रावल र भण्डारी बने हाफ म्याराथन च्याम्पियन
सुर्खेत: कर्णाली हाफ म्याराथनको उपाधि नेपाल आर्मीका नरेन्द्र रावल तथा सशस्त्र प्रहरी बल (एपिएफ)का पुष्पा भण्डारीले जितेका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ रावल र महिलातर्फ भण्डारीले उपाधि हात पारेका हुन् ।
पुरुषतर्फको प्रतिस्पर्धामा नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र श्रीकेश राई तेस्रो भए भने एपीएफका राजन चौधरी चौथो भए । त्यसैगरी महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो हुँदा जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भइन् ।
विजेताहरूलाई नगद ५५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस्तै, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई समान २० हजार रूपैयाँ नगदले पुरस्कृत गरिएको छ । विजेता खेलाडीलाई मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकाल, खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल, उपाध्यक्ष प्रमोद हमाल, विश्व विजेता धावक हरिबहादुर रोकाया, म्याराथनका संयोजक देवकुमार सुवेदीले नगद तथा प्रमाणपत्रका साथै ट्रफी हस्तान्तरण गरे ।
रेस नेपालको आयोजना एवम् क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा प्रथम कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो । आयोजकका अनुसार म्याराथनमा एक हजारभन्दा बढी सहभागी भएका थिए । रेस नेपालका अध्यक्ष टीएस ठकुरीले दौड संस्कृतिको विकास गर्न भन्दै कर्णाली हाफ म्याराथनको सुरुवात गरिएको बताए । उनले आगामी वर्षहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिइने जनाए ।
प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार ०५:०१
साझा बिसौनी ।