शिक्षा सेवाको छुट्टै इकाई माग

सुर्खेत, ११ चैत ।
प्रदेश नम्बर ६ मा शिक्षा सेवामा कार्यरत अधिकृतहरूले स्थानीय तहमा शिक्षा सेवालाई अधिकारसहित छुट्टै इकाई स्थापना गर्नुपर्ने माग अघि सारेका छन् । शिक्षा सेवा अधिकृत एकता मञ्च प्रदेश नम्बर ६ ले यस्तो माग गर्दै मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमार्फत् सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
त्यसैगरी स्थानीय तहको गाउँपालिका र नगरपालिकाको कार्यकारी प्रमुख छनौट गर्दा १० वटै निजामती सेवाका प्राविधिक र अप्राविधिक दुवै प्रकारका कर्मचारीहरूमध्येबाट ज्येष्ठताको आधारमा छनौट गर्नुपर्ने, शिक्षा र विविध सेवालाई सामान्य प्रशासन समूहमा एकीकृत गर्नुपर्नेसहितका माग मञ्चले राखेको छ । राज्य पुनर्संरचनाको सन्दर्भमा शिक्षा सेवामा कार्यरत निजामती कर्मचारीहरूको सम्मानजनक समायोजन र व्यवस्थापन गर्नुपर्ने अनुरोधसहितको ज्ञापनपत्र मञ्चका प्रदेश संयोजक धिरेन्द्रप्रसाद शर्माले मप क्षेत्रीय शिक्षा निर्देशनालयका कायममुकायम निर्देशक हरि गौतमलाई बुझाएका
हुन् । ज्ञापनपत्र बुझाउँदै शर्माले सम्बन्धित निकायले समयमै आफ्ना मागहरूको सुनुवाइ गरी कर्मचारीमैत्री वातावरण निर्माण गर्न आग्रह गरे । यसैबीच प्रदेश नम्बर ६ स्तरीय शिक्षा सेवा अधिकृत एकता मञ्चको भेला शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

प्रकाशित मितिः   १२ चैत्र २०७३, शनिबार १४:२८