सुर्खेत गोलीकाण्ड: अर्का आरोपी गिरी पक्राउ

सुर्खेत: वीरेन्द्रनगरमा भएको गोली प्रहार घटनाका अर्का आरोपित पक्राउ परेका छन् । नेपाली काँग्रेसको भातृ संगठन तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न भएको आरोप लागेका सन्तोष गिरी प्रक्राउ परेका हुन् । उनलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीवार भक्तपुरबाट पक्राउ गरिएको हो ।

गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. १ गैरीचोकमा गोली प्रहार भएको थियो । गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका गिरीलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ परेका गिरीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याएर अनुसन्धान भइरहेको छ ।

घटनामा संलग्न अझै एक जना फरार रहेको खड्काले बताए । यसअघि उक्त प्रकरणमा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, सोही ठाउँका भरत भुल, भारतीय नागरिक १९ वर्षीय रोहित राजपूत र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये भारतीय नागरिक रोहित राजपूत सुटरका रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०८१, शनिबार १६:३६