अस्थिरताको असर
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते वार्षिक बजेट ल्याइसक्नुपर्ने हुन्छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्ने समय आउन करिब एक महिना मात्र बाँकी छ । तर अहिलेसम्म कर्णाली प्रदेश सरकारले नयाँ बजेट निर्माणको प्रक्रिया सुरु समेत गरेको छैन । कतिसम्म भने मन्त्रालयहरूले नयाँ बजेटको सिलिङ (सिमा) समेत पाएका छैनन् । अघिल्ला वर्षहरूमा आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयहरूलाई वार्षिक बजेटको सिमा निर्धारण गरेर पठाइसकेको हुन्थ्यो । सोहीअनुसार विषयगत मन्त्रालयहरूले बजेट तर्जुमा गर्ने गर्दथे । यो वर्ष भने वैशाख अन्तिमसम्म पनि बजेट सिलिङ नै तयार भएको छैन ।
त्यसो त मन्त्रालय लामोसमयसम्म मन्त्रीविहीन बन्यो । गत फागुन २२ गतेदेखि मन्त्रीविहीन भएको मन्त्रालयले वैशाख १८ गते मात्र नयाँ मन्त्री पाएको हो । नयाँ मन्त्री नियुक्त भएपनि बजेट तर्जुमाको काम भने अघि बढेको छैन । झण्डै दुई महिना मन्त्रीविहीन भएको मन्त्रालय पछिल्लो करिब एक महिना सचिवविहीन हुन पुग्यो । २०८० मंसिर २१ गते अर्थ सचिव भएर आएका रमेश न्यौपाने चैत ४ गते सरुवा भए । त्यसयता अर्थ मन्त्रालय एक महिना सचिवविहीन थियो । यो बिचमा मन्त्री र सचिव नै नहुँदा बजेट सिलिङ बनाउनै ढिला भएको हो । नयाँ सचिवको रूपमा बिहीवार मात्रै विष्णुप्रसाद पौडेल हाजिर भएका छन् । उनी आएसँगै अब बजेट निर्माणको प्रक्रिया सुरु गरिएको जनाइएको छ । प्रदेशका मन्त्रालयहरूमा बजेट सिलिङ पठाउने तयारी भइरहेको छ । यसअघि अर्थमन्त्री बनेका वेदराज सिंहले गत फागुन २२ गते राजीनामा दिएका थिए भने वैशाख १८ गते मात्र नयाँ अर्थमन्त्रीको रूपमा महेन्द्र केसी नियुक्त भएका छन् ।
सरकार परिवर्तनको असर बजेट निर्माण प्रक्रियासहित योजना कार्यान्वयनसम्म परेको छ । बजेट र महत्वपूर्ण कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र प्रशासनिक काममा बाधा पुगेको छ । प्रदेशको आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनलाई प्राथामिकता दिने सरकारको नीति तथा कार्यक्रम कागजमै सीमित छ । राजनैतिक स्थायित्व नहुँदा सुरुवातदेखि नै प्रदेश सरकार अपेक्षितरूपमा सफल हुन सकेको छैन । दोस्रो कार्यकालमा पनि त्यही श्रृंखलाले निरन्तरता पाएको छ । यसले एकातिर अघिल्लो सरकारले ल्याएका योजना कार्यान्वयनमा समस्या देखिएको छ भने अर्कोतर्फ आगामी बजेट निर्माण प्रक्रियामा ढिलाइ भइरहेको छ ।
प्रकाशित मितिः ३१ बैशाख २०८१, सोमबार १३:०४
सम्पादकीय ।