर्ण रूपमा पालना गर्नु सबैको कर्तव्य भएको भन्दै एमालेले यदि त्यसो नभएमा उत्पन्न जटिल परिस्थितिको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मितिः   १३ चैत्र २०७३, आईतवार १४:२५