मानव संशाधन विकास केन्द्रमा जनशक्ति अभाव

आधा दरबन्दी रिक्त, करारको भरमा कार्यालय

सुर्खेत: मानव संशाधन विकास केन्द्र सुर्खेतमा जनशक्ति अभाव भएको छ । ३२ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १५ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । आधाभन्दा धेरै कर्मचारी दरबन्दीअनुसार छैनन् । १७ जनाको दरबन्दी रिक्त छ । अन्य करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।

संघीयताको कार्यान्वयनसँगै २०७६ मा प्रत्येक प्रदेशमा मानव संसाधन विकास केन्द्र स्थापना गरिएको हो । सुरुका वर्षदेखि नै कार्यालयमा दरबन्दी अभाव हुनेगरेको थियो । सबैभन्दा धेरै शिक्षा तालिम शाखामा कर्मचारी अभाव रहेको पाइएको छ । शिक्षा शाखाका लागि स्वीकृत सात जनाको दरबन्दी भएपनि एक जना कर्मचारीको भरमा काम भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा लक्ष्य अनुसारको काम गर्न नसकिएको मानव संशाधन विकास केन्द्र शिक्षा तालिम शाखाका प्रशिक्षक हरिबहादुर रावलले बताए । उनका अनुसार एक जना कर्मचारीको भरमा शाखाबाट काम सञ्चालन भइरहेका छन् । ‘अहिले आधारभूत र माध्यमिक तहको तालिम सञ्चालन भइरहेको छ’ उनले भने, ‘तालीम सञ्चालन गर्ने जनशक्ति छैन, बाहिरबाट प्रशिक्षक ल्याएर तालिम दिनुपर्ने बाध्यता छ । एक जना कर्मचारीको भरमा प्रदेशभरका २२ हजार शिक्षकलाई तालिम दिनुपरिरहेको छ ।’

शिक्षा शाखाले शिक्षककोे क्षमता विकास गर्ने, तालिमको अभिलेख राख्ने, प्रमाणपत्र वितरण गर्ने, तालिमका लागि सामग्री निर्माण र विकास गर्ने गरेको छ । कर्णाली प्रदेशका दश वटै जिल्लाका २२ हजार शिक्षकलाई विकास केन्द्रको शिक्षा शाखाले तालिम प्रदान गर्ने गर्छ । तर अहिले सञ्चालन भएका तालिम प्रभावकारी हुननसकेको जनाइएको छ । पर्याप्त जनशक्ति नहुँदा शिक्षकको वृत्तिविकासमा प्रत्यक्ष असर परिरहेको छ । २०८० चैतमा शिक्षा शाखा तालिम केन्द्रका प्रशिक्षक सुवर्ण खड्का बढुवा भएर सामाजिक विकास मन्त्रालयमा गएपछि तालिम केन्द्रको काम नै प्रभावित भएको छ । उनी गएको दुई महिना बित्दापनि उनको ठाउँमा अर्को व्यक्ति आएका छैनन् । सुरुवातीदेखि नै जनशक्ति अभाव झेलिरहेको मानव संशाधन विकास केन्द्रको शिक्षा शाखामा प्रभावकारी काम हुनसकेका छैनन् ।

जनशक्ति अभावमा शिक्षकलाई तालिम दिने लगायतका काम प्रभावित बनेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले बताए । उनले शिक्षकको ज्ञान, सीप र क्षमता विकासका काममा बाधा पुगेको जनाएका छन् । पर्याप्त जनशक्ति नहुँदा शिक्षकको कार्यदक्षता, मितव्ययिता, प्रभावकारिता, विवेकशील कार्यकुशलतामा असर परिरहेको विकले जनाए । तालिमको माध्यमबाट जनशक्तिमा उच्चस्तरको कार्यसम्पादन उत्तरदायित्व वहन गर्ने क्षमता विकासमा असर परेको उनको भनाइ छ ।

शिक्षा शाखामा मात्र होइन अन्य शाखामा समेत पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित हुने गरेको छ । कार्यालयको व्यवसायिक सीप समन्वय शाखामा पाँच जनाको स्वीकृत दरबन्दी हो । अहिले तीन जना मात्र दरबन्दीमा कार्यरत छन् । दुई जनाको दरबन्दी रिक्त छ । सीप सिकाउने शाखामा नै कर्मचारी नहुँदा समस्या भइरहेको शाखाका प्रशिक्षक खिमप्रसाद ढकालले बताए ।

अर्कोतर्फ स्वास्थ्य तालिम शाखामा पनि जनशक्ति अभाव छ । स्वास्थ्य तालिम शाखामा पाँच जनाको स्वीकृत दरबन्दी रहेकोमा दुई जना मात्र कार्यरत छन् । दशवटै जिल्लाका स्वास्थयकर्मीहरूलाई तालिम दिने गरिएको छ । प्रदेश तालिम केन्द्र हुँदा १३ जनाको दरबन्दी थियो । त्यसभन्दा अघि क्षेत्रीय तालिम केन्द्र हुँदा १९ जनाको दरबन्दी थियो । पछिल्लो समय दरबन्दी घटाउँदै लैजादा काम गर्न समस्या भइरहेको स्वास्थ्य तालिम शाखा प्रमुख एकराज चन्दले बताए । उनका अनुसार दक्ष जनशक्ति नहुँदा काम गर्न हम्मेहम्मे भइरहेको छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०८१, शुक्रबार १२:०३