विद्युत विस्तारमा मुख्यमन्त्रीको चासो

सुर्खेत: अवरुद्ध विकास निर्माणका आयोजना अघि बढाउन मुख्यमन्त्री यामलाल कँडेलले विशेष चासो दिएका छन् । केही दिन अघि मात्र मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम क्षेत्रमा भइरहेको कामको बारेमा सरोकारवालासँग छलफल गरे ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिएका कँडेलले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानको पहल गरेका छन् ।

आएतवार आयोजना प्रतिनिधिहरूलाई मन्त्रालयमै बोलाएर छलफल गरेका हुन् । छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्याबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराए । संघ सरकारको मातहतमा रहेको सो प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय आवश्यक रहेको प्रमुख चौधरीको भनाइ छ । विवाद समाधान नहुँदा काम अघि बढ्न नसकेको उनले जनाए ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको तर्फबाट सहयोग र थप पहल हुने जनाए । कर्णालीका लागि विद्युत विस्तार अपरिहार्य भएको भन्दै उनले अवरोध हटाउनेतर्फ ध्यान दिन आयोजनालाई आग्रह गरे ।

अहिले कोहलपु–सुर्खेत ३३ केभी प्रशारण लाइन छ । यसलाई विस्तार गरेर एक सय ३२ केभी बनाउन लागिएको हो । तर विभिन्न विवादका कारण आयोजनाको काममा ढिलाइ भइरहेको छ ।

प्रकाशित मितिः   ३१ बैशाख २०८१, सोमबार १३:०३