पढ्नबाट वञ्चित बालुवाटारका विद्यार्थी

प्राथमिक तहमै छोड्छन् विद्यालय

सुर्खेत: वीरेन्द्रनगर–११ बालुवाटारकी ४२ वर्षीया बुद्धिसरा बैगारका पाँच छोरी र दुई छोरा गरी सात सन्तान छन् । उनीहरूमध्ये कसैले पनि माध्यमिक तहसम्मको पढाइ पूरा गरेका छैनन् । शिव माध्यमिक विद्यालय धुलियाविटबाट आधारभूत तहसम्म पढेका बुद्धिसराका सन्तानले त्यसपछि पढाइ नै छोडे । सबै छोरीहरूको विवाह भइसकेको छ भने दुई वटा छोरा रोजगारीका लागि भारत गएका छन् ।

बालुवाटारमा अहिले २७ घरधुरी बसोबास गर्छन् । यहाँ बसोबास गर्ने अधिकांश बादी समुदायका विद्यार्थीहरू प्राथमिक तहमै पढाइ छोड्ने गरेको पाइएको छ । बालिकाहरूको विवाह गरिदिने र बालकहरू कम उमेरमै रोजगारीका लागि विदेशिने गरेका छन् । पढाइ छोडेर ज्यालामजदुरीका लागि भारत जाने गरेका छन् । गरिबीका कारण पढाइ पूरा गर्न समस्या हुने गरेको स्थानीय रत्ना बादीले बताइन् । ‘घरखर्च टार्नकै लागि मजदुरी गर्न भारतमा जानुपर्ने बाध्यता छ । रोजगारी पाइदैन । खोलामा गिट्टी बालुवा संकलन गर्ने काम पनि ठप्प छ’ उनले भनिन् ।

सोही बस्तीकी टिका गन्धर्वले आर्थिक अभावका कारण आफ्ना छोराछोरी शिक्षाबाट वञ्चित भइरहेको बताइन् । ‘दिनभर खेलामा खेलेर बस्छन्,’ उनले भनिन्, ‘हाम्रो आयश्रोत केही छैन । कसरी पढाउनु ?’ उनका पाँच छोराछोरीले पनि उच्च शिक्षा हासिल गरेका छैनन् । दशकौंदेखि बस्दै जमिनसमेत आफ्नो नाममा नहुँदा आधारभूत सेवा लिनबाट पनि वञ्चित भइरहेको उनको भनाइ छ ।

बालुवाटारका २७ परिवार बादी समुदायलाई एउटैखाले समस्या रहेको छ । दिनभर ज्याला मजदुरी गरेपनि बेलुकाको खाना जुटाउन नै समस्या हुने गरेको बस्तीकै हिरा बैगारले बताइन्् । ‘चार छोरी, तीन छोरा छन् तर कसैलाई पढाएको छैन,’ उनले भनिन्, ‘रोजगारी छैन, खानै पुग्दैन अनि कसरी पढाउनु ?’ पढ्न थालेका बालबालिका पनि बीचमै पढाइ छोड्न बाध्य भएको बैगारले बताइन् । ‘खर्च नपुगेर बीचमै पढाइ छोड्नुपरेको छ,’ उनले थपिन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षाको पढाइबाट बालबालिका वञ्चित हुनुपरिरहेको छ । केही संघसंस्थाले पढाइमा सहयोग गर्ने आश्वासन दिएपनि त्यसलाई पूरा गर्न नसकेको बादी समुदायको गुनासो छ ।

बालुवाटार बस्तिनजिक विद्यालय छैन । जंगलको बाटो भएर धुलियाविटको शिव माध्यमिक विद्यालयमा पुग्नुपर्छ । दैनिक एक घण्टा विद्यालय आउ–जाउमै लाग्छ । टाढा भएकै कारण यो बस्तीका अधिकांश बालबालिका नियमित विद्यालय जाँदैनन् । बालुवाटारकी रमिला नेपाली विद्यालय जानै निकै कठिन हुने बताउँछिन् । ‘हामीलाई विद्यालय जानै समस्या छ । असुरक्षा हुन्छ,’ नेपालीले भनिन्, ‘जंगलको बाटो हिँड्नु पर्छ । धेरैजसो साथीहरू त्यही भएर पनि पढ्न जाँदैनन् ।’

यो बस्तीमा पाँचदेखि आठ कक्षा नपुग्दै विद्यालय छोड्ने बालबालिका धेरै छन् । आर्थिक अवस्था र विद्यालय नजिक नहँुदा बालबालिकाले विद्यालय छोड्ने गरेको अभिभावकहरू बताउँछन् । रमिलाका अनुसार बस्तीका धेरैजसो युवाहरू रोजगारीको लागि भारत जान्छन् । यो बस्तीमा बाहविवाह पनि धेरै नै हुनेगरेको छ । आर्थिक अवस्था कमजोर हुनु, परिवारकै भूमिका बलियो नहुनु, सचेतनाको कमीलगायतले बीचमै पढाइ छोडने दर बढेको शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले बताए ।

 

जग्गाधनी पुर्जा नहुँदा समस्या

वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाविट चोकबाट उत्तर–पूर्वको ओरालो गोरेटो लागेपछि झन्डै आधा घण्टामा बालुवाटार पुगिन्छ । घना जंगल छेउ र खोलाको किनारमा बालुवाटार बस्ती छ । जहाँ ९८ प्रतिशत दलित (गन्धर्व र अन्य दलित) जातिको बसोबास छ । बालुवाटारका बासिन्दासँग खेती गर्नलाई थोरै जग्गा छ, बस्नलाई स–साना टहरा छन् । तर त्यो उनीहरूको होइन, किन कि घर जग्गा आफ्नो भएको प्रमाण (लालपुर्जा) उनीहरूसँग छैन । बस्तीकी शान्ति रोकाय भन्छिन्, ‘हाम्रो मुख्य समस्या यही हो, पुर्खाैंदेखि भोगचलन गर्दै आएको जमिन हाम्रो नाममा छैन । हामीलाई सरकारले कहिलेसम्म सुकुमबासी नै बनाइराख्ने हो खै ?’

करिब एक बिगाहा क्षेत्रफलमा २७ घर अटाएका छन् । एक सय ५० जनसंख्या छ । ४१ वर्षदेखि यो बस्ती यसरी नै कोचिएको छ । तर वर्षाैंदेखि पसिना बगाएर खोस्रिएको ठाउँ आफ्नो नाममा छैन । जग्गाको स्वामित्व आफ्नो होला कि भन्ने आशमा यसै बस्तीकी रोकायले दुई दशक बिताइन् । वि.सं. २०३९ सालदेखि बालुवाटार बस्दै आएकी उनी भन्छिन्, ‘आश भने अझैं मरेको छैन ।’ उनी बालुवाटार बस्न थालेदेखि भूमिहीनलाई जग्गा उपलब्ध गराउन भन्दै पटक–पटक भूमि आयोग र समितिहरू बने । तर लालपुर्जा हातमा परेन ।

प्रकाशित मितिः   ३१ बैशाख २०८१, सोमबार १३:०१