कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

सुर्खेत: आइतवारको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध पारेकोे छ । यसअघि दलहरूबीच भएको सहमति कार्यान्वयन नभएको, मन्त्रिपरिषद्बाट कार्यान्वयन गर्ने भनेर निर्णय भएका रातो किताबमा प्रकाशित योजना सबै कार्यान्वयनमा नगएको भन्दै बैठक नै अवरूद्ध गरेको हो ।

कांग्रेसले रातो किताबमा उल्लेख भएका, मन्त्रिपरिषद्ले निर्णय गरेका र सभाले पारित गरेको कतिपय योजनाहरू मौखिक रूपमा कार्यान्वयन नगर्न वर्तमान सरकारले निर्देशन गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले दश लाख मुनिका योजना कार्यान्वयन नगर्ने भनेर तत्कालीन प्रतिपक्षी दलले राखेका अडानका बाबजुत त्यस्ता केही योजना कार्यान्वयन भएको र केही रोकिएको जनाए ।

आर्थिक वर्ष २०८०÷८१ को बजेट आउँदा कर्णाली तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले १५ लाखभन्दा कम बजेट भएका योजना कार्यान्वयन गर्न नहुने अडान राखेको थियो । उक्त अडानपछि दलहरूबीच ती योजनालाई बढाएर १५ र ३० लाख बराबरका बनाएर मात्र कार्यान्वयन गर्ने सहमति भएको थियो । उक्त सहमतिको कार्यान्वयन भद्रगोल भएको भन्दै नेपाली कांग्रेसले आइतवार सदन अवरोध गरेको हो ।

शुक्रवारदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरू भएको छ । सरकारले शनिवार प्रदेशसभामा प्रिबजेट पेस गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले विनियोजन विधेयकका नीति, सिद्धान्त, उद्देश्य प्रस्तुत गरेका हुन् । आइतवार उक्त विधेयकमाथि सभामा छलफल गर्ने कार्यसूची रहेको थियो । तर कांग्रेसको अवरोधका कारण छलफल हुन सकेन ।

प्रकाशित मितिः   १४ जेष्ठ २०८१, सोमबार ०८:४६