कर्णाली पहिलो पटक राष्ट्रिय महिला लिगमा छनोट

 

सुर्खेत: कर्णाली प्रदेशले पहिलो पटक राष्ट्रिय महिला लिग फुटबल खेल्ने भएको छ । सुर्खेतमा सञ्चालित छनोट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय लिगका लागि छनोट हुन सफल भएको हो ।

सात वटा प्रदेश सहभागी छनोट प्रतियोगितामा कर्णाली तेस्रो स्थानमा रहँदै महिला लिग च्याम्पियनसिपमा छनोट भएको सुर्खेत जिल्ला फुटबल संघका महासचिव सुनिल देवकोटाले जानकारी दिए । उनकाअनुसार कर्णालीले ६ खेलमध्ये चार वटामा जित निकालेर १२ अंक जोड्न सफल भयो ।

बिहीवार भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई २–० गोलअन्तरले हराउँदै लिगको च्याम्पिनसिपमा स्थान सुरक्षित गरेको हो । त्यसअघि तीन खेल जितेर नौ अंक बटुलेको कर्णालीलाई गण्डकीसँगको खेल जित्नैपर्ने दबाब थियो । दबाबकाबीच ऐतिहासिक सफलता हात पारेको छ ।

प्रतियोगितामा १६ अंकसहित कोशी प्रदेश शीर्ष स्थानमा रहँदा १५ अंकसहित सुदूरपश्चिम प्रदेश दोस्रो रह्यो । कर्णालीसहित कोशी र सुदूरपश्चिम पनि राष्ट्रिय लिगका लागि छनोट भएका छन् । राष्ट्रिय लिगमा छनोट चरणबाट गएका तीन टिमसहित तीनवटा विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मितिः   २१ बैशाख २०८१, शुक्रबार १०:१०