अनि म आफै सरकार बनी दिन्छु (कविता)

एउटा हातमा भूकम्पपीडितको तस्बिर
र अर्को हाथमा व्हिस्कीको ग्लास समातेर
खोइ कहाँ छ सरकार ? भन्दै
फेसबुक तताउन मन नलागेको
पक्कै पनि होइन
तर मैले त्यसो गर्न सकिन 
महाभूकम्पको तीन दिनपछि
परकम्पनले हल्लिँदै
साथीको अफिसमा पुगेर
यतिका वर्ष कहाँ थियो सरकार ?  भनेर
आक्रोश पोख्न मन नलागेको
पक्कै पनि होइन
तर मैले त्यसो गर्न सकिन 
बरु एडिटर मित्र कहाँ छ भनेर सोधें
कसैको निरर्थक आलोचना नगर्ने वाचा गर्दै
हामी प्रत्येकले ‘के  दिन सक्छौ ?’ भन्ने
सन्देश निर्माण गरी
प्रसारण गरी दिने संस्थाको खोजीमा हिँडे
धेरै वर्ष अघि
पत्रकारहरूमाथि साङ्घातिक हमला हुँदै गर्दा
पत्रिकाको पानामा सरकार खोज्न मन नलागेको
पक्कै पनि होइन
तर मैले त्यसो गर्न सकिनँ
सरकारको सट्टा
स्वयम्सेवी मित्रहरू खोज्न पुगे
शरीर मेटाउन सके पनि
विचार मेटाउन सक्दैनौं भन्ने सन्देश बोकेको
भिडियो सिर्जनमा जुटे
हिजो एक पटक फेरि
भूकम्पपीडितको तस्बिर देख्दा
सरकारको खोजी गर्न मन नलागेको
पक्कै पनि होइन
तर मनको कुनामा
मस्तसँग सुतेर बसेको
आफ्नो आत्मालाई खोज्न पुगें
आज दराज खोलें, न्यानो लुगा खोजें
अनि समाजसेवी संस्थाको खोजीमा हिँडे
यदाकदा परिस्थितिहरूले मनलाई घच्घच्याउँदा   
वर्षैपिच्छे एउटा हराउने र
अर्को आउने सरकारलाई
खोज्न मन नलाग्ने
पक्कै पनि होइन
तर पनि  
आफ्नो मनभित्र रहेको
चिर एवम् परम सत्तालाई खोज्छु
त्यसपछि म आफै
सानो तिनो सरकार बनी दिन्छु ।
– अभय पाण्डे 
प्रकाशित मितिः   २३ माघ २०७२, शनिबार १०:३४