स्वार्थले विषाक्त राजनीति
‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ । अनेक गर्ने भित्र हिजो–अस्तिका घटना पनि छन्’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २७ गते जनता समाजवादी पार्टी नेपाल फुटाली दिएको संकेत सार्वजनिक रूपमा निसंकोच सुनाएर आफ्नो कृत्यको बखान गरिरहेका थिए ।
केहीदिन पहिलादेखि सरकार परिवर्तन हुने हल्ला सतहमा आएको थियो । कांग्रेसका नेता शेखर कोइराला एमाले अध्यक्ष केपी ओलीलाई भेट्न घरीघरी बालकोट धाएको खबर आइरहँदा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको महत्वाकांक्षा पेटमा नअटाएर बाहिर पोखिन थालेको थियो । ‘यहाँ म प्रधानमन्त्री हुन्छ भन्ने कुराले कसैलाई पोलिरहेको छ । त्यस्तालाई पोलिदियोस् दन्दनी, म धिक्कार भन्न चाहान्छु’ नेपालको यस्तो अभिव्यक्तिले त्यही कुरा पुष्टि गरिरहेको थियो ।
माधवलाई पछिल्लो समीकरणले तत्कालै प्रधानमन्त्रीको प्रस्ताव कतै गरेको थिएन, भनौं तमसुकको सर्त बमोजिम प्रधानमन्त्री हुने पालो उनको अलि टाढै थियो । ओलीसँग पनि उनको सम्बन्ध दिनप्रतिदिन चिसिँदै गइरहेको थियो्, त्यस्तो अवस्थामा उनलाई कसले प्रधानमन्त्रीको हावा भरिरहेको छ भनी चुरो कुरो बुझ्न कुनै कठिनाइ थिएन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालामार्फत् उता ओलीलाई अलमल्याउने र यता जाल हानेर अभिष्ट पूरा गर्न खोजेको प्रष्ट देखिन्थ्यो ।
एकीकृत समाजवादीका माधव नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पालैपालो प्रधानमन्त्री पद बाँडिएको थियो भन्ने समाचार मिडियामा छरपस्ट भइसकेका थिए । यहाँ जसपाको १२ सांसदमध्ये असन्तुष्ट अशोक राईसमेत सात जनाले २३ गते पार्टी विभाजन गरे । २४ गते नै निर्वाचन आयोगले नयाँ पार्टीलाई मान्यता दियो । लाज छोप्नका लागि उपेन्द्रले पत्रकार सम्मेलन गरे पनि प्रधानमन्त्री पदमा लोभिएको कुरालाई पुष्टि गर्ने केही आधार तथ्यले देखाइरहेका छन् । सत्ता राजनीतिले पार्टी फुटालिदियो भनी धारे हात लगाउनु, अर्कोतिर विदेशबाट फर्की आएर झोला बिसाउन नपाउँदै खाइपाइ आएको जागिर बचाइ पाउँ प्रभु भनी बालुवाटारमा शरणागत हुनु । निर्वाचन आयोगले सत्ताको प्रभावमा परेर रातारात फुटेको दल दर्ता गरिदियो भनी आरोप लगाउनु, निर्वाचनका विरुद्ध अदालत जाने धमास दिनु, फेरि बालुवाटार कन्फ्युजमा पो परेको रहेछ भनी प्रधानमन्त्रीको बचाउ गर्नु । लाज–सरम पचाएर सत्तामा झुन्डिनु । नैतिकता भए तुरुन्त राजीनामा दिएर विद्रोह गर्नुपर्ने हो, खोइ त तागत ? यस्ता क्रियाकलापहरूले सत्यतथ्यलाई छर्लङ्ग परिरहेका छन् ।
अब सत्ता समीकरणलाई उथलपुथल पार्ने गणितको खेलाबारे केही चर्चा गरौँ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट एक सय ६५ र समानुपातिकबाट एक सय १० गरि दुई सय ७५ जना सांसद संख्या हुने व्यवस्था संविधानले गरेको छ । बहुमत सांसद संख्या अर्थात अनिवार्य एक सय ३८ जना सांसदको विश्वासको मत पाएपछि प्रतिनिधिसभाको कुनै कोही सांसदले सरकारको नेतृत्व गर्दछ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पछिल्लो समीकरणमा एक सय ५७ जनाको विश्वासको मत प्राप्त गरेका थिए । यही विश्वासको मतलाई गडबड पारेर सत्ता समीकरण भत्काउने भित्री खेल भित्रभित्रै भैरहेको बुझिन्छ ।
घनीभूत स्वार्थ जोडेर हिजो दाहाललाई विश्वासको मत दिएका जसपाको सांसद संख्या १२ र एकीकृत समाजवादको सांसद संख्या १० गरि २२ जनाले विश्वासको मत झिकिदिने बित्तिकै प्रचण्ड सरकार गल्र्यामगुर्लुम हुन्छ । सरकार ढालेर पालैपालो प्रधानमन्त्री हुन पाइने अवसर किन फुत्काउनु ! पुलकित भइ स्वार्थान्धमा दौडनेहरूले राप्रपाको भनाइ के छ सोधेनन्, अरु क–कसले विश्वासको मत दिन्छन् त्यो पनि खोजी गरेनन् । मत परिणामको हिसाबले छैटौं स्थानमा र राष्ट्रिय पार्टीको मान्यता पनि गुमाएको सातौं स्थानको पार्टी सरदारहरू कल्पनाको त्यो प्रधानमन्त्री पदमा यति आसक्त भए कि कसैले जिब्रो सम्हाल्न सकेनन्, कसैले होश पु¥याउन पनि भ्याएनन् ।
निर्वाचन परिणाममा कुनै पनि पार्टीले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको र आन्तरिक सहमति बमोजिम दाहाललाई देउवाले पहिलो कार्यकालको लागि प्रधानमन्त्री बनाउन आनाकानी गर्दै निर्धारित समय घर्काउन खोजेको अवस्था थियो । प्रधानमन्त्री पदका लागि सिद्धान्त, आदर्श, नैतिकता सबै पोलेर खरानी पार्दै २०७९ पुस १० गते दाहाल बालकोटको दैलामा गएर शरण परेको कुरा यति छिट्टै कसैले भुलेका छैनन् सायद । त्यतिखेर संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्री बन्न सफल भएका हुन् । करिब डेढ वर्षको अन्तरालमा मनोगत स्वार्थले पटकपटक समीकरण बदलिए पनि सरकार कायमै रहेकोे छ । यो सरकार ढालेपछि अर्को नयाँ सरकार यस्तै विधि पद्धतिबाट बन्न सकेन भने देउवाले खोजेजस्तै प्रक्रिया स्वतः उपधारा(३) मा पुग्छ । दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार बन्न नसके सबैभन्दा बढी सदस्य भएको दलको संसदीय नेताको हैसियतले देउवाकै हातमा सरकारको नेतृत्व जाने पक्का हुन्छ । कतै देउवाले भित्री सारमा त्यही परिपाटीको निर्माण गरिरहेका त होइनन् भन्ने सोझो शंका नजाने कुरै रहेन ।
‘तित्राको मुखै वैरी’ भन्ने एउटा उखान छ । सिकारी लुक्दै छिप्दै दबिदै अगाडि बढ्दा छेउछाउमा नजिकै तित्रो चिच्याइदिन्छ तिनतारातित्रिक् । कोही नजिक आएको चाल नपाइ अनायासै बासिदिँदा सिकारीको निसानामा पर्न जान्छ । त्यस्तै कल्पनाको प्रधानमन्त्री पदमा उम्लेर त्यति उत्ताउलो हुँदै कसैलाई कटाक्ष नगरेको भए मनको गुलियो छिट्टै भर्सेलामा पर्ने थिएन कि, निहुरमुण्टी लगाउँदै बाध्यताले टाङमुनी पुच्छर घुसार्न पनि पर्दैनथ्यो कि ! कल्पनाश्रीतहरूका लागि सहमति जुटाउनमा भाँजो हालेर वा विश्वासको मत रोकिदिएर देउवाले नै आफ्नो अनुकूल धन्दा नगर्ने भन्ने प्रत्याभूत पनि केही थिएन होला । देउवाको हातमा सत्ता गैसकेपछि समीकरणको अन्य विकल्प समाप्त हुन्छ । देउवालाई विश्वासको मत नदिनु भनेको पनि देशलाई मध्यावधि निर्वाचनमा धकेल्नु हो । सायद यो रहस्य बुझेर होला बालुवाटार र बालकोटले मतो गरेर खुंडा उचाले कोही पार्टीको मुडधड अलगअलग पारिदिए । ना रहे बाँस ना बजे बाँसुरी !
आदर्श सिद्धान्त र नैतिकताले खान लाउन दिने होइन, चुनावका बेला भाषणमा मिसाउन बाहेक त्यो त्यति काम लाग्ने पनि होइन । बरु चारदिन मात्रै प्रधानमन्त्रीको कुर्सीमा बस्ने मौका भाग्यले दियो भने इतिहास रहन्छ । यस्तो मोहजालमा परेर विदेशबाटै प्रधानमन्त्रीको सपना देखेका यादव पार्टी टुक्रिन लागेको खबर सुनेपछि हस्याङफस्याङ आत्तिदै आए । यता पार्टी फुटेर दर्ताको लागि निर्वाचनमा गैसकेको थियो, उनले रोक्न–थाम्न पनि भ्याएनन् । लोभले लाभ, लाभले विलाप भने झैं भयो । प्रतिनिधि सभाको दोस्रो निर्वाचनमा यिनले नराम्रो हार व्यहोर्नुप¥यो, तर धैर्यताका साथ पार्टी उकास्ने फैलाउने र बढाउनेतिर यिनको पटक्कै मन गएन । मनोगत स्वार्थसिद्ध गर्न यिनले समीकरण मात्रै फेरेनन् आफ्नो लागि ठाउँ खाली गर्न जसपाका एकजना सांसदलाई उपराष्ट्रपति बनाउनमा न्वारानदेखिको बल झिकेर उपराष्ट्रपतिको पदमा थन्काइदिए । अनेक राँटा चलाउँदै सत्ता भोग गर्न रिक्त पदबाट निर्वाचित भइ प्रतिनिधिसभामा छिरे । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भन्दा तल्लो पोट्र्फोलियोको उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेर सिंहदरबार पस्न यिनलाई पटक्कै हिनताबोध भएन । लामिछाने राजनीतिमा आउनुभन्दा धेरै अगाडि उपप्रधानमन्त्री भइसकेको व्यक्तिले त्यो पदमा पार्टीकै सिनियर अर्को सांसदलाई सिफारिस गर्नुपर्नेमा आफ्नै टाउको छिराउन जाँदा मौका नपाउनेले किन चित्त बुझाउँछ ? सबै मौका र अवसर आफ्नै भागमा मात्र खन्याउने हो भने असन्तुष्टी त झनझन चुलिदै पो जान्छ । सत्ताले पार्टी फुटालिदियो भनेर रोइलो पनि गरिरहने राजीनामा गरेर पद त्याग्न पनि नसक्ने कस्तो विडम्बना ! पार्टी फुटेको ठूलो घाउ छँदै थियो, त्यसैमा पहिचानको भाउँतो झिक्नेहरूले मौका छोपी त्यही फुटेको पार्टी फेरि भत्काएर नयाँ चोट थपिदिए । आलो घाउमा चोट लाग्दा उपचार केही छैन थला परि बस्नुको विकल्प पनि देखिएन । आज त्यो स्वार्थको परिणामले पार्टी विभाजनको ठूलो पीडा भोग्न अभिशप्त छन उपेन्द्र यादव ।
स्वार्थ नमिलेका कारण गठबन्धनलाई तीखो आलोचना गर्दै आएका माधव नेपाल, जसपाको दुर्दशा देखेपछि एकाएक आत्तिए । २४ गते नै आकस्मिक बैठक डाकेर प्रधानमन्त्री बन्ने हल्ला मत्थर पार्दै यही सरकारलाई समर्थन गरिरहेको सन्देश दिन पनि भ्याए । माधवको पार्टीबाट एक–एक जना सांसद बाइबाइ कमरेड भन्दै हात हल्लाएर पुरानै घरमा फर्कन थाले भने उनको बाँक बस्छ । बल प्रयोग गरेर रोक्न छेक्न सकिदैन, नियमले पनि मिल्दैन किन कि पार्टीले राष्ट्रिय मान्यता पाउनै जो सकेन । भोलि पार्टी रित्तियो भने माधवले कहाँ गएर कसलाई मुख देखाउनु ! क्षमापूजा गर्न हो कि बिन्ती बिसाएर सम्बन्ध मजबुत पार्नका लागि हो उनी २७ गते नै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्न भ्याए ।
पार्टीका सरदारले यदि स्वेच्छाचारी रूपमा संगठन चलाउने र मनोमानी ढंगको कार्यशैली बढाउँदै जाने हो भने, त्यहाँ गुटको खेती उम्रन्छ । गुट बलियो हुँदै जाँदा फुटको स्थिति आउँछ, फुटले विभाजन ल्याउँछ । नेपाली राजनीतिमा यस्तो विभाजन देश र जनताका लागि होइन,सत्ताका लागि मात्रै हुने गरेको छ । राजनीतिमा दुई वा बढीमा तीन भन्दा धेरै मौसमी र खुद्रा पार्टीहरू क्रियाशील हुनु देशको लागि अभिशाप मात्रै होईन, बोझ पनि हो । हामीलाई अनुभवले त्यही देखाएको छ । ठूला पार्टीका हैकमवादी नेताहरूले यसलाई प्रश्रय दिइरहेका छन् । हैकम लादेर देश खानेहरूलाई ठेगान लगाउन आवश्यक छ । आदर्श, सिद्धान्त, नैतिकता, विकास र प्रविधिका जतिसुकै गफ छाँटे पनि, जनतालाई भ्रमजालमा पार्न सिङ पुच्छर जोडेर गजबको घोषणापत्र बनाए पनि सत्ताका लागि मरिहत्ते गर्ने खुद्रा पार्टीले राजनीतिलाई विषम पारिरहेका छन् । विषाक्त यस्ता पार्टीलाई पहिचान गरी निर्वाचनमा जनताले किनारा लगाउन पनि जरुरी छ ।
-उमालाल आचार्य
प्रकाशित मितिः ३० बैशाख २०८१, आईतवार ०५:०४
उमालाल आचार्य ।