राजमार्गले बदलिएको बेस्तडा

बजार बन्दै गाउँ, फेरिँदै जनजीवन

सुर्खेत: दैलेखको पूर्वी क्षेत्रमा रहेको बेस्तडा बजारमा अहिले होटल तथा रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ । चार वर्ष अघिसम्म स–साना पसल, कच्ची घर, साँघुरा बाटा थिए भने गाडीको चहलपहल निकै न्यून हुन्थ्यो । अहिले होटल, रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ भने जिल्लाको मुख्य व्यापारिक केन्द्र बन्न लागेको छ । मध्यपहाडी राजमार्गको सञ्जाल जोडिएसँगै गाउँमा बजार विस्तार भएको छ । बजार बन्दै गएपछि भगवतीमाई गाउँपालिकाका सातवटै वडा र छिमेकी जिल्ला जाजरकोटबाट घरजग्गा किन्ने र व्यवसाय गर्नेहरूको लहर चलेको छ । बेस्तडा बजार भगवतीमाई गाउँपालिका वडा नं. १ र २ मा पर्छ ।

२०७० सालमा रोजगारीका लागि मलेसिया छिरेका भगवतीमाई गाउँपालिका वडा नं. २ का लोकबहादुर शाहीले राजमार्ग खुलेपछि आफू गाउँ फर्किएको बताए । अहिले वडा नं. २ को रुममा उनले झन्डै सात लाख रूपैयाँको लगानीमा होटल खोलेका छन् । आम्दानीका नयाँनयाँ बाटा पनि खुल्न थालेको उनी बताउँछन् । घरआँगनमा पक्की सडक निर्माण भएपछि ग्रामीण भेगमा सहरीकरण सुरु भएको उनको भनाइ छ । विगतमा पुरानो कच्ची सडकखण्डका नदी र खोलामा पक्की पुल नहुँदा करिब ६ महिनासम्म सदरमुकामसँग सम्पर्कविच्छेद हुन्थ्यो । स्थानीय रुमखोला, कट्टि खोलाले बाटो अवरुद्ध हुनेगरेको थियो । अहिले बाह्रै महिना सवारीसाधन घरआगनमै पुग्नेगरेको उनले बताए ।

वडा नं. २ कै जयबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए । ‘पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो, कि सबैलाई बाडेर सकिन्थ्यो,’ विकले भने, ‘सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि झन् यो पेसामा प्रेरणा मिलेको छ ।’ व्यवसायसँगै सडक सुविधापछि पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको उनले जानकारी दिए । उनको बंगुर फर्म छ । फर्ममा २७ वटा बंगुर रहेका छन् । सहज रूपमा बजार पाइएपछि कृषि खेतिपनि गरिरहेको उनले बताए । उनी पनि २०६० मा रोजगारीका लागि मलेसिया पुगेका थिए । तीन वर्ष मलेसियमा बिताएका विक गाउँमा सडक सुविधा आएपछि गाउँ फर्किएका हुन् ।

भगवतीमाई गाउँपालिका वडा नं. ४ का विकास बुढाक्षेत्री तीन वर्ष मलेसिया बसेर फर्किए । उनी तीन महिनाको छट्टिमा आएका थिए । फेरि विदेश गएनन् । गाउँमानै केही गर्न सकिन्छ भनेर व्यवसाय सुरु गरे । अहिले होटल सञ्चालन गरिरहेका छन् । गाउँमा नै बजार निकै व्यस्त र चहलपहल देखेपछि उनी स्वदेशमै बसेका हुन् । उनी मात्र होइनन् यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । राम्रो कमाइ भइरहेको बुढाक्षेत्रीले बताए । ‘बाटो नबनेको भए त परिवार पाल्न विदेश नै जानुपथ्र्यो’ उनले भने, ‘सडक विस्तारसँगै आफूले लगाएको तरकारी फलफूललगायतका सामान बिक्री गर्न पाएका छौँ, होटल व्यवसाय राम्रै छ, आर्थिक अवस्था पनि सुध्रिएको छ ।’

भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ । सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ । सडक सञ्जाल जोडिएसँगै नागरिकलाई सहज भएको हो ।

राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । जिल्लाको पुर्वी खण्डमा करिब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ । सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाका केही भू–भाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड सञ्चालनमा छ । पश्चिमखण्डका अधिकांश स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

 

प्रकाशित मितिः   १४ जेष्ठ २०८१, सोमबार ०८:४९