संघीय बजेटमा कति समेटियो कर्णाली ?

पुरानै योजनालाई निरन्तरता, आएनन् नयाँ
सुर्खेत: संघीय सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत तथा पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत रहेको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा  पाँच खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद तीन खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री वर्षमान पुनले जनाएका छन् ।
बजेटमा कर्णाली
  • स्वास्थ्यतर्फ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्तरोन्नति गरी पाँच सय शैड्ढयाको अस्पताल बनाइने घोषणा बजेटमा गरिएको छ । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले कर्णाली प्रतिष्ठानलाई पाँच सय शैड्ढयाको विशिष्टकृत अस्पताल बनाइने घोषणा गरेका हुन् ।
त्यसैगरी सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजनालाई पनि संघीय सरकारले अघि बढाउने घोषणा गरेको छ । विगत केही वर्षदेखिका हरेक सरकारले यो योजना बजेटमा समावेश गर्ने गरेपनि योजना कार्यान्व्यन हुन सकेको छैन ।
  • पूर्वाधारतर्फ
संघीय सरकारले पूर्वाधारतर्फ दुई प्रदेशलाई गाभेर बजेट विनियोजन गरेको छ । मधेश र कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि डेढ अर्ब छुट्याइएको छ । अर्थमन्त्री पुनले मधेश र कर्णाली प्रदेश विकासका लागि एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
स्थानीय सडक पुल निर्माणका लागि चार अर्ब २७ करोड विनियोजन गरिएको उनले बताए । कर्णालीको सिमान्तकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक विकास र सशक्तिकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । सरकारले कर्णाली कोरिडोरको निर्माणका लागि चार अर्ब ४३ करोड विनियोजन गरेको छ ।
कर्णाली राजमार्ग, कोहलपुर–सुर्खेत रत्न राजमार्गलगायतका सडक आयोजनाहरूको स्तरोन्नतिका लागि पनि बजेट विनियोजन गरिएको छ । कर्णाली करिडोर र भेरी करिडोरलाई समेत बजेटमा समावेश गरिएको छ ।
पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना बजेटमा समावेश गरेको छ । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई जोड्नेगरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको काम अघि बढाइएको जनाइएको छ । नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रहरूलाई समेटेर गुरुयोजनाको काम सुरु भएको छ ।
यसबाहेक भेरीगंगालाई पहाडको आधुनिक सहर बनाउन गुरूयोजन तर्जुमा गरिने बताएको छ । हवाई यातायातका क्षेत्रमा सुर्खेत विमानस्थल र जुम्ला विमानस्थलको स्तरोन्नति गरिने उल्लेख छ । भेरी–बबई बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब रकम विनियोजन गरिएको छ । उक्त रकमबाट आयोजनाको हेर्ड बक्स र विद्युत गृह निर्माण गरिने पुनले बताए ।
  • खेलपूर्वाधारतर्फ
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि खेल पूर्वाधार निर्माण भइरहेका छन् ।
कर्णालीमा २०८१ मंसिर २ देखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि आवश्यक पूर्वाधारको तयारी धमाधम भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण भइरहेका छन् ।
  • भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण
सरकारले जाजरकोट र रूकुम–पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रूपैयाँ छुट्टाएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ । यसका लागि २१ अर्ब ६० करोड विनियोजन गरिएको छ ।
  • अन्य योजना
कर्णाली एकीकृत सिँचाइका लागि ८२ करोड बजेट विनियोजन गरिएको छ । विगतमा पनि बजेटमा सम्बोधन हुँदै आएको यो कार्यक्रम १० वटै जिल्लामा लागू हुने भनिएको छ । यस्तै कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पुनले बताए ।
कर्णालीमा साविक कर्णालीमा जिल्लाहरूमा दिँदै आएको दिवा खाजाको बजेटमा वृद्धि गरिएको छ । यस्तै उपल्लो डोल्पा, हुम्लाको लिमी उपत्यकालाई नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गरिने उनले बताए । विद्युत उत्पादनतर्फ चार सय १७ मेगावाटको नलसिंगाड, एक सय ६ मेगावाटको जगदुल्ला आयोजना निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।
प्रकाशित मितिः   १६ जेष्ठ २०८१, बुधबार ०५:०५