सुर्खेतमा जिल्लास्तरीय ‘ए’ डिभिजन लिग हुँदै
सुर्खेत: सुर्खेत जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता जेठ २४ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि आयोजक सुर्खेत जिल्ला फुटबल संघले आवश्यक तयारी गरिरहेको छ ।
आइतवार प्रतियोगितामा सहभागी सबै क्लब प्रतिनिधिहरूसँग छलफल गरेर समूह विभाजन समेत गरिएको छ । १२ वटा क्लबलाई दुई वटा समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा फ्रेण्डसिप युवा क्लब, बाबियाचौर स्पोर्टस् क्लब, सिर्जनशील युवा क्लब, वीरेन्द्रनगर स्पोर्टस् क्लब, मेहेलकुना स्पोर्टस् क्लब र शिरमोर युवा क्लब रहेका छन् ।
त्यसैगरी समूह ‘बी’ मा जी–अल क्लब, रोयल फुटबल क्लब, साथी खोर्के युवा क्लब, एबीसी स्पोर्टस् क्लब, काँक्रेविहार क्लब र जीवनज्योति युवा क्लब छन् । समूह चरणमा प्रत्येक क्लबले उक्त समूहका सबै क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहको शीर्ष दुई क्लब सेमीफाइनलमा पुग्ने छन् ।
प्रतियोगिता अन्तर्गत सबै गरेर ३३ वटा खेल हुने सुर्खेत जिल्ला फुटबल संघका कोषाध्यक्ष एमव् प्रतियोगिता संयोजक तेजबहादुर पन्तले जानकारी दिए । वीरेन्द्रनगरस्थित कालिन्चोक मैदानमा प्रत्येक दिन तीन वटा खेल सञ्चालन गरिने उनले जनाए । जेठ ३० गतेसम्म समूह चरणका खेल हुनेछन् भने असार ३ गते सेमीफाइनल र ५ गते फाइनल हुने जनाइएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई उपाधिसहित ७५ हजार र दोस्रो हुनेलाई ३५ हजार नगद पुरस्कार समेत राखिएको संयोजक पन्तले जानकारी दिए । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रमअनुसार जिल्ला लिग आयोजना गरिएको हो ।
प्रकाशित मितिः १७ जेष्ठ २०८१, बिहीबार ०५:०२
साझा बिसौनी ।