कृषिमन्त्रीमा शाह नियुक्त

सुर्खेत: कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधवार शाहलाई मन्त्री नियुक्त गरेका हुन् ।
बुधवार नै उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन् । शाहले यसअघि आफूले रोजेको मन्त्रालय नपाएपछि शपथ बहिष्कार गरेका थिए । उनले नेकपा (एमाले) को भागमा परेको भौतिक पूर्वाधा तथा शहरी विकास मन्त्रालय रोजेका थिए । तर मुख्यमन्त्री कँडेलले कृषिमन्त्रीमा सिफारिस गरेपछि शपथ लिन अस्वीकार गरेका थिए ।

शाहले शपथ नलिएपछि कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए । अहिले कँडेलले पुनः शाहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनको नियुक्तिसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेलले आफैसँग राखेका छन् ।

 

प्रकाशित मितिः   १० जेष्ठ २०८१, बिहीबार ०५:०१