मध्यरातमा पसल चोरी

सुर्खेत, ११ चैत ।
चैत ८ गते राती वीरेन्द्रनगरस्थित मोर्डन कलेक्शनमा चोरी भयो । रातीको समयमा पसल फोडेर दुई लाख १४ हजार रूपैयाँ बराबरको सामान लगिएको जनाइएको छ । त्यसको दुई दिनपछि बिहीवार राती वीरेन्द्रनगरकै स्वस्तिक कोल्ड सेन्टरमा पनि चोरी भएको छ । बिहीवार नै वीरेन्द्रनगरको तल्लोबजारस्थित कालिका मोबाइल सर्भिस सेन्टरमा चोरीको प्रयास हुँदै गर्दा छरछिमेकले थाहा पाएपछि चोरी गर्नेहरू भाग्न सफल भए ।
पछिल्लो केही दिनयता वीरेन्द्रनगरका करिब आधा दर्जन पसलहरू चोरीको प्रयास भएको छ । जसमध्ये केहीमा चोरहरूले सामान लैजान सफल भएका छन् भने केहीमा असफल भएका छन् । यसरी चोरीका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी रोक्न वीरेन्द्रनगरमा प्रहरी टोली नै परिचालन गरेको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले चोरी नियन्त्रण गर्नका लागि विशेष टोली नै परिचालन गरिएको जानकारी दिए । केही पसलहरूमा चोरी भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली खटाइएको उनले जनाए ।
बिहीवार राती तल्लोबजारस्थित कालिका मोबाइल पसल चोरीको प्रयास भएको थियो । राती करिब साढे २ बजे चोरी हुन लागेको घरबेटीले थाहा पाएपछि चोरहरू भागेका थिए । चोरीमा प्रयोग गरिएको औजार त्यही छोडेर उनीहरू भागेका थिए । विशेष किसिमका औजारसहित चार जनाले चोरीको प्रयास गरेको कालिका मोबाइलका सञ्चालक भुवन ज्ञवालीले बताए । चोरहरूले सटरको ताला फोडिसकेको अवस्थामा घरबेटीले थाहा पाएपछि पसल चोरी हुनबाट भने रोकिएको ज्ञवालीले जनाए । खुकुरी, सब्बल लगायतका अन्य औजारसहित भागेकाले उनीहरू ‘पेसेवर चोर’ हुनसक्ने उनी बताउँछन् ।
सीसी क्यामेरामा पनि चोरीमा संलग्नहरू प्रष्ट नदेखिएकाले चोर पत्ता लगाउन भने सकिएको छैन । पटक–पटक विभिन्न पसलहरूमा सानो ठूलो चोरीका घटना भइरहेको भन्दै व्यवसायीहरूले सुरक्षा व्यवस्था कडा पार्न प्रहरीसँग माग गरेका छन् । रेडिमेट तथा फेन्सी व्यवसायी समिति सुर्खेतका अध्यक्ष प्रेम पाण्डेले चोरीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न र सुरक्षा व्यवस्था भरपर्दो बनाउन आग्रह गरे ।

प्रकाशित मितिः   १२ चैत्र २०७३, शनिबार १४:३०