धुलियाविट–भेडाबारी खण्डमा म्याद थप
सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको काम सम्पन्न गर्न म्याद थप गरिएकोे छ । तोकिएको समयसिमाभित्र धुलियाविट–भेडाबारी खण्डमा काम नसकिएपछि म्याद थप गरिएको हो ।
२०८१ भदौ १४ गतेसम्मका लागि म्याद थप भएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७८ असार २८ गतेदेखि योजना कार्यान्वयनमा आएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको भएपनि काम सम्पन्न नभएपछि म्याद थपिएको हो ।
धुलियाविट–भेडाबारी ३५ किलोमिटर सडक स्तरोन्नतिका लागि एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा ठेक्का सम्झौता गरिएको छ । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । हालसम्म ६१ करोड ७५ लाख खर्च भएको जनाइएको छ । अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । २० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । दश किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको, पाँच किलोमिटरमा वेस निर्माण गरिएको, पाँच किलोमिटरमा सव–वेस निर्माणको काम सम्पन्न भएको राजमार्ग कार्यालयले जनाएको छ ।
अहिले सडकमा वेस र सव–वेसको काम धमाधम भइरहेको जनाइएको छ । जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता कामहरू सकिएर कालोपत्रे लगायतका काम गर्न मेशिनरी उपकरण प्रयोग गरिरहेको कार्यालयका इन्जिनियर हरिजनले बताए । असारसम्ममा २५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
६५ प्रतिशत भौतिक प्रगति
सडक निर्माणमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडक खण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ६० प्रतिशत रहेको छ । ३५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्नेगरी अघि बढेको आयोजनाले जनाएको छ ।
दुई वटा ठेक्कामार्फत पुल निर्माणको काम
उक्त सडकखण्डमा १२ वटा मोटरेवल पुल निर्माण हुनेछन् । अहिले पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । छुट्टा–छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्टक्सन कम्पनी चितवनले लिएको छ । डिजाइन एण्ड विल्ड ठेक्कामार्फत् सात वटा पुल निर्माण हुनेछन् । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको हो । २०७८ फागुन १५ गते ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।
सात वटा पुल निर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्ल्ेख छ । सात वटामध्ये पाँच वटा पुलको स्टक्चरको काम सकिएको छ । अर्को ठेक्कामार्फत पाँच वटा पुल निर्माणको काम धमाधम भइरहेको छ । के.एस कन्टक्सन कम्पनी धनगडी, कैलालीले उक्त पुल निर्माणको काम गरिरहेको छ । २०७८ फागुन १५ गतेदेखि २०८१ भदौ १४ गतेसम्म पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । पाँच वटा पुल निर्माणको ६५ प्रतिशत भौतिक प्रगति भएको । १३ करोड ७९ लाखमा ठेक्का सम्झौता गरिएको हो ।
रुख कटानको काम अन्तिम चरणमा
आयोजनाभित्र पर्ने रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । सुर्खेत र गुर्भाकोट खण्डमा रुख कटानको काम सकिएको छ । लेकवेशी खण्डमा रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रमा रुख कटानको काम सकिने आयोजनाले जनाएको छ । अहिले बाँकी क्षेत्रमा रुख कटानको काम भइरहेको छ ।
समयमै काम सक्न मुख्यमन्त्रीको निर्देशन
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मदन भण्डारी राजमार्गअन्तर्गत धुलियाविट–भेडाबारी खण्डमा भइरहेको कामबारे जानकारी लिएका छन् । केही दिनअघि कार्यालयका कर्मचारीलाई मन्त्रालयमै बोलाएर उनले तोकिएकै समयसिमाभित्र काम सक्न दिर्नेशन दिएका हुन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाइरहेको उनको भनाइ छ । ‘म्याद थपिएकै मितिमा काम गर्नुपर्छ, नागरिकले धेरै नै सास्ती पाइरहेका छन्, निर्माणमा बाधा नहुँदा पनि किन काममा ढिलाइ भयो,’ उनले भने, ‘असारे विकास गर्ने परिपार्टी अन्त्य हुनुप¥यो ।’
साझा बिसौनी ।