महँगी बढ्यो, श्रमिकको ज्याला बढेन

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–६ का दिर्घबहादुर विकले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । उनका लागि जीविका चलाउने एकमात्रै उपाय मजदुरी गर्नु हो । मजदुरी पाएको बेला दुई छाक खाना खान पाउने गरेको विकले बताए । तर हिजोआज काम पाउनै मुश्किल हुनेगरेको छ । काम नभएको बेला भोकभोकै बस्नुपर्ने अवस्था रहेको भन्दै उनले हप्तामा एक÷दुई दिन काम पाउने र अन्य दिन खाली बस्नुपरेको बताए । हप्तामा दुई दिने मजदुरीको आम्दानीले परिवारको हप्ता दिनको खाना खर्च जुटाउनुपर्ने विकको बाध्यता हो । उनको पाँच जनाको परिवार छ । रोजेअनुसारको काम पाउनै मुश्किल हुनेगरेको विकले बताए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का लालबहादुर सुनार मजदुरी गरेबापत दैनिक ६ सय रूपैयाँ ज्याला बुझ्छन् । त्यसैबाट चलाउँछन् तीन छोराछोरीसहित परिवारको गुजारा । न्यून ज्यालामा काम गर्नुपरिरहेको सुनारको भनाइ छ । बिहानदेखि साँझसम्म सामान लोडअनलोडको काममा खटिरहन्छन् उनी । ‘श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश के गर्नु ?’ सुनार भन्छन्, ‘घरमा छोराछोरी, श्रीमती पाल्नै प¥यो, आफ्नो दुःख आफैसँग छ, हामीले दैनिक काम गर्ने अवसर पाए पुग्छ ।’ अहिले रोजेअनुसारको काम नपाइने, यदि पाइहालेपनि न्यून ज्यालामा काम गर्नुपरिरहेको उनको दुखेसो छ ।

वीरेन्द्रनगरकै सविता सुनारले ज्याला मजदुरीको काम पाउन समस्या भइरहेको बताइन् । खोजेअनुसारको काम नपाउँदा झनै समस्या हुनेगरेको उनको भनाइ छ । दैनिक ज्यालादारी काम तथा बजारमा सरसामान लोडअनलोड गरेर जीवन निर्वाह गर्दै आएकी सुनारलाई आजभोली काम पाउनै छोडेपछि समस्या भएको हो । ‘महँगाइ बढेको बढ्यै छ’, उनले भनिन्, ‘त्यहीअनुसार ज्याला पाउने भए हुन्थ्यो, ज्याला पुरानै छ, दिनभरि काम गरेर धौ–धौ पाँच सय पाउँछौँ, त्यसले घरका लागि रासनपानी पु¥याउन सकिँदैन ।’ स्थानीय सरकारले आफूहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

बढ्दो सवारी साधनका कारण काम पाउनै मुश्किल हुनेगरेको वीरेन्द्रनगरकै यामबहादुर विकले बताए । ‘पहिला खोजेअनुसारको काम पाइन्थ्यो, अहिले काम पाउनै मुश्किल छ’, विकले भने, ‘काम पाइदैन्, पाइएपनि न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता छ ।’ सरकारले रोजगारीको व्यवस्था गर्नुपर्ने भन्दै विकले रोजगारी नहुँदा समस्या भइरहेको बताए । ‘देशमा कयौँ व्यवस्था बदलिए, हाम्रो अवस्था अहिले पनि उस्तै छ’, विकले भने, ‘सरकारले आश्वासन दिन्छ, काम दिँदैन, रोजगारी दिने कुरा पनि नभएका होइनन्, सरकारको तर्फबाट कसैले रोजगारी पाएका छैनौँ ।’

 

समान ज्याला अझै लागू भएन

मजदुरहरूलाई एकातिर काम पाउनै मुश्किल छ भने अर्कोततर्फ श्रमशोषण पनि उत्तिकै हुन्छ । पछिल्लो श्रम सर्वेक्षण अनुसार समान कामका लागि पुरुषको तुलनामा महिलाको ज्याला ३० प्रतिशत कम छ । अधिकांश श्रम क्षेत्रमा संख्यात्मक रूपमा महिलाको सहभागिता धेरै छन् तर ज्याला भने न्यून छ । पुरुष बराबर कामगरेपनि न्यून ज्याला पाउने गरेको वीरेन्द्रनगर नगरपालिका–५ की पदमा बिटालुले बताइन् । अहिले पनि ज्यालामा विभेद रहेको उनको भनाइ छ । विभिन्न समयमा सरकारसँग समान ज्यालाको माग गरेपनि सुनुवाइ नभएको उनको गुनासो छ । उनले भनिन् ‘महिला पुरुषको काम एउटै हुन्छ, ज्यालामा विभेद छ । उही काममा पुरुषले एक हजार खान्छ, हामीलाई पाँच सय दिइन्छ ।’

श्रम ऐन, २०७४ तथा नियमावली २०७५ लाई कार्यान्वयन गर्दै गत साउन १ गतेबाट श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि भएको छ । यसअघि मासिक १५ हजार पारिश्रमिक पाउँदै आएका श्रमिकको पारिश्रमिक वृद्धि भएर मासिक १७ हजार तीन सय रूपैयाँ कायम भएको हो । कायम भएको न्यूनतम् पारिश्रमिकका आधारमा श्रमिकको सञ्चय कोष, उत्पादन, सामाजिक सुरक्षा कोष तथा सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ । योसँगै श्रमिकले पाउने चाडपर्व खर्च, बिदाबापतको भुक्तानी, सुत्केरी एवम् सुत्केरी स्याहार खर्च र स्वास्थ्य एवम् दुर्घटना बिमाबापतको रकमसमेत बढाइएको छ । तर व्यवहारमा भने कार्यान्वयन भएको छैन ।

 

श्रमिक दिवस

यसैबीच बुधवार वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ १३५औँ विश्व मजदुर दिवस मनाइएको हो । सुर्खेत कामदार संघले विविध कार्यक्रम गरी दिवस मनाएको छ ।

औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम् तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै कामदार संघ सुर्खेतले ¥याली निकालेको थियो । हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको कामदार संघ सुर्खेतका संयोजक दिपेन्द्र विकले बताए । उनले सुर्खेत जिल्लाभरका तीन सयभन्दा बढी श्रमिक संगठीत बनेको जानकारी दिए ।

प्रकाशित मितिः   २० बैशाख २०८१, बिहीबार ११:४९