बउद्यमशीलता विकाससम्बन्धी तालिम

 

दैलेख: उद्यमीहरूलाई उद्यमशीलता विकाससम्बन्धी तालिम दिइएको छ । युएसएआईडी जलजंगल परियोजनाको आयोजनामा प्राकृतिक स्रोतमा आधारित उद्यमीहरूका लागि तीन दिने तालिम प्रदान गरिएको हो ।

दैलेखको राकम बजारमा सम्पन्न भएको तालिममा जिल्लाको भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुन्डाबिद्रासैनी गाउँपालिका, ठाँटीकाँध गाउपालिका र आठबिस नगरपालिकासहित अछाम जिल्लाको रामारोसन गाउँपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका गरी आठ वटा स्थानीय तहबाट उद्यमीहरू सहभागी भएका थिए । जसमा माछा पालन, अल्लो प्रशोधन, माटाका भाडा निमार्ण, बास निगालो, जडिबुटी, पशुपालन, टिमुर खेती, कृषि तथा पशुपंक्षीपालन व्यवसाय, होमस्टे सञ्चालनलगायतका उद्यम गरिरहेका उद्यमीहरू हुन् । तालिममा सहभागी साना तथा मझौला व्यवसायीहरूहरूलाई जैविक विविधता, जलवायु परिवर्तन, सफल उद्यमीका विशेषता, व्यवसाय छनौटलगायतका विषयमा प्रशिक्षण दिइएको छ ।

प्रकृतिमा आधारित उद्यमहरूको पहिचान गरेर उद्यमीहरूको क्षमता विकास गर्न तालिम आयोजना गरिएको युएसएआईडी जलजङ्गल परियोजनाका बरिष्ठ कार्यक्रमअधिकृत विनोदकुमार शाहीले जानकारी दिए । तालिमले उद्यमीहरूलाई वातावरणीय दिगोपनलाई ध्यानमा राखेर प्रकृतिमा आधारित उद्यमहरूको व्यवसाय योजनाको बारेमा बुझ्न मद्दत गर्ने उद्यम विकास अधिकृत मुकेश कुँवरको भनाइ थियो ।

 

 

प्रकाशित मितिः   ६ जेष्ठ २०८१, आईतवार ०५:०१