उपलब्धि उन्मुख अन्वेषण

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य प्रगति उन्मुख छ । अहिले अन्तिम चरणको ‘ड्रिलिङ’ गर्न थालिएको छ । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पुष्टि गर्न लागिएको हो । अबको चार महिनामा मुख्य ड्रिलिङले काम चल्ने छ । जसबाट यो स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास छ÷छैन पुष्टि हुने जनाइएको छ । ‘ड्रिलिङ’ पछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयको अन्तिम नतिजा आउने छ । दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेस्थित ञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला मिथेन ग्यास रहेको प्रमाणित भएको १३ वर्षपछि उत्खनन् तथा अन्वेषण हुन लागेको हो । मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरेर काम अघि बढाइएको छ ।

नेपाल र चीनबीच सन् २०१६ मा भएको सम्झौताअनुसार चाइना एड अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्टअन्तर्गत नेपाल सरकारको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले ड्रिलिङ कार्य थालेको हो । भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे टोलीले खानी अन्वेषणका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । २० हजार २० वर्गकिलोमिटर क्षेत्रमा गरेको सर्भेका आधारमा ड्रिलिङ गरिने छ । २०४० सालमा सम्भाव्यता अध्ययन सुरु गरेको विभागले २०७२ सालदेखि उत्खनन्को तयारीलाई तीव्रता दिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) भएको थियो । सन् २०१७ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आउँदा पेट्रोलियम तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सम्झौता भएको थियो । २०१९ फेब्रुअरी २८ मा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच अन्वेषणको काम अघि बढाउने सम्झौता भएको थियो । अहिलेसम्म चिनियाँ टोलीले पेट्रोलियम पदार्थ भए नभएकोबारे यस क्षेत्रका १० वटा लाइनमा गरेको सर्भे रिपोर्ट सकारात्मक आएपछि आयोजनाको काम अघि बढाएको हो ।

चार हजारदेखि चार हजार पाँच सय मिटरसम्मको गहिराइमा अन्तिम अन्वेषणको काम गरिने छ । जसका लागि एक सय ५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजना स्थलमा पुगिसकेका छन् भने केही उपकरणहरू ल्याउन बाँकी छ । अबको चार महिनाभित्र सो क्षेत्रमा तेल वा ग्यास के हो त्यसको निक्र्यौल हुन्छ, कति परिमाणमा छ, उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा टुँगो लाग्छ । अन्तिम चरणको ड्रिलिङ अघि बढेसँगै पेट्रोलियम अन्वेषण परियोजनाले आशाको सञ्चार गराएको छ । यो परियोजना सफल भए नेपालका लागि महङ्खवपूर्ण आयोजना सावित हुनेछ ।

प्रकाशित मितिः   २५ बैशाख २०८१, मंगलवार ०५:०३