वैज्ञानिक वन व्यवस्थापनको परिणामः आम्दानी बढ्यो, जंगल जोगियो

(लेखफर्सा) सुर्खेत, ९ चैत ।
सरकारले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा लागू गरेपछि सुर्खेतमा यो प्रयास सफल हुँदै गएको छ । अहिले जिल्लाका विभिन्न १३ वटा सामुदायिक वनमा यो अभ्यास गरिएको छ । वैज्ञानिक वन व्यवस्थान लागू भएसँगै सामुदायिक वनको कोषमा आम्दानी बढ्दै गएको छ भने वनको संरक्षण पनि पहिलाको भन्दा सवल हुँदै गएको हो ।
दुई वर्षदेखि परीक्षणको रूपमा जिल्लाका केही सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भइरहेको छ । यसमा उपभोक्ताले वन संरक्षणसँगै त्यसको सदुपयोग समेत गर्ने गरेका छन् । यसमा वनमा खेर जाने पूराना, थोत्रा र कमजोर रुखलाई कटान गर्ने र नयाँ बिरुवा रोप्ने कार्य गरिन्छ । यसले जंगलमा खेर जाने रुखहरूबाट आम्दानी हुन थालेको छ भने पहिलाको तुलनामा वनको संरक्षण हुँदै गएको छ । विगतको भन्दा समूहको कोषमा आम्दानी बढेपछि उपभोक्ताहरू पनि यसतर्फ आकर्षित हुन थालेका छन् ।
पूर्वी सुर्खेतको लेखफर्सास्थित सहिद सामुदायिक वनमा लागू भएको वैज्ञानिक व्यवस्थापनको अभ्यास सबैभन्दा सफल भएको छ । यो सामुदायिक वनले सुरुवातमा उपभोक्ताबाट रकम संकलन गरेर वनमा चौकीदार राखेको थियो । यस्तै छिमेकीसँग ऋण लिएर वनमा टाँचा मार्नुपर्ने बाध्यता थियो । आम्दानीको विकल्प नहुँदा ऋणमा रहेको यो वन उपभोक्ता समितिको खातामा अहिले ४६ लाख जम्मा भएको छ । कारण उपभोक्ताहरू मिलेर वैज्ञानिक वन व्यवस्थापनमा जुटे । उपभोक्ता समितिका अध्यक्ष मोतीप्रसाद मिदुन भन्छन्, ‘सुरुवातमा मान्छेहरूले निकै विरोध गरे, रुख काटेर सक्ने भए भन्दै गलत प्रचार गरे । आखिर हामीले वनमै कुहिएर जाने थोत्रा रुख मात्र काटेका हौं, त्यसको बदलामा नयाँ बिरुवा पनि रोप्ने गरेका छौं ।’ उनले यसअघि जंगलमै कुहिएर जाने रुखबाट हिजोआज लाखौं आम्दानी भइरहेको जानकारी दिए ।
अघिल्लो वर्ष यो वनमा रहेका पुराना, थोत्रा र काम नलाग्ने एक सय ४५ वटा रुख कटान गरिएको थियो । जसबाट समूहले ४६ लाख रकम आम्दानी गर्न सफल भएको छ । उक्त रकमबाट केही रकम वन संरक्षणमै लगानी गरिएको भन्दै समूहका उपाध्यक्ष धर्मराज थापाले भने, ‘हामीले विद्यालय र सडक निर्माणमा पनि सहयोग गरेका छौं, केही रकम उपभोक्तालाई ऋण दिएका छौं । धेरै रकम खातामै जम्मा छ, अब वन संरक्षणका लागि पनि तारबार गर्ने काम सुरु भएको छ ।’ यसपाली पनि यो वनमा एक सय ४८ वटा पुराना र थोत्रा रुख कटान भएका छन् । केही दिनमा नै टेण्डर गरेर बिक्री गरिने उपभोक्ता समितिले जनाएको छ । अध्यक्ष मिदुनले भने, ‘संरक्षणको नाममा वनमै कुहाएर खेर फाल्ने संस्कार हामीले तोडेका छौं, पुराना काम नलाग्ने रुख हटाउँदा नयाँ बिरुवा फस्टाएका छन् । यसले एकातर्फ समूहको आम्दानी बढ्यो, अर्कोतर्फ वन पनि फस्टाउँदै गएको छ ।’
उपभोक्ताको सक्रियता र इमान्दारिताका कारण वैज्ञानिक वन व्यवस्थापनको अवधारणा सफल बन्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्ला वन अधिकृत हेमराज विष्ट भन्छन्, ‘वन संरक्षण गरेर मात्र हुँदैन, त्यसको उचित सदुपयोग गर्नसक्नु पर्दछ । वनमा रुख सडाएर के फाइदा ? बरु तिनलाई सही सदुपयोग गरेमा आम्दानी हुन्छ ।’ अहिले पनि मान्छेहरूले बुझ्न नसकेको भन्दै उनले यो अवधारणा अनुसार काम भएमा कोही पनि उपभोक्ता भोकै बस्नु नपर्ने र वन पनि संरक्षण हुँदै जाने दाबी गरे । उनले यो अवधारणा लागू भएका जिल्लाका सामुदायिक वनहरूको खातामा आम्दानी बढेको र वन पनि पहिलेको तुलनामा संरक्षण भएको जानकारी दिए । आर्थिक लाभलाई मात्र ध्यान दिँदा समस्या हुने गरेको भन्दै उनले राजनीतिक स्वार्थ नघुसेमा यो अभ्यास नमुना हुने बताए । पूराना र थोत्रा रुख कटानका लागि वन कार्यालयले नै प्राविधिक खटाउने गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतका पूर्व अध्यक्ष चन्द्रप्रसाद थानी उपभोक्ताले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले पनि वैज्ञानिक व्यवस्थापनको महŒव बढेको जनाए ।
उनले भने, ‘वनमा पहिलो अधिकार उपभोक्ताको नै हुन्छ, उपभोक्ता सन्तुष्ट देखिएकाले पनि यो अवधारणा सफल हुनेछ ।’ काम नलाग्ने खालका रुख कटान हुने र नयाँ बिरुवा रोपिने भएकाले पनि यसले जंगलको अस्तित्व मेटिन्छ भन्ने भ्रमलाई चिर्ने थानीको भनाइ छ । वैज्ञानिक व्यवस्थापनका कारण उपभोक्ताले आर्थिक लाभसँगै जंगलबाट काठजन्य वस्तुहरू सहज रूपमा उपभोग गर्ने अवसर प्राप्त गरिरहेका छन् ।