नलगाड जलविद्युत अयोजना

मुआब्जा वितरण अन्तिम चरणमा

सुर्खेत: जाजरकोटमा निर्माण हुने चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । बारेकोट गाउँपालिका अन्तर्गतका वडाहरूमा मुआब्जा वितरण सुरु गरिएको हो ।

आयोजनाबाट नलगाड नगरपालिका वडा नं. ५ र ७ तथा बारेकोट गाउँपालिकाका वडा नं.१, २, ५, ६, ७, ८ र ९ वडा प्रभावित हुनेछन् । अहिले भने बारेकोटको वडा नं. १, २, ५, ६, ७, ८ र ९ मा मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । चार हजार दुई सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ ।

पावर हावस र ड्याम निर्माणका लागि पाँच हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसमध्ये अहिलेसम्म चार हजार दुई सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाका कार्यकारी निर्देशक प्रकाशबहादुर शाहीले जानकारी दिए । अब नौ सय रोपनी जग्गाको मात्र मुआब्जा वितरण गर्न बाँकी छ । अहिलेसम्म करिब दुई हजार पाँच सय व्यक्तिलाई मुआब्जा वितरण गरिएको छ । तीन अर्बभन्दा बढी रकमको मुआब्जा वितरण गरिसकिएको निर्देशक शाहीले बताए ।

यसैगरी आयोजनाबाट पाँच सय तीन घरधुरी प्रभावित हुनेछन् । अबको केही दिनमा घरधुरी प्रभावितलाई राहत वितरण गरिने आयोजनाले जनाएको छ । गाउँपालिकाका वडा नं. १, २, ५, ६, ७, ८ र ९ का पाँच सय तीन घरधुरी आयोजनाबाट प्रभावित हुनेछन् । प्रभावितलाई दिइने मुआब्जा वितरणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

  • सात वर्षपछि डिपिआर तयार

नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रतिवेदन तयार भएको छ । तीन वर्षभन्दा कम समयमै पूरा गर्नुपर्ने उक्त प्रतिवेदन सात वर्षपछि तयार भएको हो । २०७३ मा ३१ महिना भाका राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डिपीआर बनाउने ठेक्का पाएको थियो । नियमानुसार २०७६ मा नै डिपीआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाका निर्देशक शाहीले जानकारी दिए । २०८० साउनमा मात्र डिपीआर बनेको हो । यसैगरी वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि स्वीकृत भएको छ ।

  • सम्भाव्यता अध्ययनको काम सम्पन्न

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले २०७५ सालमा विद्युत विकास विभागबाट सर्वे अनुमति पाएको थियो । करिब पाँच वर्ष लगाएर पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक शाहीले बताए । अध्ययनको काम सकेर उत्पादनको लागि लाइसेन्स माग गरिएको आयोजनाले जनाएको छ । अबको दश दिनमा कम्पनीले निर्माण उत्पादन अनुमति विद्युत विकास विभागकासँग माग गर्नेगरी काम अघि बढाएको छ । उनले भने, ‘अध्ययनका काम सकेका छौँ । आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गरेर दुई वर्षमा आयोजनाको काम सक्नेगरी योजना बनाएका छौँ ।’

  • दुई खर्ब लाग्ने अनुमान

नलगाड जलविद्युत आयोजना सम्पन्न गर्न दुई खर्ब लाग्ने अनुमान गरिएको छ । यो जलाशययुक्त आयोजना हुनेछ । जलाशय निर्माणमै बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि लगानीको खोजी भइरहेको आयोजनाले जनाएको छ । सुरुवातदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको भएपनि टुँगो लागेको छैन । विभिन्न चरणमा सरकारको तर्फबाट जापानसरकारसँग लगानीका विषयमा छलफल भइरहेको भन्दै निर्देशक शाहीले लगानी सुनिश्चित हुनेगरी पहिलो प्राथमिकता जाइकालाई दिएको जानकारी दिए । अन्य क्षेत्रसँग समेत छलफल भइरहेको उनको भनाइ छ ।

 

प्रकाशित मितिः   १७ जेष्ठ २०८१, बिहीबार ०५:०५