आइतवारदेखि विद्यालय बन्द हुने

सुर्खेत: गर्मी अत्यधिक बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरू आइतवारदेखि बन्द हुने भएका छन् । निजी विद्यालयहरूको छाता संगठन प्याव्सनले आउँदो आइतवारदेखि एक हप्तासम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

बिहीवार वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले बताए । उनका अनुसार गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा हुन सक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यता, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरू पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख (उपसचिव) धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालयहरू बन्द गर्ने तयारी गरिएको जनाए । तर निर्णय भने भइनसकेको उनको भनाइ छ ।

 

खोप कार्यक्रम प्रभावित

जेठ १३ देखि २६ गतेसम्म पोलियो रोग विरुद्धको खोप अभियान सुरु भइरहेको छ । विद्यालसँगको समन्वयमा खोप कार्यक्रम सञ्चालन गर्ने तालिका तय गरिएपनि विद्यालय बन्द हुने भएपछि खोप अभियान नै प्रभावित हुन पुगेको हो । सुर्खेतका पालिकाहरूमा दुइ चरणमा खोप अभियान सञ्चालन गरिएको छ ।

वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, बराहाताल र चौकुने गाउँपालिकामा २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तालिका छ ।

तर गर्मी बढेसँगै विद्यालय बन्द हुने भएपछि खोप तालिका समेत प्रभावित बनेको हो । विद्यालयसँगको समन्वयमा खोप अभियान सञ्चालन भइरहेको भन्दै वीरेन्द्रनगर नगरपालिकाका विद्यालय बन्द भए आफूहरूले खोप अभियान तालिका परिवर्तन गर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल प्रसन घनबहादुर बुढाले बताए ।

प्रकाशित मितिः   १८ जेष्ठ २०८१, शुक्रबार १२:०२