कृषकमैत्री विकास
सुर्खेत: गुठीचौर–१ डिल्लीकोट कि डुमी कठायतको बारीमा अहिले जौँ र गहुँका बाला लहलह झुलिरहेका छन् । अघिल्ला वर्षहरूमा भिœयाउने बेलाको बाली जोगाउनै मुस्किल पथ्र्यो । गतिलो घेरबार र सुरक्षा नहुँदा आफ्ना लागि लगाएको अन्नबाली पशुबस्तुका लागि हुन्थ्यो । तर अहिले उनलाई पशुबाट बाली जोगाउनुपर्ने चिन्ता छैन । बरु बारी हेरेर प्रफुल्लित हुन्छिन् ।
किसानलाई रैथालेबाली पशुबस्तुबाट जोगाउनै मुस्किल पथ्र्यो । वर्षभरी दुःख गरेर लगाइएको बाली पशुबस्तुले खादा डुमीको आँखाबाट धेरै पटक आँशु खसे । तर, जब वडा सरकारले बृहत् घेरबारको अवधारणा ल्यायो, किसानको ओठमा हर्ष छाएको छ । स्थानीय सरकारले खेतबारी घेरबार कार्यक्रम कार्यान्वयन गरेपछि डुमीजस्तै यहाँका कृषक यतिबेला हर्षित छन् ।
भेडा, चौरी, झोपा, गाई, घोडा र खच्चर बढि पालिने यो क्षेत्रमा खेतियोग्य जमिनका लागि मल प्रशस्तै पुग्थो । तर यिनै पशुबस्तुबाट बाली जोगाउन नसक्दा किसानको खानेबेलाको अन्न नोक्सान हुन्थ्यो । ‘दिनभरी काममा जोतिदा पनि त्यस्तो थकान र दुःख लाग्थेन तर बेलुका घर फर्कदा पशुबस्तुले अन्नबाली नष्ट गरेको कुराले खुब पिरोल्थ्यो, पाकेको बालीलाई हामी थाल माथिको खाना सहर मान्छौँ, तर त्यही अवस्थामा पशुले खाइदिँदा हाम्रो मनमा कालो बादल छाउन्थ्यो’ उनी सम्झिन्छिन् ।
वडाले साढे चार किलोमिटर खेती योग्य जमिन घेरबार गरिदिएपछि खेतिबाली सुरक्षित भएको छ । बृहत् घेरबार पछि किसान भने दंग छन् । मनिगाउँमा एक हजार चार सय मिटर, गुठीगाउँमा एक हजार आठ सय मिटर, डिल्लीकोट गाउँमा एक हजार तीन सय मिटर क्षेत्रफलमा घेरबार गरिएको गुठीचौर–१ का अम्मर बोहोराले बताए । ‘जिल्लाको विकट क्षेत्रमा दुई वर्षभित्र यति ठूलो क्षेत्रफलमा घेराबार बन्छ भन्ने कल्पना पनि थिएन तर वडा सरकारले यो सम्भव गरिदियो, किसान लागि यो निकै राम्रो काम हो’ उनले सुनाए ।
जुम्लाको गुठिचौर गाउँपालिकाको सिरानमा छन्, मनिगाउँ, गडिगाउँ, डिल्लीकोट, चोत्रा र मनिसाँघु । गुठिचौर–१ का यिनै पाँच बस्तीमा वर्षमा एक पटक मात्रै बालि पाक्छ । पशुपालन, जडिबुटी र कृषिले धानेको यो क्षेत्रमा अहिले किसानमैत्री विकास भइरहेको छ । यो वडा जुम्लाको एक मात्र त्यस्तो नमुना वडा हो, जहाँ किसानहरूको साढे चार किलोमिटर खेतीयोग्य जमिन घेरबार गरिएको छ ।
किसानलाई स्याउ, ओखरका विरुवा र बिऊ बिजन बाड्ने निकाय धेरै आए । तर घेरबार विनाका बिरुवा पशुबस्तुले नष्ट गरिदिए । गाउँलेहरू बेलाबखत सल्लो, झुलो, भोजपत्र, धुपीलगायतका विरुवा काटेर छेकबार गर्थे । एकातिर एक वर्षमै काठ कुहिने, अर्कोतिर वनजँगल मासिने हुन्थ्यो । बृहत् घेरबारले वन बचाउन समेत सघाउ पु¥याएको छ । विनाघेरबार रोपिएका स्याउ र ओखरका बिरुवा कहिल्यै हुर्कन पाएनन् । अहिले जुनसुकै फलफूल र अन्नबाली ढुक्कले रोप्न पाएको मणिसाँघुका स्थानीय चिरञ्जिवी अधिकारीले बताए ।
२०७९ को निर्वाचन पछि दुई आर्थिक वर्ष भित्रै बृहत् घेराबारको आधार तयार गरिएको हो । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा निम्न आय भएका नागरिकको बास, गास र कपासको सुनिश्चितता गर्ने उद्देश्य अनुरूप काम भइरहेको छ । आम किसानलाई लाभ मिल्नेगरी खेतीयोग्य जमिन यति ठूलो क्षेत्रफलमा घेराबार गरिएको हो । श्रमदानसहित झन्डै एक करोड लागतमा साढे चार किलो मिटर जमिन घेराबार भएको गुठिचौर गाउँपालिका वडा नम्बर १ अध्यक्ष अर्जुन कुमार महताराले जानकारी दिए । ‘जुम्लामा बिरुवा र बिऊबिजन बाड्ने मात्रै भइरहेको छ, बिरुवा त किसानले आफै किन्न सक्छन्, घेराबार नगर्दा अरु प्रयासको खास्सै अर्थ छैन, अब साच्चिकै किसानको हितमा हुने काम गर्नुपर्छ भन्ने सोचेर बृहत् घेराबारलाई अघि सारियो’ वडा अध्यक्ष महताराले भने ।
प्रकाशित मितिः ४ जेष्ठ २०८१, शुक्रबार ११:०५
मानबहादुर कुँवर ।