कर्णाली क्याराभान
कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौं संस्करणको दोस्रो दिन ‘कर्णाली क्याराभान’ सत्रमा छलफल गरिएको थियो । कर्णाली प्रदेशको डोल्पालगायतका ठाउँमा छायाँकन गरिएको चलचित्र ‘हिमालयन क्याराभान’ ओस्कार अवार्डका लागि समेत मनोनित भएको थियो । यसै सन्दर्भमा केन्द्रित रहेर कर्णालीमा चलचित्रको सम्भावनाबारे उक्त फिल्मका निर्देशक एरिक भ्यालीसँग काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. लोचन रिजालले कुराकानी गरेका थिए ।
‘चलचित्रबाट कर्णालीलाई उजागर गर्नुपर्छ’
मलाई नेपाली संस्कृति राम्रोसँग बुझ्न मन लाग्यो । त्यसको पहिलो खुड्किलो नेपाली भाषा सिक्नु थियो । भाषाविना कुनैपनि संस्कृति बुझ्न कठीन हुन्छ । मेरो नेपाली पहाडको नेपाली हो । मैले काठमाडौंका मान्छेसँग कुरा गर्दा तिम्रो नेपाली कति मिठो छ भन्छन् । तर मेरो नेपाली मैले काम गर्नलाई पुग्छ । जस्तै रिसाउनलाई, पैसाको कुरा मिलाउनलाई, झगडा गर्नलाई, रमाईलो गर्नलाई पुग्छ ।
हुन त म नेपाल आउँछु भनेर आएको हैन । म १८ वर्षको उमेरमा अफगानिस्तान गएर बसें । त्यो ठाउँ असाध्यै राम्रो थियो । तर भिजाको म्याद गुज्रेको भनेर त्यहाँको सेनाले मलाई समात्यो र तीन दिनका लागि जेलमा राखियो । उनीहरूले मलाई फ्रान्स फर्किन भने तर मलाई जान मन लागेन । त्यसपछि म अफगानिस्तानबाट पाकिस्तान हुँदै भारत आएर बसें । भारत बस्दा नेपालबारे धेरै राम्रा कुरा सुनें । यहाँका मान्छे र संस्कृतिबारे सुनेपछि नेपाल आउन मन लाग्यो । त्यही हेर्न म नेपाल आएको हुँ । त्यतिबेला म १९ वर्षको थिएँ । म पर्यटक भएर सगरमाथा, अन्नपूर्ण र अन्यत्र गएँ । त्यसले मलाई सक्कली नेपाल चिन्नेहुटहुटी जगायो । त्यसपछि हामी पर्यटकहरू नगएको ठाउँ गयौँ । गुरुङ्ग गाउँमा गयौँ । दुई वर्ष हनि हन्टरहरूसँग बस्यौँ । अनि एउटा किताब बनाइयो । नेशनल जोग्राफीको एउटा कभर आर्टिकल बनाइयो । त्यससँगै मैले फोटोग्राफीको काम सुरु गरेँ ।
सन् १९८१ को कुरा हो । त्यतिबेला विदेशीको लागि डोल्पा बन्द थियो । त्यसबारे मैले राजासँग पनि कुरा गरेँ । तर अनुमति नपाए पछि म लुकेर डोल्पा गएँ । मलाई यहाँको संस्कृतिसँग गहिरो प्रेम छ । मेरो जीवननै पूर्ण प्रेममय छ ।
भौगोलिक हिसाबले नेपाल सानो देश हो तर संस्कृतिले भरिपूर्ण छ । जहाँ गयो त्यहीँको संस्कृति राम्रो लाग्छ । क्याराभानमा डोल्पाको संस्कृति छ । हेर्नुहोस् त त्यो कति राम्रो छ । उनीहरूले लगाउने ठूलो कोट र बुट कति राम्रो लाग्छ । यस्तै पश्चिम नेपालमा बस्ने राना थारुको संस्कृति उस्तै राम्रो छ । उनीहरूको खाना, पोषाक, घर, धर्म र संस्कृति कति राम्रा लाग्छन् ।
अहिले मैले बझाङ र बाजुराक्षेत्रमा काम गर्दैछु । त्यहाँ मैले मेरो छोरीसँगै ६ महिना पदयात्रा गरेँ । उनी पनि राम्रो नेपाली बोल्छिन् । मैले अब त्यो क्षेत्रमा काम गर्ने विचार गरेको छु । एउटा भन्न मन लागेको कुरा के भने तपाईंहरू नेपालमै जन्मेर पनि नेपाललाई धेरै चिन्नुभएको छैन । त्योभन्दा बढी म एउटा विदेशीले नेपाल चिनेको र बुझेको छु जस्तो लाग्छ । यस्तो अवसरका लागि नेपाल र नेपालीलाई म धन्यवाद दिन चाहान्छु । किनभने नेपालले मलाई धेरै कुरा दियो । रमाइला मान्छे यहीँ भेटेँ । रमाइलो समय यहीं बिताएँ । कति अप्ठ्यारा बाटा हिँडियो । कति जाडो खाइयो । कति दुःख पाइयो । तर पनि रमाइलो भयो । मसँग यस्ता धेरै स्मृति छन् । जसका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
जहाँसम्म चलचित्र निर्माण गरेर नेपाललाई विश्वमा चिनाउने कुरा छ त्यो निकै अप्ठेरो काम हो । पहिलो कुरा त एउटा विदेशीले फरक संस्कृति बुझ्नु नै धेरै कठीन छ । यहाँको भाषा सिक्नुप¥यो । यहाँको खाना खानुप¥यो । यहाँकै पहाड उकालो ओरालो गर्नुप¥यो । यहाँकै मान्छेले यहाँको चलचित्र बनाउनु राम्रो हो । तर तपाईंहरू किन आफ्नै संस्कृतिबारे चलचित्र बनाउनु हुँदैन । यद्यपि, नयाँ पुस्ताका चलचित्रकर्मीहरू भने सक्रिय भएको मैले भेटेको छु ।
मैले केहीलाई चलचित्रमा प्रेरित पनि गरेको छु । मेरो टिममा एकजना स्थानीय एकदमै राम्रो साथी थिए । उनी टिबी लागेर काठमाडौं उपचार गर्न गएका थिए । त्यसैबेला ६ महिना जति मेरो घरमा पनि बसे । हामी हरेक हप्ता फिल्म हेर्ने गथ्र्यौँ । त्यही क्रममा उनले मलाई भने–हजुरले हाम्रो बारेमा लेख लेख्नुभएको छ तर फिल्म किन बनाउनुहुन्न । त्यो नै क्याराभानको जन्म हो ।
त्यसपछि मैले त्यहाँका स्थानीयको जीवनी टिपेर एउटा कहानी लेखें । एउटा फ्रेन्च निर्मातासँग मिलेर खर्चको अनुमान गरेँ । काठमाडौंबाट कलाकार लैजानुभन्दा त्यहींका मान्छेलाई सिकाउनु राम्रो होला भन्ने लाग्यो । जति डोल्पालीलाई त्यहाँको कुरा थाहा छ त्यो काठमाडौंका मान्छेलाई थाहा हुँदैन । त्यसैले डोल्पाका ३५ जना स्थानीय व्यक्तिलाई काठमाडौं ल्याइयो । कहिल्यै फिल्मसमेत नहेरेका उनीहरूलाई अभिनय सिकाइयो । त्यसका लागि फ्रान्सबाटै प्रशिक्षक बोलाइयो । तर उनलाई पनि भाषिक समस्या भयो । यद्यपि, हामीले दुई महिनाभित्र राम्रो अभ्यास गर्यौं । त्यसपछि हामी नौ महिनासम्म डोल्पामै बसेर फिल्म बनायौं । हामी सबैले यो फिल्ममा आफ्नो सत प्रतिशत योगदान दियौँ ।
फिल्म चल्ने नचल्नेबारे हामीलाई केही थाहा थिएन । त्यो कसैलाई पनि थाहा थिएन । त्यो समय हामी धेरै विश्लेषण गर्न पनि सक्दैनथ्यौं । हामीभित्र पागलपन मात्रै थियो । त्यसैले यो फिल्म राम्रो बन्यो । पछि ओस्कारसम्मै पुग्यो । नेपालमा वास्तवमै धेरै राम्रा कुराहरू छन् । कहानी छन् । धेरै सक्कली वा अर्गानिक कुरा छन् । तिनलाई राम्रोसँग प्रस्तुत गर्नुपर्ने आवश्यकता छ । राम्रोसँग गर्दा हामी सफल हुन्छौँ ।
मुख्य कुरा राम्रो काम गर्ने हो । सुरुमै अवार्डका बारेमा विचार गर्ने होइन । मैले पनि पुरस्कार पाइन्छ कि भनेर कहिल्यै काम गरेको छैन । क्याराभान ओस्कार मनोनयनसम्म पुग्नु मेरा लागि पनि सौभाग्यको कुरा हो । म दुईचोटी ओस्करसम्म पुगें तर त्यसबारे कहिल्यै सोचेको थिइन । काम राम्रो गर्ने हो भने पूजा गरिराख्नु पर्दैन । किनकी कामनै पूजा हो । यही कुरा ध्यानमा राखेर काम गर्ने हो भने हामीले धेरै राम्रा काम गर्न सक्छौं । नेपाली चलचित्रकर्मीले यसैलाई ध्यान दिने हो भने धेरै राम्रा चलचित्र बन्न सक्छन् ।
कुनै पनि देशको संस्कृतिलाई फिल्मले राम्रोसँग बुझाउन सक्छ । हामीले अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलको आयोजना गरेर त्यसको लागि राम्रो माहौल बनाउन सक्छौँ । त्यहाँ सबैतिरबाट फिल्म मेकरहरू, लेखकहरू तथा निर्देशकहरू आउँछन् । त्यहाँ अन्तरक्रियाको अवसर हुन्छ । यसरी नेपाली चलचित्रलाई संसारभर पु¥याउन सकिन्छ भन्ने लाग्छ । धेरैलाई नेपाल आएर चलचित्र बनाउन मन छ । यो नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउने अवसर पनि हो । र कर्णालीमा पनि धेरै साँस्कृतिक विविधता छ । तिनलाई पनि चलचित्रको माध्यमबाट हामीले उजागर गर्नुपर्छ ।
‘कर्णाली चिनाउन एरिकको ठूलो योगदान छ’
एरिक भ्याली विश्वचर्चित फोटोग्राफर हुनुहुन्छ । फोटो खिच्दै जाँदा उहाँले चलचित्र बनाउन थाल्नुभयो । त्यसका लागि उहाँले नेपाल नै छान्नुभयो । उहाँले निर्देशन गरेको उक्त चलचित्र क्याराभान ओस्कार छनोटमा समेत परेको थियो । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका एरिकले नेपालमा ३० वर्ष बिताउनुभएको छ । यो समयमा उहाँले चलचित्रको माध्यमबाटै नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन प्रयास गर्नुभएको छ । मुख्यगरी कर्णालीको सम्पदाको प्रवद्र्धन र विकासमा उहाँको योगदान छ ।
उहाँले १४ भन्दा बढी पुस्तक लेख्नुभएको छ । उहाँका पुस्तकमा नेपाल बस्दाका अनुभवहरू पनि समेटिएका छन् । सन् २०११ मा उहाँले हिमालयन गोल्ड रस भन्ने डकुमेन्ट्री बनाउनुभयो । उक्त डकुमन्ट्री चीनमा धेरै चर्चित छ । उहाँले नेपालमा भीर महुरीको डकुमेन्ट्री हनि हन्टर पनि निर्माण गर्नुभएको छ ।
प्रकाशित मितिः १५ जेष्ठ २०८१, मंगलवार ०५:०४
कुडा कर्णालीका ।