फर्केको पाटो
एउटा पाटो– यो पाटो पुरातन पाटो हो, सनातनदेखि चलि आएको पाटो हो । देख्नेले सामान्य मानिसकेको यो पाटो भोग्नेलाई मात्र थाहा हुँदो हो कति दुःखदायी थियो, कति पीडादायी थियो । यो पाटो पहाडदेखि मधेश, पूर्वदेखि पश्चिम जताततै लाम्चीएको थियो, चाख्लिएको थियो ।
कर्मले ठगेर हो कि भाग्यले भगाएर हो, अथवा पाखुरीले साथ नदिएर हो कि बुद्धिले बुध्दु बनाएर हो, खै किन हो उनीहरू गरिब नै बने भने यिनीहरू धनी नै बने । धनले धन तान्ने नै भएर हो कि अथवा जो होचो उसैको मुखमा घोचो पर्ने भएर हो यिनीहरू झन्झन् धनि बन्दै गए, उनीहरू चाहिँ गरिबमाथि गरिब बन्दै गए । रोगले उनीहरूलाई नै सतायो, प्रकृतिले उनीहरूलाई तर्सायो । उनीहरू ऋण माथि ऋण थप्दै गए, यिनीहरू शून्यको पछाडि शून्य थप्दै गए, आखिर शून्यले समेत थिच्यो थिच्नैसम्म । गैरीखेत त्यही शून्यले उडायो, पाखोबारी त्यही शून्यले उडायो, गोठको भैसी त्यही शून्यले उडायो आखिरमा घरबास समेत त्यहो शून्यले उडाएपछि गाउँमा बसिसक्नु भएन, उनीहरू आफ्नो थातबास यिनीहरूको जिम्मा सुम्पेर कहालीलाग्दो भविष्य ताक्दै मुग्लानतिर धपीए । त्यो शून्यले जति पिरोले पनि जति अचटे पनि यिनीहरूको विरोध गर्ने उनीहरूको तागत बनेन, यिनीहरूले धपाउँदै रहे, उनीहरू धपिदै गए । चलिरहयो यो क्रम । यो एउटा पाटो हो । यसको पछाडि अर्को पाटो पनि रहेछ ।
अर्को पाटो– खत्री प्रधान गाउँमा प्रख्यात थिए । पञ्चायतकालदेखि उनी गाउँमा हालीमुहाली गरिरहेकै थिए । उनी प्रधानपञ्च हुँदाहुँदै यो प्रजातन्त्र भन्ने अर्को तन्त्र आयो तर गाउँमा आफ्नो हैकम कायम राख्न उनलाई कुनै अर्को मन्त्र जरुरी भएन । फेरि चुनावमा उनैले सिन्दुर पहिरे । जुन पाटीको लहर आयो, त्यसैले रहर गर्ने नै भए । कहिले ऊ पाटी र कहिले यो पाटी गर्दै उनी प्रधानदेखि गाविस अध्यक्षसम्म बनिरहे ।
गाउँलेले पनि उनलाई उहीलेदेखि नै प्रधान भन्दै आएका नाम बदल्ने केहि जरुरी देखेनन्, प्रधान नै भनीरहे । पुख्र्यौलीदेखि शून्य माथि शून्य थपेर जोडिएको सम्पत्ति त छँदै थियो, फेरि आफू प्रधान भएपछि अरु थपिँदै जाँदा अथाह सम्पत्तिका मालिक बनिसकेका थिए उनी ।
समय केही फेरिएको थियो । पहाडी कागजमा शून्य थप्ने काम पहिलाजस्तो हुन पाउँदैनथ्यो । बरु गाउँमा आएका विकास योजनाहरूबाट निकास गरेर होस् अथवा मिल्ने नमिल्ने विभिन्न सेवा गरिदिए वापत जनताबाट मेवा लिएर होस् धन त थुप्रिने क्रम छँदै थियो । प्रजातन्त्र आएको र जनताको हातमा सार्वभौम सत्ता गएको कुरा बेलाबेला रेडियोले नभनेको कहाँ हो र ! तर पनि गाउँलेले त्यो प्रजातन्त्र भन्ने जन्तु कस्तो हुन्छ, कत्रो हुन्छ केही भेउ पाउन सकेका थिएनन् ।
सायद ठूलै चारपाङ्ग्रा भएको गाडि पो हो कि, मोटरजस्तै गुडेर आउने पो हो कि ? बाटो खुलेको छैन गाउँमा, त्यही भएर नआएको पो हो कि ?
चिलगाडी जस्तो पो हुन्छ कि त्यो प्रजातन्त्र ? उडेर आउने पो हो कि ? गाउँमा गीराउन छैन, बस्ने ठाउँ नभएकोले नआएको पो हो कि ! यस्तै यस्तै अड्कलबाजी गर्थे गाउँलेहरू । तर प्रधान भने झन् चलाख र चतुर भएका थिए । अनाथदेखि नाथसम्मलाई कसरी रिझाउन सकिन्छ भन्ने मामलामा खप्पिस भइसकेका थिए । उनलाई अरुले चाल नपाउने गरि माल थुपार्न पर्छ भन्ने कुरा कसले सिकाउन परोस् र ?
प्रजातन्त्रमा माथिकादेखि तलकासम्म सबैमा पुस्तौ पुस्तासम्म पुग्ने धन थुपार्ने होड चलेको थियो । त्यसमा प्रधान पनि आफूले लागेपुगेसम्म सहभागी भइरहेका थिए । जेठो छोरो पहिला बाबु आमाको लाडप्यारले हुर्केको गुन्डागर्दिमा नामुद भएपनि प्रजातन्त्र पछि भने उसको बानी व्यहोरामा ठूलो परिवर्तन आएको थियो, ठेकेदार बनेको थियो ऊ । गाउँदेखि जिल्लास्तरका समेत साना–ठूला विकास निर्माणका कामको ठेक्का उसैले हात पाथ्र्यो, स्कुल भवन बनाउने होस् कि पुल निमार्ण गर्ने होस्, बाटो खन्ने होस् कि अस्पताल भवन बनाउने होस् ठेक्का उसैको हातमा पथ्र्यो ।
नपरोस् पनि कसरी ? प्रधान सधैँ सत्ताधारी पार्टीमै रहन रुचाउने र सत्ताधारीका मन्त्रीले पनि खै किन हो उनलाई औधी रुचाउने गर्थे ।
अर्को छोरो अली अल्छी प्रवृतिको थियो । ढाट्नु, छल्नु, अरुलाई ठग्नु उसको सानैदेखिको प्रवृति भएपनि खेलकुदमा भने उसको कहिल्यै रुची भएन । खेलको नाममा उसले खोपी र तास भने ठूलै होउञ्जेलसम्म पनि औधी रुचीका साथ खेल्ने गथ्र्यो, त्यही खोपी र तास खेलेको दख्खललाई आधार मानेर प्रजातन्त्रका खेलकुद मन्त्रीले उसलाई खेलकुद विकासको माथिल्लै ओहोदाको जिम्मेवारी दिएको थिए ।
प्रधानका छोरीज्वाइँहरू पनि प्रजातन्त्रको रसमा पौडी खेल्नबाट वञ्चित कहाँ हुन्थे र ! कोही कुनै संस्थान कोही कुनै समिति कोही कुनै करपोरेशन आदी ठाउँमा विभिन्न जिम्मेवारी सम्हाल्न पुगेका थिए । प्रधान बुढाले आफ्नो सम्पूर्ण नातागोतालाई सकेसम्म जनताको सेवामा तल्लीन गराउने उद्देश्यले साला, भान्जा, भतिज, भदै, मीतसालासम्मलाई पनि कुनै न कुनै ठाउँमा जनताकै सेवामा लगाइदिएका थिए । उनका सबै आफन्तहरू प्रजातन्त्रको रसिलो तलाउमा डुबुल्की मारिरहेका थिए ।
यता प्रधानी बुढीको आफ्नै संसार थियो, छोराछोरी सबै हुर्कीसकेका, सबैको बिहे दानसमेत भइ जिम्मेवारीबाट पन्छीसकेको हुनाले बुढीको काम बुहारी कजाउने, नाती–नातिनी खेलाउनु मै सीमित थियो । बुढा प्रायः गाउँको जनताकौ सेवामा व्यस्त भइरहने भएकोले घरायसी सम्पूर्ण व्यवस्थापन बुढीकै नियन्त्रणमा थियो । खेत र पाखो बारीका खेतीपातीदेखि लिएर कुखुरा, खसी–बाख्रा, गाई, भैसी, कुकुर, बिराला र मौरीधार परेवासम्मको हेरचाहमा बुढीले विचार पु¥याउने गर्थिन् । घर–आँगनदेखि आफ्नो निजी धारो, गोठ, बाटो आदिको सफाइमा समेत तलमाथि भयो भने बुहारीहरू तथा अन्य नोकर चाकरले बुढीको खप्की खानु पथ्र्यो ।
बुढीलाई आफ्नो जिम्दारीको औधी माया थियो । हुन पनि उनको आफ्नो के थिएन र ? स्थानीय कीमुका रुख हुँदै आरु, बेलौती, आँप, नासपति, मेवा, लिचि, कटहर र अंगुरसम्म उनको बारीमा थियो । कुचो बनाउने अम्रिसो, बाँबियो, बाँस र सालघारीसम्म उनको थियो । खेतमा धान, पाखामा तोरी, मकै, गहुँ आदी सबैको उब्जनी राम्रै थियो । आफ्नो रजधज हेरेर बुढी आफै मख्ख पर्थिन । हुन त बुढाले सदरमुकाममा दुई वटा, राजधानीमा एउटा घर बनाइसकेका थिए र छोराहरू सके राजधानी नभए सदरमुकामतिरै बसाइ सर्ने विचार बेलाबेला पोख्थे तर पनि बुढी भने गाउँ छोड्ने पक्षमा थिइनन् । उनी भन्थिन्, ‘म बाजुञ्जेल यहाँबाट कहि पनि जाँदैन, पुर्खाको थलो त्यसमा आफ्नो पसिना पनि लगाएर यहि स्वर्ग पारेको छु मैले ।’ बुढा भने छोराको विचार पनि सुनिरहन्थे, बुढीको भनाइ पनि गुनीरहन्थे । छोराहरू आज–भोली गाउँ र सहर ओहर–दोहर गरिहरन्थे ।
यस्तैमा गाउँमा बिराना मान्छेहरूको आवत–जावत बढ्न थालेको थियो । उनीहरू प्रधानको घरमा पनि राती–राती आउँथे । बुढासँग धेरैबेर कुन्नी केके कुराकानी गरेर जान्थे । उनीहरूले गरेको कुरा बुढीले बुझ्दैनथिन् । गाउँमा चर्चा चलेको थियो ति राती–राती कुरा गर्न आउनेले भनेको नमानेपछि मार्न पनि बेर लाउदैनन् रे । दिन–दिनै ओल्लो गाउँमा फलानोलाई मारे, पल्लो गाउँमा ढिस्कानोलाई मारे भन्ने खबर सुनिदै रह्यो ।
राती–राती आउनेमा पहिला त बिराना मान्छे मात्र हुन्थे पछि–पछि त गाउँकै गरिब र निर्धा युवकहरूसमेत देखिन थाले । प्रधानसँग कहिले धान माग्ने, कहिले खसी माग्ने, कहिले लाखाँै लाख पैसासम्म पनि माग्न थाले ।
प्रधान पनि किन तर्सन्थे र उनी पनि छँदै थियो आफ्नो पुरानो जोस । खबर गरे सबै कुरामाथि, त्यसपछि त गाउँमा पटक–पटक पुलिसको टोली आउन थालिहाल्यो नि जब पुलिस आउँथ्यो, राती आउने टोलीहरू बेपत्ता हुन्थे । पुलिस भने गाउँका अन्य निर्दोष व्यक्तिहरूलाई कारबाही गरेर फर्कन्थे, कारबाहीमा पर्नेमा कहिलेकाहीँ प्रधानकै आफन्तसमेत हुन्थे । जब पुलिस जान्थ्यो, फेरि राती आउने टोलि देखा पर्थे । राती आउने टोली त विस्तारै हात हतियार बोकेरसमेत आउन थाले । चर्चा चल्यो फलानो ठाउँमा यति पुलिस मारे र हलानो ठाउँमा यति चौकी उडाए रे ।
विस्तारै–विस्तारै गाउँमा हुने खानेमा गनिएकाहरू गाउँ छोड्दै जान थाले । बुढाले के सोचेका थिए कुन्नी ? बुढी भने आफ्नै जिमिदारीमा मस्त थिइन । पछिल्लो घटनाले भने अलि अलि चिसो पसेको थियो बुढीको मनमा । आफ्नो त्यो रजधज छाडेर बुढी कहिँ जान चाँहदैनन्, जानै परे सम्पूर्ण जिमिदारी जुरुक उचालेर लैजान्छु भन्थिन् उनी । उनलाई मौरीको घारको उत्तिकै माया थियो, कुखुराको चल्लाको त्यतिकै माया थियो । बाख्राको पाठो होस् कि भैसीको पाडो होस् सबैमा बुढीको माया उत्तिकै थियो । बासको झाङ, अम्रिसो घारी, फलफूलका रुख सबैसँग बुढीको मोह उत्तिकै थियो । बोटबिरुवा, जमिन, जीवजन्तु सबैलाई मानौ बुढीले आफूभन्दा बढी माया गर्थिन् ।
राती हिँड्नेहरू दिउँसै पनि हिँड्न थाले, बगाल पनि ठूलै देखिन्थे । हातमा अनेक किसिमका हतियार पनि बोकेका हुन्थे, बुढीलाई थाहा थिएन तीनले के चाहान्छन् । गाउँबाट सहर पस्नेहरूको समूहमा धेरैजसो बुढाका आफन्तहरू नै थिए । बुढा गाउँमा एक्लो हँुदै गएका थिए, छोराहरू गाउँ आउन छोडिदिएका थिए ।
बुढा एक दिन निधारमा चीटचीट पसिना निकाल्दै आइपुगे । बुढी पाठालाई दाना खुवाइरहेकी थिइन्, ‘के भो किन यसरी आत्तिएको ?’ बुढीले सोधिन् ।
‘के हुन्थ्यो, तेरा बाबुहरूले मलाई पनि मार्ने भनेका छन् रे, गाउँमा छिरीसके रे, अब के गर्ने !’ बुढाको ओठमुख सुकेको थियो । बुढीको जवाफ नकुरी एउटा पुरानो सुटकेसमा अटाए जति लुगा कपडा कोच्न लागे । बुढी के गर्ने, के नगर्ने सोच्न भ्याइनिन् । ‘हैन कता जाने यो सब चटक्क छोडेर ?’
बुढाले दुई वटा सुटकेसमा कपडा र सामान कोचेर ठीक पारिसकेका थिए । बुढीलाई हिँड भन्न थाले तर बुढीको पाइला भने उठ्न सकेको थिएन । यतिकैमा टाढा कतै ड्वाङ्ग बन्दुक पड्किएको आवाज आयो । बुढाभन्दा बुढी अगाडि बाहिर दगुरिन् । बुढा पछिपछि लागे । सासै नफेरेरमाथि चौतारीमा आइपुगेपछि दुवै जनाले फर्केर हेरे । घर उदाङ्गै थियो, एउटा पाठो आगनमा खेलीरहेको थियो । बुढीले तुरुक्क आशुँ झारिन् । बुढाले लामो सास ताने, बुढीलाई घरले हात फैलाएर बोलाएझै लाग्यो, बुढी किन हो फेरि उतै फर्कन खोज्दै थिइन्, ड्वाङ्ग बन्दुक पड्किएको आवाज नजिकै सुनियो । बुढाबुढी जुरुक्क उठेर बाटो लागे । घर उदाङ्गै थियो, आगनमा पाठो उफ्रीरहेको थियो, यो अर्को पाटो ।
-गणेशभक्त गौतम
प्रकाशित मितिः २२ बैशाख २०८१, शनिबार ०५:०४
साझा बिसौनी ।