‘विवाह पछि माया बस्यो’
पिता गोपालप्रसाद अधिकारी र माता रत्ना अधिकारीको कोखबाट २०२० सालमा दैलेखमा जन्मिएका शिवराज अधिकारी बाल्यकालदेखि नै व्यापार व्यवसायमा नजानेरै लागेका थिए । उनी घरमा उत्पादन भएका उखु, मेवा विद्यालयमा लगेर साथीभाइ बेच्ने गर्थे । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात भनेझैं अधिकारी पनि बाल्यकालदेखि नै व्यापार व्यवसायमा नजानेरै लागेका थिए । उनलाई थाहा थिएन कि यसरी व्यापार गरिन्छ भनेर तर, पनि उनी नजानेरै व्यापार गर्न थालेका थिए ।
साथीहरूसँग पनि उनी खुबै मिलनसार नै थिए । उनले कहिल्यै कसैको मन दुखाएनन् । अधिकारी कक्षा दुईसम्म दैलेखमा नै पढेका थिए । कक्षा तीनबाट उनी कैलालीमा पढ्न थालेका थिए । किनकी उनी लगायत सबै परिवार बसाइसराइँ गरेर कैलाली गएका थिए । उनी पढ्न मात्र होइन घरको कामदेखि घाँस, दाउरा, मेलापात, गोठालोसम्म जाने गर्थे । यति मात्र होइन उनी एउटा गाउँको फलफूल वा अन्य चिज अर्काे गाउँमा लगेर बेच्ने गर्थे । उनले भने, ‘म घरमा भएका उखु, मेवाहरू स्कुलमा लगेर साथीहरूलाई बेच्ने गर्थे ।’
बसाइसराइँ गरेर कैलाली गएपछि पनि उनले व्यापारलाई निरन्तरता दिए । कक्षा ८ सम्म पढेका अधिकारी व्यापारकै शिलशिलामा भारतबाट ममफली लिएर दैलेखमा बेच्ने गर्थे । उनले भने, ‘म नजानेरै व्यापार व्यवसायमा लागे, मैले भारतबाट ममफली लगेर दैलेखमा बेच्ने गर्थे ।’ मान्छे भविष्यमा के बन्ने भन्ने लक्षण बाल्यकालदेखि नै देखिन्छ । त्यस्तै अधिकारीको पनि भविष्यमा व्यापारी बन्ने लक्षण बाल्यकालमा नै देखिएको थियो ।
घरको कामदेखि व्यापार व्यवसाय र घाँसदाउरा समेत गरेका अधिकारी २० वर्षका थिए तब उनको घरमा विहेको कुरा चल्न सुरु गरेको थियो । अधिकारीका बुबाले छोराका लागि केटी पहिले नै हेरिसकेका थिए । अधिकारीलाई पहिला केटी हेर मन परे माग्न जाउला भनेपछि उनी लुकेर केटी हेर्न गएका थिए । उनले भने, ‘उनी गोठाला जाँदा मैले लुकेर हेरेको थिए मन पनि प¥यो अघि विहेको कुरा अगाडि बढेको थियो ।’ अधिकारीले केटी त मन पराए तर, बुबासँग मुखै फोडेर भन्न सकेनन् । आफ्नो साथीहरूमार्फत् बुबालाई केटी मन पराएको कुरा भन्न लगाएका थिए ।
अधिकारीसँग विहेको कुरा चलाएकी केटी अरु कोही नभएर अमृता थिइन् । उनलाई माग्न आउँदैछन् भन्ने थाहासम्म थिएन । त्यति बेलाको जमानामा छोरी भएपछि बाबुआमाले भनेको कुरा मान्नुपर्छ, जा विहे गर भन्यो त्यही विहे गर्नुपर्छ भन्ने मूल्य र मान्यताले गर्दा अमृताले पनि केही बोल्न पाइनन् । विवाह गर्दा उनी १३ वर्षकी थिइन् । उनलाई विवाह सम्बन्धी केही थाहा पनि थिएन । उनले भनिन्, ‘मेरो विवाह हुँदैछ, मलाई माग्न केटा आउँदैछ भन्ने केही थाहा थिएन एक्कासी घरमा आएपछि थाहा भयो ।’
पिता शिवप्रसाद पाण्डे र माता नैना पाण्डेको कोखबाट २०२७ सालमा कैलाली नारायणपुर गाविसमा जन्मिएकी अमृता बाल्यकालदेखि नै सोझी र शान्त स्वभावकी थिइन् । उनलाई त्यति बेला विद्यालय गएर पढ्नुपर्छ भन्ने केही थाहा थिएन । साथीहरूको लहैलहैमा लागेर पढ्न भन्दा गोठालो जान, घाँस दाउरा, मेलापर्वमा जान मन पराउने गर्थिन् । उनले भनिन्, ‘उतिबेला अहिलेको जस्तो कहाँ थियो र त्यतिबेला त पढ्नभन्दा पनि गोठालो, मेलापातमा नै रमाइलो हुन्थ्यो, पढ्नुपर्छ भन्ने केही थाहै भएन, अहिले पछुतो त लाग्छ ।’
पढेको भए पनि उनलाई थाहा हुने थियो होला कि सानै उमेरमा विवाह गर्नु हुँदैन भन्ने तर, उनलाई केही थाहा नभएको र बाबुआमाको कुरालाई छोरी भएपछि जे भने पनि मान्नुपर्छ भन्ने मान्यताले गर्दा उनले १३ वर्षको उमेर अधिकारीसँग विवाह गरिन् । २०४० सालमा दुवैको मागेर नै विवाह भयो । विवाह पछिका दिनबाट अमृतालाई बल्ल थाहा भयो कि विवाह भनेको के रै’छ । उनले भनिन्, ‘माइतीमा हुँदासम्म सबैको मायाममतामा हुर्किएकी मान्छे विवाहपछि सबै परिवर्तन हुँदो रै’छ ।’ छोरी हुँदा बाबुआमाको मायाममतामा हुर्किएको र विवाहपछि सासुससुराको मान मर्यादालाई ख्याल गर्दै सबैको मान मर्यादा राख्दै सबैको मन जित्नुपर्ने उनको लागि ठूलै चुनौती थपिएको थियो । उनले भनिन्, ‘विवाह पछि आमाको ठाउँमा सासु र बाबुको ठाउँमा ससुरालाई राख्नको लागि नै अर्काे मन चाहिँदो रै’छ, जुन कुरा मलाई मात्र होइन सबै छोरीहरूको लागि चुनौती र गाह्रो हुन्छ ।’
हुन त भनिन्छ छोरी मान्छे भएपछि माइतीमा बस्न हुँदैन विवाह घर नै उसको शौभाग्य हो । तर आफ्नो जन्मघर, जन्म दिने आमाबाबु सबैलाई छोडेर आफ्नोलाई पराइ र पराइलाई आफ्नो बनाउनु भने सानो कुरा होइन । पराइको घरमा गएर सबैलाई आफ्नो बनाउनको लागि साँचिच्कै अर्काे मन भिœयाउनुपर्छ । जुन कुरा निकै गाह्रो हुन्छ । तर, पनि सबै छोरीहरूले आफ्नो भाग्य र शौभाग्य ठानेर त्यो मूल्य मान्यतालाई स्वीकारेकै हुन्छन् । जुन कुरा अमृताले पनि स्वीकार गरेन् ।
विवाहपछि नै २०४२ सालबाट अधिकारीले पाँच सयबाट व्यापार सुरु गरेका थिए । सुरुवातमा उनले व्यापार सुरु गर्नुभन्दा पहिला गाडीमा समेत विस्कुट बेच्ने गर्थे । उनको व्यापारमा राम्रो अनुभव भइसकेपछि उनले आफ्नै व्यापार सुरु गरेका थिए । सानो तिनो व्यापार गर्ने र सामान लिएर सुर्खेत आउँदा सुर्खेतमा उनले प्रायः व्यक्तिहरू दैलेखका देखे र सुर्खेतलाई आफ्नो व्यापार गर्ने उत्तम ठाउँ मानेर २०५५ सालमा सुर्खेतमा व्यापार गर्न सुरु गरेका थिए । उनले भने, ‘मैले व्यापार गर्ने प्रेरणा भने भारतमा काम गर्ने व्यापारीहरूबाट सिकेको हो, उनीहरूले यसरी व्यापार गर्न सक्छन् भने मैले किन गर्न सक्दैन भन्ने सोचेर व्यापार सुरु गरेको हो ।’ सुरुवातमा पाँच सयबाट सुरु गरेको व्यापारबाट अहिले उनले वार्षिक रूपमा १५ करोड भन्दा धेरैको व्यापार गर्ने गर्छन् । सुर्खेतमा अहिले उनको विभिन्न जिल्ला र ठाउँहरूमा सामान पठाउने काम गर्छन् । यति मात्र होइन व्यापार सँगसँगै समाजसेवा समेत गर्ने गर्छन् । उनी विभिन्न सहकारी संघ–संस्थाहरूमा आवद्ध भएर काम गरिरहेका छन् । अहिले उनी उज्वल सहकारी संस्थाका उपाध्यक्षको रूपमा रहेर काम गरिरहेका छन् ।
अमृताले विवाहभन्दा पहिला अधिकारीलाई देखेकी पनि थिइनन् । तर, पनि उनीहरूको विवाह भयो । उनीहरू भन्छन्, ‘पहिला प्रेम गरेर विवाह गर्नुभन्दा विवाह पछिको प्रेम नै उत्तम हुन्छ ।’ उनीहरूको पनि विवाह पछि नै प्रेम भएको थियो । उनीहरू भन्छन्, ‘हाम्रै विवाह पछि नै एकअर्काेमा माया झन बढ्दै गयो ।’ उनीहरूका अनुसार प्रेमपछिको विवाहमा टकराप र झगडाहरू धेरै हुने गर्छन् । तर, विवाह पछिको सम्बन्ध त्यस्तो हो जुन सम्बन्ध दिगो र झन मायामा परिणत हुँदै जाँन्छ । जब एकअर्काे बीचको सम्बन्ध नै बलियो हुँदैन भने त्यो सम्बन्ध कहिल्यै दिगो हुन सक्दैन । उनीहरू भन्छन्, ‘सम्बन्ध दिगो र बलियो बनाउनको लागि एकअर्काेमा विश्वास कायम हुन जरुरी छ ।’
एकअर्काेबीचको भावनाको कदर भएन । शंका उत्पन्न हुन थाल्यो भने सम्बन्ध त्यसै पनि कमजोर बन्दै जान्छ अन्त्य त सम्बन्ध विच्छेदसम्म पुग्नसक्छ । यो जोडी एकअकापसमा कहिल्यै झगडा गर्दैनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीबीचको झगडा भनेको परालको आगो हो, झगडा त सामान्य रूपमा भइहाल्छ तर, त्यो झगडालाई कहिल्यै ठूलो रूप बनाउनु हुँदैन ।’ एकअर्काेमा जति नै झगडा भए पनि दुवैको प्रतिको माया र मन पर्ने बानी सबैमा हुने गर्छ । अधिकारीलाई अमृताको कम बोल्ने, विस्तारै बोल्ने बानी मनपर्ने गर्छ । त्यस्तै अमृतालाई अधिकारीको आफूलाई मन परेको चिज किन्न र खाने कुुरामा कचकच नगर्ने बानी मन पर्ने गर्छ ।
यो जोडीको जीवनमा एउटा अविष्मणीय घटना घटेको छ । जुन घटना उनीहरूको लागि कहिल्यै भुल्न नसकिने घटना हो । २०४२ सालमा उनीहरूको पाँच महिने छोराको मृत्यु भएको क्षण उनीहरूको लागि दुःखको क्षण हो ।
यो जोडीका अनुसार जीवनमा विना सङ्घर्षको मान्छे हुँदैन । जुन व्यक्तिले जीवनमा सङ्घर्षसँग जुधेर काम गर्नसक्छ त्यो व्यक्ति मात्र जीवनमा अगाडि बढ्न र सफल बन्नसक्छ । जीवनमा इमानदार, मेहेनत र हिम्मत जुटाएर अगाडि बढ्न सक्यो भने शून्यमा आएको जीवन पनि फुल्न थाल्छ । त्यसैले जीवनमा दुःखसँग सामना गर्न सिकेर सानो कुरालाई पनि जीवनको सफलता मानेर अगाडि बढ्न सक्दा जीवन सुखमय तरिकाले अगाडि बढाउन सकिन्छ ।
साझा बिसौनी संवाददाता ।