आजदेखि पोलियोविरुद्ध खोप अभियान

सुर्खेत: आज(आइतवार)देखि पोलियो रोगविरुद्धको खोप अभियान सुरु हुँदैछ । यो अभियानलाई राष्ट्रिय रूपमा सञ्चालन गर्न लागिएको हो । सुर्खेतसहित कर्णाली प्रदेशभर पनि तयारी भइरहेको छ ।

पोलियोरोग विरुद्ध दुई किसिमका खोपहरू दिइन्छ । ओरल पोलियो भ्याक्सिन (ओपिभी) र इनएक्टिभेटड पोलियो भ्याक्सिन (आईपिभी) दिइन्छ । यसपटकको अभियानमा आईपिभी खोप दिन लागिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । ओपिभी खुवाइन्छ भने आईभी सिरिन्जमार्फत् दिइन्छ ।

सुर्खेत जिल्लाका तीन सय ५१ खोपकेन्द्रबाट २० हजार बालबालिकालाई ओपिभी खोप लगाईदै छ । पालिका अनुसार दुई चरणमा लगाइने यो खोप विद्यालयबाट दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।
२०७१ सालदेखि नेपालमा पोलियो रोगविरुद्ध खोप दिन थालिएको हो । २०७३ जेठदेखि २०७५ भदौसम्म यो खोप अभाव भएको थियो । त्यसैले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई यस पटक खोप लगाइने युनिसेफका प्रतिनिधि सिताराम रिमालले जानकारी दिए । उनका अनुसार देशभर १४ लाख ६२ हजार बालबालिकालाई यो अभियान अन्तर्गत खोप लगाइँदैछ ।

खोप लगाउँदा सामान्य किसिमका लक्षणहरू देखिन सक्ने भन्दै त्यसबाट हतोत्साहित नहुन जनस्वास्थ्य सेवा कार्यालयले नागरिकलाई अपिल गरेको छ । कार्यालयका अनुसार खोप लगाएको ठाउँमा रातो देखिने, ज्वरो आउने जस्ता सामान्य लक्षण देखिने गर्छन् । यही जेठ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०८१, आईतवार ०५:०१