‘सुरुवातमा एकअर्कालाई नबुझ्दा झगडा हुन्थ्यो’
दवेन्द्र सेजुवाल र कविता केसी एकअर्कोको जीवनमा जोडिएको चार वर्ष पूरा भइसकेको छ । चार वर्षदेखि एकअर्काको सुख र दुःखको साथी बनेर सहयात्रा गरिरहेका उनीहरूको मिलन भने रोचक ढङ्गले भएको थियो ।
देवेन्द्रको ध्यान पूर्ण रूपमा पढाइ र सामाजिक कार्यहरूमा थियो । समाजसेवालाई नै आफ्नो भविष्य ठानेर उनी त्यसैमा तल्लीन थिए । उनी आफ्नो भविष्यबारे सोच्थे तर तत्काल विवाह गर्नेबारे सोचिसकेका थिएनन् । तर परिवारमा भने उनको विवाह गरिदिने कुरा चलिसकेको थियो । दशैंको बेला थियो । दाजु भाउजुको प्रस्ताव अनुसार उनी भाउजुको मामाघर गए । दसैंको छेको पारेर टीका लगाउने निहुँमा देवेन्द्रलाई त्यहाँ लगिएको थियो । तर उनका दाजुभाउजुको मुख्य उद्देश्य भने देवेन्द्रलाई विवाहका लागि केटी देखाउनु थियो ।
उनीहरूले देवेन्द्रलाई उनकै भाउजुको मामाको छोरी देखाउनका लागि सुर्खेतबाट बर्दिया लगेका थिए । तर, सेजुवाललाई आफूलाई दाई भाउजुले केटी हेराउन लगेको हो भन्ने कुरा भने थाहा थिएन । उनी टीका लगाउन दाईको मामा सुसुरालीमा त गए तर, दाई भाउजुको केटी हेराउने धोको पूरा भएन । उनी काम परेर दशैको टीका लगाएरै सुर्खेत फर्किए ।
अर्काे वर्षको दशैंमा भने सेजुवाललाई केटी हेर्न जाउँ भनेर नै उनका दाई भाउजुले बर्दिया लगे । त्यो बेला भने सेजुवालले केटीलाई देखे । उनलाई हेराउन लगेको केटी अरु कोही नभएर कविता थिइन् । उनले प्रत्यक्ष रूपमा कवितालाई देख्नुभन्दा पहिला नै उनलाई फोटोमा देखिसकेका थिए । उनकी भाउजुले उनको कम्युटरमा कविताकोे फोटो राखी दिएकी थिइन् । सेजुवालले कम्युटर खोल्दा वालमा केटीको फोटो देख्दा पहिला त अचम्मित भए । अनि घोरिएर हेरे । उनलाई फोटो देख्ने बित्तिकै कविता मन परिसकेकी थिइन् । आमा र भाउजुसँग फोटो देखेपछि सोधेका थिए यो केटी को हो भनेर । त्यही बेला नै थाहा पाए सेजुवालले आफूलाई थाहै नदिएर केटी हेराउन लगेको कुरा । सबै कुरा थाहा पाइसकेपछि कवितालाई माग्न भनेर उनी कविताको घर गए । तर, कविताको घरपरिवारले आफन्तकोमा राम्रो हुँदैन भनेर छोरी दिने जस्तो कुरा गरेनन् । उनीहरू त्यतिकै फर्किएर आए । सेजुवालले फोटोमा कवितालाई देख्ने बित्तिकै मन पराएका थिए । देवेन्द्रलाई लाग्यो कि अब झन मैले अरु कोही केटीसँग विवाह गर्दिनँ । किनकी छोरी माग्न जाँदा नदिए पछि आफूलाई अपमान गरेको जस्तो महसुस भयो । उनले अर्काे पटक माग्न जाने र नदिएमा भगाएरै भए पनि कवितालाई विवाह गर्ने निर्णय लिएका थिए । दोस्रो पटक माग्न जाँदा पनि कविताका दाईहरू सहमति जनाएनन् । पछि कविताको भाउजुले सम्झाएपछि विवाह गरिदिने कुरा पक्का भयो । सबैको सहमतिमा सेजुवाल र कविताको २०६८ सालमा मग्नी भयो ।
कविताको माइतीमा भने छोरीहरू भागेर विवाह गर्नु हुँदैन भन्ने संस्कार थियो । त्यो संस्कारलाई कविताले पनि कहिल्यै तोड्ने कोशिस गरिनन् । बाबुआमाले जहाँ दिन्छन् त्यही नै विवाह गर्नुपर्छ भन्ने थियो । मग्नी हुनुभन्दा अगाडि भेट भए पनि नजिकबाट एकअर्काेलाई बुझ्न भने पाएका थिएनन् । मग्नीपछि पनि उनीहरू कहिले काहीं मात्र फोनमा कुरा गर्थे, भेट भने भएन । मग्नी पछिको भेट नै विवाह थियो । मग्नीपछि पाँच महिनामा मागी विवाह गरेका उनीहरू एकअर्काेलाई विवाहपछि नै नजिकबाट चिनेका थिए ।
२०६९ सालमा मागी विवाह गरेका यो जोडी विवाहपछि एकआपसमा सुरु–सुरुका दिनमा एकअर्काेको इच्छा नबुझेर कहिले काहीं सामान्य झगडा गर्ने गर्थे । किनकी दुवैले एकअर्काेलाई नजिकबाट बुझेका थिएनन् । एकले अर्काेको भावना कस्तो छ भन्ने कुरा बुझ्न नसक्दा विवाह गरेको सुरु सुरुमा सामान्य झगडा हुने गथ्यो । तर, जब उनीहरू एकअर्काेलाई नजिकको भावना र इच्छा बुझ्न थाले तब झगडा कस्तो हुन्छ भन्ने नै भुल्न थाले । उनीहरू भन्छन्, ‘एकअर्काेको इच्छा बुझ्न नसक्दा नै झगडा हुने रै’छ ।’
पिता धन सेजुवाल र माता झुप्रा सेजुवालको कोखबाट २०४२ सालमा कालिकोटमा जन्मिएका देवेन्द्र सेजुवालको बाल्यकाल सुखद् नै बित्यो । घरका चार भाईहरू मध्येका कान्छा छोरा भएका कारण सबैको माया ममतामा नै उनको बाल्यकाल बित्यो । देवेन्द्र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । क्यापसमा पढ्दादेखि नै एम्नेष्टी नेपालको स्थापना गरी संस्थापक संयोजकको रूपमा काम गरी समाजसेवा सुरु गरेका
थिए । बीबीएस पढ्दा उनले २०६२ सालमा नेविसंघबाट शिक्षा क्याम्पस सुर्खेतमा स्ववियु चुनावमा उपसभापति समेत भएर काम गरेका थिए । सामाजिक काम गर्ने क्रममा उनले वीरेन्द्रनगर जेसिजमा २०१० को अध्यक्ष भएर सुर्खेतमा उनले सुर्खेत महिला जेसिजको स्थापना गरे । निष्क्रिय अवस्थामा रहेको जुनियर जेसिजलाई सक्रिय पनि बनाए । अहिले उनी मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवको रूपमा रहेर काम गरिरहेका छन् ।
पिता कर्णबहादुर केसी र माता इसरा केसीको कोखबाट २०४८ सालमा बर्दियाको सानोश्रीमा जन्मिएकी कविताको बाल्यकाल पनि रमाइलोसँग बित्यो । उनलाई बाल्यकालमा दुःखको अनुभूति कस्तो हुन्छ गर्न पाइनन् । मिलनसार स्वभावकी कविताले कक्षा पाँचसम्म बाल निकेतन बोर्डिङ्ग स्कुलमा पढिन् । पछि संकटकालमा बोर्डिङ्ग स्कुल नै हटाए पनि कक्षा ६ देखि गुँरास उच्च माविबाट कक्षा १२ पास गरिन् ।
दाम्पत्य सम्बन्धमा एकअर्काेको भावना बुझ्न नसके झगडा हुने उनीहरू बताउँछन् । दाम्पत्य सम्बन्धलाई दिगो बनाउन र सफल बनाउनको लागि एकअर्काेबीच विश्वास हुन जरुरी छ । जबसम्म एकअर्काेको इच्छा र भावना बुझ्न सकिदैंन तबसम्म त्यो सम्बन्ध दिगो हुन सक्दैन । सम्बन्धलाई दिगो बनाउनको लागि एकअर्काेबीच कुनै कुरा लुकाउन नहुने उनीहरू बताउँछन् । हरेक काम गर्दा दुवै जनामा सल्लाह गरेर गर्दा र भावी योजना बनाउँदा दुवै जनामा सहकार्य हुनुपर्ने उनीहरूको भनाइ छ ।
यो जोडी एकअर्काेको जन्मदिन र विवाह गरेको वर्षमा गिफ्ट आदान–प्रदान गर्ने गर्छन् । ठूलै पार्टी नगरे पनि घरपरिवारसँग बसेर मिठो खाना सँगै बसेर खाएर रमाइलो गर्ने गर्छन् । सेजुवाललाई कविताको खुला मन, कसैसँग पनि केही कुरा नढाट्ने बानी मनपर्ने गर्छ । उनले भने, ‘मेरो सुखी र प्रगतिको लागि उनले आफ्नो जस्तो सुकै त्याग पनि गर्न सक्छिन् त्यो बानी मनपर्छ ।’ सेजुवाललाई पैसा नआउने समाजसेवामा लाग्न नदिने जीवनसाथी पर्ने हो कि भन्ने डर थियो । तर, उनले सोचे भन्दा राम्रो सहयोग र हौसला दिने जीवनसाथी पाउँदा खुशी भएको सेजुवाल बताउँछन् । त्यस्तै कवितलाई सेजुवालको सबै बानी मन पर्छन् । उनले सेजुवालको अहिलेसम्म हटाउनुपर्ने बानी केही भेटाएकी छैनन् ।
यो जोडीका अनुसार जीवन भनेको भोगाइ हो । जन्मेदेखि मृत्यु हुने बेलासम्मको भोगाइ नै जीवन हो । त्यस्तै जीवनसाथी भनेको त्यही जीवन भोगाइको अन्त्यसम्म साथ दिनसक्ने साथी हो । जीवनको अन्त्यसम्म हरेक दुःख सुखमा साथ दिनसक्ने साथी नै जीवनसाथी हो ।
उनीहरूका अनुसार प्रेम र विवाह उस्तै–उस्तै हुन् । विवाहपछिको प्रेम प्रगाढ हुन्छ तर, प्रेमपछिको विवाहमा त्यति धेरै प्रेम नहुन पनि सक्छ । विवाह पछिको प्रेमले सम्बन्धलाई दिगो बनाउनमा सहयोग पु¥याउँछ । उनीहरू नवदम्पत्ती जोडीलाई एकअर्काेबीचको सम्बन्धलाई दिगो बनाउने विश्वास हुनु सबै भन्दा ठूलो कडी भएकाले एकअर्काेमा विश्वास कायम गर्न सुझाव दिन्छन् । उनीहरू भन्छन्, ‘विश्वास र सिसा एउटै हो जो टुटे पछि जोडिदैंन ।’ त्यसैले सम्बन्धमा पनि त्यो विश्वासलाई सधैं जोगाइ राख्न जरुरी छ ।
साझा बिसौनी संवाददाता ।