राप्रपाको चुनाव केन्द्रित अनुशिक्षण
सुर्खेत, ९ चैत ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतको बुधवार वीरेन्द्रनगरमा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अनुशिक्षणमा राप्रपाकी प्रमुख सचेतक एवम् सांसद कुन्तीकुमारी शाहीले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी शाहीले पार्टीको नीति, योजना र रणनीतिका बारेमा कार्यकर्तामाझ आफ्ना भनाइ राखेकी थिइन् । उनले पार्टीको प्रमुख एजेण्डा नै नेपाललाई सनातन हिन्दु राष्ट्र निर्माण गर्ने र संवैधानिक राजसंस्था स्थापना गर्नु भएको प्रष्ट पारिन् । उनले यी दुई एजेण्डालाई पार्टीले त्याग्न नसक्ने बताइन् । निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राज्य र राजसंस्थाको विषय हटाएर गलत गरेको उनको भनाइ थियो । उनले लोकतान्त्रिक मुलुकमा पार्टीले आफ्ना योजना र एजेण्डा बोकेर जनतामाझ जान पाउनुपर्ने जिकिर गरिन् । साथै आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले यिनै दुई एजेण्डा लिएर जाने शाहीको भनाइ थियो । प्रशिक्षणका क्रममा शाहीले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन समेत दिइन् । उनले पार्टीका रणनीति, जनतामाझै लैजानुपर्ने एजेण्डा लगायतका बारेमा प्रशिक्षण दिएकी थिइन् ।
यसैगरी पार्टीका वरिष्ठ नेता मुकुन्दश्याम गिरीले सम्पूर्ण नेता कार्यकर्तालाई चुनावको लागि तयारी गर्न र संगठन निर्माण गर्ने कार्यमा केन्द्रित हुन आग्रह गरे । उनले निर्वाचन भनेको पार्टीहरूका लागि परीक्षा भएको भन्दै उक्त परीक्षामा उत्तीर्ण हुन सबै लाग्नुपर्ने बताए । गिरीले उम्मेदवार छनौटमा समेत अहिलेदेखि नै छलफल चलाउन आग्रह गरे । यदि कोही अहिलेको समयमै अन्य पार्टीबाट राप्रपामा प्रवेश गर्छ र उसले जित्ने सम्भावना भएको खण्डमा उक्त व्यक्तिलाई नै उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।
यसैगरी पार्टीका पूर्व जिल्ला अध्यक्ष कविराम पुरीले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई गाउँ–गाउँमा गएर नयाँ संरचनामा बनेका वडाहरूलाई मिश्रण गरी नयाँ र मजबुत संगठन निर्माण गर्न आग्रह गरे । उनले पार्टीका सबै नेता तथा कार्यकर्ता निर्वाचनमा परिचालित हुनुपर्ने धारणा राखे । कार्यक्रमका अन्य सहभागीहरूले पनि भर्खरै दुई पार्टी एकीकरण भएको सन्दर्भमा सबैलाई मिलाएर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव राखेका थिए ।
राप्रपा सुर्खेतका अध्यक्ष मानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति ओमबहादुर जिसी, उपसभापति तुलाराम गिरी, पार्टी नेता भद्रबहादुर शाही लगायतको सहभागिता रहेको पार्टीका जिल्ला सदस्य एवम् सञ्चार प्रतिनिधि प्रेम बिसीले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।