कानुन कार्यान्वयनको परीक्षण गरिँदै

सुर्खेत: कर्णाली प्रदेशले बनाएका कानुनहरूको अडिट (कार्यान्वयनको अवस्था परीक्षण) सुरु भएको छ । प्रदेशसभाको सामाजिक विकास समितिले ‘कानुनको उत्तरविद्यायिकी परीक्षण, अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्यविधि २०८१’ मार्फत संसद्ले बनाएका कानुनहरूको अडिट सुरु गर्न लागेको हो । शनिवार समितिले प्रदेशसभाका सबै सांसदहरूलाई कानुनको उत्तर विधायिकी परीक्षणका विविध पक्षहरूका सम्बन्धमा अभिमुखीकरण दिएको छ ।

सरकारले निर्माण गरेको कानुन ठीक समयमा बनेका छन् वा छैनन्, तिनको कार्यान्वयनको अवस्था कस्तो छ ? लगायतका विषयवस्तुलाई समेटेर अध्ययन गर्न उत्तर विधायिकी परीक्षण गर्न लागिएको हो । यसका लागि प्रदेश सभा सदस्यहरूलाई अभिमुखिकरण गराइएको हो ।

प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले उत्तर विधायिकी परिक्षणका लागि पहल सुरु गरेको छ । यो नौलो अभ्यास हुन लागेको समितिका सभापति घनश्याम भण्डारीले जानकारी दिए । उनका अनुसार समितिले २०८१ वैशाख ८ गते उत्तर विधायिकी परीक्षण, अध्ययन र अनुसन्धानसम्बन्धी कार्यविधि पारित गरिसकेको छ । अभिमुखिकरण कार्यक्रममा संविधानसभा सदस्य खिमलाल देवकोटाले उत्तरविधायिकी परीक्षणका चरणहरूका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, संघीय संसद् सचिवालयका उपसचिव नागेन्द्रप्रसाद चौधरीले उत्तर विधायिकी परिक्षणको अवधारणा, सिद्धान्त र पद्धतिलगायतका विषयमा प्रशिक्षण गराएका थिए । समाजिक विकास समितिको आयोजना र संसद् सहयोग परियोजनाको सहकार्यमा प्रदेशसभा सांसदहरूलाई अभिमुखिकरण गराइएको हो ।

प्रकाशित मितिः   १३ जेष्ठ २०८१, आईतवार ०५:०२