स्वास्थ्य परीक्षण शिविर

सुर्खेत, ११ चैत ।
विद्यालयमा अध्ययनतरत बालबालिकालाई लक्षित गरी एड्भान्स वेटर इङ्गलिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर–३ तातापानी सुर्खेतले एकदिने साधारण स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
डा. सुशील मण्डल नेतृत्वको १६ सदस्यीय स्वास्थ्यकर्मीहरूको समूहले शुक्रवार विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अहेब र डीपीएच किशोर रावल, अहेब डीपीएच केशव आचार्य, सीडीएस अमृता ढुंगाना, डीएच जीवन बञ्जाडे, अहेब ललित थापा, जीवन बस्नेत, राजेन्द्र शाही लगायत कर्णाली मेडिकल हल तथा मध्यपश्चिम डेन्टल केयर होम प्रालि सुर्खेतका स्वास्थ्यकर्मीहरूको सहयोगमा सञ्चालित शिविरमा बालबालिकाहरू बढीभन्दा बढी दन्तरोग सम्बन्धी समस्या भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
बालबालिकाहरूले बढी गुलियो पदार्थहरू र जंक फुडको अधिकतम् प्रयोग गर्ने भएकोले पनि दाँतमा बढी समस्या हुने गरेको सीडीएस अमृता ढुङ्गानाले बताएकी छन् । शिविरमा १८ जना बालबालिकाहरूको टुथ एक्सट्रयाकशन गरिएको छ । बालबालिकामा चेष्ट इनफेक्शन देखिएको डा. मण्डलले बताए । अधिकांश बालबालिकामा भिटामिन ‘बी’ कमप्लेक्सको कमीले जिब्रो र मुखमा ईफेक्शन भएको पाइएको छ ।
शिविरबाट तीन सय विद्यार्थी र करिब ५० जना अभिभावक लाभान्वित भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक यशोदा सिंहले जनाएकी छन् । शिविरमा कर्णाली मेडिकल हल र मध्यपश्चिम डेण्टल केयर होम प्रालि तथा मदरल्याण्ड पुस्तक पसलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको विद्यालयका प्रबन्ध निर्देशक जीवन शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   १२ चैत्र २०७३, शनिबार १४:२४