गाउँको शहरीकरण

पूर्वाधार विकासको मुख्य आधार हो सडक । सडकसँगको पहुँचले यातायातको सहजता मात्रै प्रदान गर्दैन विकास अन्य बाटाहरू पनि खोल्दछ । परम्परागत गाउँको स्वरूप बदलिन सक्छ । नागरिकको आर्थिक होस् या सामाजिक अवस्थामा परिवर्तन ल्याउन सघाउँछ । अर्थात् सडक त्यस्तो पूर्वाधार हो, जसले परिवर्तनको सूचककारूपमा समेत काम गर्दछ । यस्तै एक उदाहरण हो, दैलेखको पूर्वी क्षेत्रमा रहेको बेस्तडा बजार । कुनै समयमा परम्परागत यो गाउँमा अहिले धेरै बदलाव आइसकेको छ । परिवर्तन देखिएको छ । भौतिक अवस्था र स्वरूपमा मात्रै होइन, नागरिकको जीवनशैलीमा पनि फेरबदल देख्न सकिन्छ । सडक पहुँचसँगै बदलिएको बेस्तदा अब गाउँ रहेन, शहरीकरण उन्मुख बजारका रूपमा विकास भइसकेको छ ।

अहिले बेस्तडामा होटल तथा रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ । चार वर्ष अघिसम्म स–साना पसल, कच्ची घर, साँघुरा बाटा थिए भने गाडीको चहलपहल निकै न्यून हुन्थ्यो । अहिले होटल, रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ भने जिल्लाको मुख्य व्यापारिक केन्द्र बन्न लागेको छ । मध्यपहाडी राजमार्गको सञ्जाल जोडिएसँगै गाउँमा बजार विस्तार भएको छ । बजार बन्दै गएपछि भगवतीमाई गाउँपालिकाका सातवटै वडा र छिमेकी जिल्ला जाजरकोटबाट घरजग्गा किन्ने र व्यवसाय गर्नेहरूको लहर चलेको छ । बेस्तडा बजार भगवतीमाई गाउँपालिका वडा नं. १ र २ मा पर्छ । बजार बनेसँगै व्यवसाय गर्नेहरूको आकर्षण बढेको छ । कतिसम्म भने वैदेशिक रोजगारीमा निर्भर नागरिकहरू पनि विदेश छोडेर बेस्तडामै व्यवसाय गर्न थालेका छन् । यसले कैयन् नागरिकलाई स्वदेशमै रहन र आफ्नै व्यवसायमार्फत् आत्मनिर्भरताको बाटोमा लाग्न सघाएको छ ।

बेस्तडा भगवतीमाई गाउँपालिकाको केन्द्रसमेत हो । ४० को दशकभन्दा पहिला हालको बेस्तडा बजार त्यस वरिपरीका वस्तीहरूको गोठेरी रहेको ठाउँ हो । यो ठाउँ अहिले त्यस भेकका मात्र नभइ जाजरकोटसम्मका बासिन्दाको शैक्षिक, प्रशासनिक र व्यापारिक केन्द्र बनेको छ । मध्यपहाडी लोकमार्गले यही बजार भएर जान्छ । स्तरीय सडक बनेपछि यहाँ आमूल परिवर्तनहरू देखिन थालेका हुन् । राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । बाटो र यातायातको सहजताले गर्दा व्यवसाय पनि बढेका छन्, व्यापार पनि बढेको छ । व्यपार–व्यवसाय बढ्नु भनेको स्थानीय अर्थबजार चलायमान हुनु हो । स्थानीय बजार चलायमान हुँदा त्यहाँका नागरिकको आर्थिक अवस्थामा समेत त्यसको सकारात्म प्रभाव पर्दछ । त्यसैले पनि ग्रामिण वस्तीहरूको विकासका लागि सडक पूर्वाधारको विस्तार अपरिहार्य हुन जान्छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०८१, मंगलवार ०५:०३