‘वडा अध्यक्षदेखि मेयर जित्नुस्’

सुर्खेत, ११ चैत ।
स्थानीय तहको चुनाव नजिकिंदै जाँदा राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । नेकपा एमालेले प्रदेशस्तरीय सभा गरेको एक साता बित्न नपाउँदै माओवादी केन्द्रले वीरेन्द्रनगरमा सभा आयोजना गरेको छ । माओवादीले चुनाव लक्षित जनसभा शुक्रवार सम्पन्न गरेर स्थानीय सरकार कब्जा गर्नेगरी जुट्न कार्यकर्तालाई निर्देशन दिएको हो ।
नेकपा माओवादी केन्द्रका नेताहरूले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा अध्यक्षदेखि नगरपालिकाको मेयरसम्मका पदमा जीत हात पार्न निर्देशन दिएका छन् । माओवादीका केन्द्रीय नेताहरूले स्थानीय चुनावमा पार्टीले हारेमा चुनावको कुनै अर्थ नहुने बताए । चुनावमा आफ्नो पार्टी पराजित भएमा हालसम्मका आन्दोलनबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको भन्दै माओवादी नेताहरूले कुनै पनि हालतमा चुनाव जित्न कार्यकर्तालाई आग्रह गरे । उनीहरूले गाउँ–गाउँमा पुगेर पार्टीको पक्षमा भोट माग्न र चुनाव जित्न निर्देशन दिएका हुन् ।
सभामा बोल्दै माओवादी नेता रामबहादुर थापा (बादल) ले आफ्नो पार्टीले हार्ने चुनावको कुनै अर्थ नहुने बताए । उनले भने, ‘वैशाख ३१ गते नै स्थानीय चुनाव हुन्छ, हामी चुनाव सम्पन्न गर्न प्रतिबद्ध छौं । तर हाम्रो पार्टीले हार्ने चुनावको अर्थ रहन्न, संघीयता र संविधान कार्यान्वयनका लागि माओवादीले जित्नैपर्छ ।’ उनले चुनावमा माओवादी पराजित भएमा संघीयता र नयाँ संविधान नै धरापमा पर्ने दाबी गरे । यसका लागि पनि जनताले आफूहरूलाई जिताउनैपर्ने बाध्यता रहेको उनको भनाइ छ । माओवादीकै मुद्दामा देश अगाडि बढेको बताउँदै नेता थापाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
उनले थपे, ‘संघीयता र गणत्रन्त्रका लागि हामीले रगत बनाएका छौं, अब चुनावमा पराजित भयौं भने सबै उपलब्धि गुम्नेछन् । त्यसैले तपाईंहरू घर–घरमा पुग्नुस्, स्थानीय चुनावमा वडाको अध्यक्षदेखि मेयरसम्म जितेर देखाउनुस् ।’ स्थानीय सरकारको नेतृत्व हात पारेमा मात्र जनचाहना अनुसारको शासन सञ्चालन गर्न सकिने उनको भनाइ छ । माओवादी बाहेक अन्य दलहरूले चुनाव जितेमा गणत्रन्त्र, संघीयता र संविधान नै धरापमा पर्ने उनको दाबी छ । माओवादीले रगत बगाएर गणतन्त्र, संघीयता र संविधान ल्याएको भन्दै उनले स्थानीय चुनावमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई निर्देशन दिए । तोकिएकै मितिमा चुनाव हुने भन्दै उनले गाउँ पस्नसमेत कार्यकर्तालाई आग्रह गरे ।
सोही अवसरमा पूर्व गृहमन्त्री तथा माओवादी नेता शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीलाई चुनाव जित्नैपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘हामीले जितेनौं भने आन्दोलनका उपलब्धि गुम्ने खतरा छ, संघीयता र गणतन्त्र नै गुम्न सक्छन् । यसको रक्षार्थ पनि चुनाव अनिवार्य छ, चुनावमा माओवादीले जित्नै पर्नेछ ।’ सभामा माओवादी संसदीय दलका सचेतक सीता नेपालीले नयाँ संविधान कार्यान्वयनका लागि पनि तोकिएकै मितिमा चुनाव सम्पन्न हुने बताइन् । साथै उनले स्थानीय तहको चुनावमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरिन् । माओवादी प्रदेश नम्बर ६ का संयोजक मायाप्रसाद शर्माले अबको चुनावमा माओवादीले बहुमत प्राप्त गरेमा मात्र संविधान कार्यान्वयन सहज हुने दाबी गरे । चुनाव सम्पन्न गर्नका लागि दलहरूबीच एकता आवश्यक रहेको उनको भनाइ छ । साथै उनले अब माओवादी एकताबद्ध बनेको भन्दै चुनावका लागि भए पनि दुई महिनाका लागि पूर्णकालीन कार्यकर्ता बन्न आग्रह गरे ।
स्थानीय चुनावको प्रचार स्वरूप माओवादीले सभा सम्पन्न गरेको हो । उक्त सभामा माओवादी नेता कालीबहादुर मल्लले आफ्नो पार्टी संघीयता र संविधानको जन्मदाता भएकाले चुनाव जित्ने दाबी गरे । अबको चनावमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गर्दै उनले कुनै पनि हालतमा स्थानीय सत्ता कब्जा गर्नेगरी गाउँ पस्न कार्यकर्तालाई आग्रह गरे । माओवादी केन्द्रका सुर्खेत संयोजक कृष्णबहादुर जिसीको अध्यक्षतामा भएको सभामा माओवादी नेताहरूले चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरेका थिए । सभामा सहभागी हुन माओवादी कार्यकर्ताहरू जिल्लाका विभिन्न स्थानबाट वीरेन्द्रनगरमा आएका थिए । जनसभा अघि वीरेन्द्रनगरमा विभिन्न झाँकीसहित ¥याली निकालिएको थियो । यसअघि एमालेले खुलामञ्चमा सभा सम्पन्न गरेको थियो भने माओवादीले पिपल चौतारीमा सम्पन्न गरेको हो ।

मेयर र उप–मेयरमा उम्मेदवारी घोषणा
यसैबीच माओवादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी सुर्खेतले शुक्रवार सम्पन्न जनसभामा वीरेन्द्रनगर नगरपालिकाको मेयर र उप–मेयर पदका उम्मेदवारहरू घोषणा गरेको हो । मेयरमा रत्नबहादुर गाहालाई उम्मेदवार घोषणा गरिएको छ ।
यस्तै उप–मेयरमा हरिमाया शर्माको नाम घोषणा गरिएको हो । मेयरका उम्मेदवार गाहाले यसअघि समाज कल्याण परिषद्को कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । माओवादीको जिल्ला राजनीतिमा सक्रिय उप–मेयर पदका उम्मेदवार शर्मा हाल पार्टीको केन्द्रीय नेतृत्वमा पुगेकी छन् । बाँकी उम्मेदवारहरू भने केही दिनमा सार्वजनिक गरिने माओवादीले जनाएको छ ।

प्रकाशित मितिः   १२ चैत्र २०७३, शनिबार १४:३३