स्थानीय उत्पादनमा आकर्षण

सुर्खेत: बिहीवारदेखि वीरेन्द्रनगरमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१’ सुरु भएको छ । उक्त प्रतियोगिता शनिवारसम्म सञ्चालन हुनेछ । शुक्रवार दिउँसो ३ बजे प्रदर्शनीमा पुग्दा मानिसहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । स्थानीयस्तरमा बनेका सामग्री राखिएकाले पनि सबैको ध्यान खिचेको थियो ।

प्रदर्शनीमा ५७ उद्योगले भाग लिएका छन् । सबैभन्दा धेरै परम्परागत हस्तकला सीपबाट बनेका सामग्री सबैले रुचाएका थिए । कला–संस्कृतिको धनी थारु समुदायका महिलाले हस्तकला सामग्री स्टलमा राखेका छन् । अहिले ती सामग्रीले सबैको ध्यान खिचेकोे छ । कसैले सामग्री लगाएर फोटो खिच्ने खिचिरहेका थिए, कसैले भिडियो सुटिङ गरिरहेका थिए भने केहीले सामान किनिरहेका थिए ।

वीरेन्द्रनगर नगरपालिका ९ पातालगंगाकी निर्मला चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बिक्रीवितरणमा व्यस्त थिइन् । शुक्रवार उनको व्यापार निकै राम्रो भयो । उनले विगत दुई वर्षदेखि परम्परागत हस्तकलाका यस्ता सामग्री बनाइरहेकी छन् । उनीजस्तै ३८ थारु महिला अहिले वीरेन्द्रनगरमा परम्परागत हस्तकला बनाउन लागिपरेका छन् । उनीहरूलाई वडा नं. ९ मा रहेको पातालगंगा सामुदायिक थारु होमिस्टेले एक महिनाको तालिम दिएको थियो । उक्त तालिमबाट सिकेको सीपको सदुपयोग गर्दै उनीहरू हस्तकला सामग्री निर्माणमा जुटेका हुन् ।

गत चैत १६ गते पातालगंगा हस्तकला सामग्री उद्यम समूह उद्योग दर्ता गरेर सञ्चालन गरिरहेको थारुले बताइन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वीरेन्द्रनगर सुर्खेतमा उद्योग दर्ता गरेको छ । प्रदर्शनीमा राखिएका स्टलमध्ये थारु समुदायले निर्माण गरेका सामग्री सबैले रुचाएका छन् । बिहीवार सन्तोषजनक व्यापार गरेकी निर्मलाले शुक्रवार झनै राम्रो व्यापार भएको बताइन् । निर्मलाले हस्तकला सीपमार्फत् आकर्षक सामग्री निर्माण गरी बिक्री वितरण गरिरहेकी छन् । प्रदर्शनीमा दैनिक पाँचदेखि आठ हजारको व्यापार भइरहेको उनले बताइन् ।

उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बिक्रीका लागि प्रदर्शनीमा राखेकी छन् । ‘पहिला केही पनि थाहा थिएन’, निर्मलाले भनिन्, ‘तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।’ उनले परम्परागत सामग्रीको माग बढ्दै गएको र यस्ता मेला महोत्सवले थप सहज भएको जनाइन् । उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने बताइन् । ‘परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ’, उनले भनिन्, ‘हामीले बनाएको सामान बिक्रीका लागि प्रदर्शनी बजारमा पनि लैजान थालिएको छ ।’ उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भएपनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताइन् ।

सोही प्रदर्शनीमा दर्शकको अर्को आकर्षणको केन्द्र अल्लोबाट उत्पादन भएका सामग्रीतर्फ थियो । ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवा जातका नामले चिनिने अल्लो आम्दानीको स्रोत बन्दै गएको छ । कर्णालीमा अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी हुँदै आएको छ । हुम्लाको अदानचुली गाउँपालिका–४ का सुझाव ढकालले प्रदर्शनीमा अल्लोबाट उत्पादन भएका सामग्री बिक्रीवितरण गरिरहेका छन् । १२ वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आएका उनले यसबाट राम्रो आम्दानी भइरहेको बताए । १२ वर्षअघि नै अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर उद्योग सञ्चालन गर्दै आएको ढकालको भनाइ छ ।

 

उनले साझेदारीमा अदानचुली दाजुभाइ उद्योग सञ्चालन गरिरहेका छन् । ढकालले भने, ‘खर्च कटाएर वर्षको एकदेखि दुई लाखसम्म कमाउँदै आएको छु ।’ मासिक २० देखि २५ हजारसम्म आम्दानी हुन्छ । आफूले उत्पादन गरेको सामग्री मेला, महोत्सवमा धेरै नै माग भइरहेको ढकालले बताए । यहाँ उत्पादित अल्लोको कपडा देशविदेशमा समेत खपत हुँदै आएका छ । उनले सरकारी कार्यालयमा समेत बिक्री हुने गरेको बताए । १२ वर्षदेखि अल्लो प्रशोधन तथा धागो उत्पादन र कपडा बुनाइलाई मुख्य पेसाकारूपमा अँगाल्दै आएका छन् ।

 

स्थानीय उत्पादनको प्रवद्र्धन

स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले वीरेन्द्रनगरमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१’ आयोजना गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले औद्योगिक प्रदर्शनीको आयोजना गरेको हो ।

कर्णालीमा लघु, घरेलु तथा साना उद्यमीबीच वस्तु तथा सेवाको उत्पादन, तिनको गुणस्तर, उत्पादित परिमाणका बारेमा सरोकारवालालाई सूचना उपलब्ध गराइ उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि र बजारीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यालयका निमित्त निर्देशक मुकुन्दनाथ योगीले बताए । बिहीवारदेखि सुरु भएको प्रतियोगिता शनिवारसम्म चल्नेछ ।

प्रतियोगितामा सुर्खेत उपत्यकाका २८ र उपत्यका बाहिरका २९ गरी ५७ उद्योग प्रदर्शनीमा भाग लिएका छन् । निर्देशक योगीका अनुसार प्रदर्शनीमा भाग लिने उद्योगीलाई अवलोकनकर्ताले छनोट गर्नेछन् । उनीहरूले गरेको छनोटका आधारमा उत्कृष्ट तीनलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मितिः   २२ बैशाख २०८१, शनिबार ०५:०५