सडक निर्माणमा ढिलाइ

मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको काम सम्पन्न गर्न म्याद थप गरिएकोे छ । तोकिएको समयसिमाभित्र धुलियाविट–भेडाबारी खण्डमा काम नसकिएपछि म्याद थप गरिएको हो । २०८१ भदौ १४ गतेसम्मका लागि म्याद थप भएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७८ असार २८ गतेदेखि योजना कार्यान्वयनमा आएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको भएपनि काम सम्पन्न नभएपछि म्याद थपिएको हो ।

धुलियाविट–भेडाबारी ३५ किलोमिटर सडक स्तरोन्नतिका लागि एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा ठेक्का सम्झौता गरिएको छ । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । हालसम्म ६१ करोड ७५ लाख खर्च भएको जनाइएको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । २० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । दश किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको, पाँच किलोमिटरमा वेस निर्माण गरिएको, पाँच किलोमिटरमा सव–वेस निर्माणको काम सम्पन्न भएको राजमार्ग कार्यालयले जनाएको छ । अहिले सडकमा वेस र सव–वेसको काम धमाधम भइरहेको छ । जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता कामहरू सकिएर कालोपत्रे लगायतका काम चलिरहेको छ । असारसम्ममा २५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ । सडक निर्माणमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडक खण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ६० प्रतिशत रहेको छ । ३५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्नेगरी अघि बढेको आयोजनाले जनाएको छ ।

उक्त सडकखण्डमा १२ वटा मोटरेवल पुल निर्माण हुनेछन् । अहिले पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । छुट्टा–छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्टक्सन कम्पनी चितवनले लिएको छ । डिजाइन एण्ड विल्ड ठेक्कामार्फत् सात वटा पुल निर्माण हुनेछन् । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको हो । अधिकांश सडक आयोजनाहरू समयमै सम्पन्न हुँदैनन् । पटक–पटक म्याद थप हुने गरेका छन् । अवधि थप्नेभन्दा पनि समयमै निर्माण कार्य सक्ने अवस्था बनाउन सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   ४ जेष्ठ २०८१, शुक्रबार ११:०६