मुख्यमन्त्रीले आफैसँग राखे कृषि मन्त्रालय
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले थप दुई वटा मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफूसँग राखेका उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि आफैसँग राखेका हुन् ।
कृषिमन्त्रीमा सिफारिस गरिएका विनोदकुमार शाहले शपथ ग्रहण गर्न अस्वीकार गरेपछि उक्त मन्त्रालय कँडेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै राखेका छन् । संविधानको धारा १६८ को उपधारा (९) अनुसार प्रदेश प्रमुख तिलक परियारले मन्त्रीपरिषद्को जिम्मेवार हेरफेर गरेका छन् । जसअनुसार मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने छन् । त्यसबाहेक अन्य मन्त्री र मन्त्रालय भने यथावत छन् ।
एमालेभित्रको आन्तरिक विवादका कारण पूर्वमन्त्रीसमेत रहेका एमाले प्रदेशसभा सदस्य शाहले शपथ ग्रहण बहिष्कार गरेका थिए । उनले आफूले चाहेका मन्त्रालय नपाएपछि कृषिमन्त्री हुन अस्वीकार गरेका हुन् । शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मागेका थिए । तर मुख्यमन्त्री एमव् एमाले संसदीय दलका नेता कँडेलले भौतिकमा शेरबहादुर बुढालाई सिफारिस गरेर आफूलाई कृषिमा पठाएपछि शाह रिसिएका थिए । त्यसपछि उनी शपथ लिन गएनन् ।
तत्कालका लागि मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका छन् । केही समयपछि आन्तरिक विवाद मिलाएर नयाँ मन्त्री सिफारिस गर्ने बुझिएको छ । अहिले सरकारमा मुख्यमन्त्रीसहित एमालेबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने अर्को सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) बाट चार मन्त्री छन् ।
प्रकाशित मितिः ३ जेष्ठ २०८१, बिहीबार १३:४६
साझा बिसौनी ।