वीरेन्द्रनगरमा चुलिँदै खानेपानीको संकट

६ दिनमा एक पटक आउँछ धारामा पानी

माग २७५ लिटर प्रतिसेकेण्ड, आपूर्ति ५२ लिटर मात्रै

सुर्खेत: वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी संकट चुलिएको हो ।

गर्मीयाम लागेसँगै मुहानमा पानीको स्रोत घटेको छ । स्रोत घटेका कारण संस्थाले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक तालिकाअनुसार अबदेखि ६ दिनमा एक पटक पानी वितरण गरिनेछ । ‘६ दिनको फरकमा एक घण्टा पानी वितरण गर्नेगरी सम्पूर्ण एरियाको वितरण तालिका लागू गरिएको छ’ संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले भने, ‘लामो सुख्खा खडेरीका कारण मुहानमा पानीको स्रोत घटेको कारण यस्तो वितरण तालिका बनाउनु परेको हो ।’

अन्य समयमा पनि मागअनुसारको पानी आपूर्ति हुन नसकिरहेको बेला गर्मी समयमा चरम अभाव हुने गरेको छ । अध्यक्ष गौतमका अनुसार उपत्यकामा दैनिक दुई सय ७५ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्दछ । तर अहिले झुप्रा खोलासहितका मुहानबाट प्रति सेकेण्ड ५२ लिटर मात्रै आपूर्ति भइरहेको छ । यो आवश्यक परिमाणको तुलनामा निकै न्यून हो । जबकी हिउँदको समयमा पनि दैनिक एक सय ५७ लिटर प्रति सेकेन्ड खानेपानी आपूर्ति हुने गरेको छ । त्यसबाट पनि घटेर जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपूर्ति भएका कारण समस्या निम्तिएको गौतम बताउँछन् ।

संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ र मागअनुसार पानी पु¥याउन नसकेको गौतमले बताए । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला, इत्राम खोला, खोर्के खोला, दुनदुरे खोलालगायत उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ । तर मागअनुसार पर्याप्त हुन सकेको छैन ।

पछिल्लो समय आकाशे पानी नपरेका कारण पनि मुहान सुक्न थालेका छन् । पानी परेन भने स्रोत अझै घट्दै जाने अध्यक्ष गौतमले बताए । ‘मुहानबाट हरेक दिन घटेर आइरहेको छ’ उनले भने, ‘अझै केही दिन पानी परेन भने ६ दिनको वितरण तालिका पनि बढाउनुपर्ने हुनसक्छ ।’

‘यस विषम् परिस्थितिमा एक आपसमा मिलेर खानेपानी प्रयोग गर्नहुन र खानेपानीलाई अन्य प्रयोजनमा प्रयोग नगरिदिनुहुन हामी अपिल गर्न चाहान्छौँ’ संस्थाले उपभोक्ताहरूलाई अनुरोध गरेको छ । कुवा र इनार भएका क्षेत्रमा तिनै स्रोतको पानी प्रयोग गर्न समेत आह्वान गरिएको छ । यसले गर्दा अन्य उपभोक्तालाई राहत मिल्ने अध्यक्ष गौतमले बताए ।

खडेरीको समयमा वीरेन्द्रनगरवासीले बर्सेनि खानेपानीको समस्या झेल्दै आएका छन् । अहिले उपलब्ध स्रोतबाट पर्याप्त पानी आपूर्ति हुन सकेको छैन भने नयाँ स्रोत थप हुन पनि सकेको छैन । उपत्यकाको खानेपानी समस्या समाधानको दीर्घकालिन विकल्पकारूपमा अघि सारिएको भेरी पम्पिङ आयोजना निर्माणपूर्वका काममै अल्झिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भइसकेको छ । विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो ।

६ वर्षपहिलेदेखि नै अध्ययनको काम थालिएको थियो । २०८० जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । २०८० असोज १२ गते आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । जसमा सात वटा टेन्डर परेका थिए । परेका सात वटा टेन्डरमध्ये पाँच टेन्डर छनोटमा परेका छन् । प्राविधिक छनोटका आधारमा पाँच वटा टेन्डर छनोट गरिएको र अब ती टेन्डरको आर्थिक प्रस्तावका आधारमा छनोट गरिने आयोजनाले जनाएको छ । त्यसैगरी सर्वे डिजाइनको काम पनि भइरहेको छ । तीन वर्षमा परियोजना सम्पन्न गर्नेगरी काम अघि बढेको बताइएको छ ।

आयोजनाको भौतिक संरचना निर्माण गर्ने स्थानमा वन क्षेत्रले ओगटेको छ । भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । पहिलो चरणमा संरचना निर्माणका लागि तीन अर्ब २३ करोड रूपैयाँ लागत अनुमान छ । जसअन्तर्गत मुहान इन्टेक, रिर्जब ट्याङ्की, पाइपलाइन निर्माण र दोस्रो चरणमा सेवा विस्तारका काम हुनेछन् । आयोजनाका निर्माणका लागि रू. ६ अर्ब लाग्ने अनुमान छ ।

प्रकाशित मितिः   २५ बैशाख २०८१, मंगलवार १३:४४