सहयोग आदान–प्रदान गर्ने समझदारी
सुर्खेत, ११ चैत ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेत र चीनको नान्छाङ्गमा रहेको चीउ च्यांग विश्वविद्यालयको अन्तर्गतको ईस्ट चाइना यूनिभर्सिटी अफ टेक्नोलोजीबीच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा शुक्रवार हस्ताक्षर भएको छ । ईस्ट चाइना यूनिभर्सिटी अफ टेक्नोलोजीसँग मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चीउ च्यांग विश्वविद्यालयसँग भएको समझदारी पत्र अनुसारको चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना गर्न प्राविधिक सहयोग आदान–प्रदान हुनेछ ।
त्यसैगरी विद्यार्थी आदान–प्रदान, फ्याकल्टी आदान–प्रदान, विशेषज्ञ आदान–प्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने आदिमा आपसी सहयोग आदान–प्रदान गर्ने गरी समझदारी पत्रमा दुई विश्वविद्यालयका उपकुलपतिस्तरमा हस्ताक्षर भएको मप विश्व–विद्यालयका उपकुलपति प्रा.डा उपेन्द्रकुमार कोइरालाका निजी सचिव दीलिप भट्टराईले जानकारी दिए । उक्त समझदारी पत्रको हस्ताक्षरका क्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल र डाक्टर्स इन्टरनेशनलका अध्यक्ष डा. रमेश आचार्यसमेत सहभागी थिए । बिहीवार नै चीनको चीउ च्यांग विश्व–विद्यालयका अध्यक्ष, उपाध्यक्ष सम्मिलित एक छुट्टै बैठकमा मंसिर १४ गते सुर्खेतमा भएको समझदारी पत्र अनुसार मेडिकल कलेज र चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना कामलाई द्रूत गतिमा अघि बढाउन छलफल भएको छ । छलफलमा चीनको चीउ च्यांग विश्वविद्यालयको आर्थिक र प्राविधिक सहयोगमा मेडिकल कलेज स्थापना गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने र आउँदो २ वर्षभित्र काम सुरु गर्ने गरी छलफल भएको छ । आउँदो ६ महिनाभित्र चीउ च्यांग विश्वविद्यालयको भगिनी संस्था ईस्ट चाइना यूनिभर्सिटी अफ टेक्नोलोजीको सहयोगमा चिनियाँ भाषा अध्ययन केन्द्र खोल्न कार्य अघि बढाउने गरी छलफल भएको विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले जानकारी दिए ।
त्यसैगरी बिहीवार नै उपकुलपति संयोजकत्वको भ्रमण टोलीले चीउ च्यांग विश्वविद्यालयको मेडिकल कलेजको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरी अध्ययनरत करिब ३० जना नेपाली विद्यार्थीहरूसँग छलफल समेत गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल र डाक्टर्स इन्टरनेशनलका अध्यक्ष डा. रमेश आचार्य चीनमा रहेका विभिन्न विश्वविद्यालयहरू सँग समझदारी पत्रमा हस्ताक्षर गर्न चीनको चीउ च्यांग विश्वविद्यालयको निमन्त्रणामा १० दिन लामो चीन भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।