आवासीय विद्यालयको प्रभाव
पछिल्लो समय बसाइँसराइ बढ्दो छ । पहाडी र हिमाली भेगका बस्तीबाट तराइ झर्ने बढ्दै छन् । सुविधाको खोजीमा शहरतिर सर्नेको संख्या दैनिक उकालो लागिरहेको छ । ग्रामीण बस्तीमा पर्याप्त सुविधा नहुँदा त्यसको असर बसाइँसराइ बनेको देखिन्छ । बस्ती रित्तिदै गएपछि विद्यालय पनि खाली हुँदै गएका छन् । विद्यार्थीको संख्या घटेको छ । सुविधासहित गुणस्तरीय शिक्षाका लागि भन्दै अभिभावकहरू आफ्ना बालबालिकालाई शहरी क्षेत्रका विद्यालयमा पठाइरहेका छन् । यस्तै समस्यासँग जुधिरहेका कर्णालीका हिमाली बस्तीका विद्यालयले आवासीय विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याएका छन् । यसको सकारात्मक प्रभाव पनि देखिन थालेको छ ।
कर्णाली प्रदेश सरकारले भौगोलिक रूपमा विकट हिमाली क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन र सहज रूपमा पठनपाठनको प्रबन्ध मिलाउन आवासीय कार्यक्रमको अवधारणा अघि सारेको हो । जसको कार्यान्वयनले मुगुका विद्यालयमा अहिले विद्यार्थी भरिभराउ भएका छन् । केही वर्ष पहिले मुगुको केजाङस्थित नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा १८ जना विद्यार्थी हुन्थे । अहिले तीन सय ३५ जना नियमित विद्यार्थी छन् । तीन सय ३५ जना छात्राबासमा बस्छन् । अंग्रेजी र नेपाली भाषामा विविध ज्ञानमात्रै होइन, कला र संस्कृतिसँगै मातृभाषा पनि पढ्छन् । मुगुम कार्मारोङ गाउँपालिका ३ का लुन्दुक तामाङको परिवारलाई सन्तानलाई शिक्षादिक्षा दिनुपर्छ भन्ने थाहा नभएको होइन । तर, पनि चिन्ता थियो, पढाउने कहाँ ? नजिक राम्रो विद्यालय छैन, टाढा सहर लैजान सकिँदैन । उनीहरूले त्यो चिन्ताको समाधान भेटे, नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालय । अहिले अभिभावकलाई वरदान सावित भइरहेको छ । गाउँपालिकाका ६ वटा वडाका १२ विद्यालय समायोजन गरेर आवासीय विद्यालय सञ्चालन भइरहेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा नमुना आवासीय विद्यालय बनाउने योजना ल्याएको हो । सोही वर्षबाट साविक कर्णालीका पाँच जिल्लामा नमुना आवासीय विद्यालय छनोट गरी पूर्वाधार निर्माण सुरु गरिएको थियो । नमुना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न चार वर्षदेखि काम सुरु गरिएको छ । सुरुको आर्थिक वर्ष २०७७/०७८ मा पाँच जिल्लाका पाँच विद्यालयमा एक÷एक करोड बजेट भवन निर्माणका लागि बजेट दिइएको थियो । उक्त भवनको निरन्तरताका लागि २०७८÷७९ मा ८०/८० लाख रूपैयाँका दरले दिइयो । तेस्रो वर्ष २०७९÷०८० मा भवनको निरन्तरताका लागि ५० लाख र चालु आर्थिक वर्ष २०८०÷०८१ मा पनि ५० लाख रूपैयाँ प्रतिविद्यालय भवनको निरन्तरताका लागि दिइएको छ । कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्लामा एउटा एउटा नमुना आवासीय विद्यालयको मापदण्डमा रहेर भवन निर्माण भइरहेका छन् ।
प्रकाशित मितिः ८ जेष्ठ २०८१, मंगलवार ११:४५
सम्पादकीय ।