शान्ति स्मारक निर्माणका लागि छलफल

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ चैत ।
वीरेन्द्रनगरमा शान्ति स्मारक निर्माणका लागि अझै जग्गाको टुङ्गो लाग्न सकेको छैन । सहिदहरूका नाममा शान्ति स्मारक निर्माणका लागि यसअघि क्षेत्रीय प्रशासन कार्यालय नजिकको स्थानलाई छनौट गरिएको थियो । तर, सशस्त्र प्रहरीको कार्यालय नजिक भएकोले स्थान परिवर्तन गर्नुपर्ने भन्दै सरोकारवालाहरूसँग छलफल गरिएको हो ।
स्मारक बनाउने स्थान छनौटका लागि वल्र्डभिजन एड्भोकेसी फोरमले मंगलवार सरोकारवालाहरूसँग छलफल गरेको छ । शान्ति स्मारक कुन ठाउँमा बनाउने भन्ने विषयमा वीरेन्द्रनगर नगरपालिका र नगर विकास समितिसँग समन्वय गर्नुपर्ने सहभागीहरूले बताएका छन् । वीरेन्द्रनगर, छिन्चु र बावियाचौरमा शान्ति स्मारक निर्माणका लागि ९०÷९० हजार रूपैयाँ छुट्याइएको छ । जसमध्ये छिन्चुमा काम सम्पन्न भइसकेको र बावियाचौर वीरेन्द्रनगरमा काम सुरु हुन बाँकी रहेको वल्र्डभिजन एड्भोकेसी फोरमका उत्तमप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सामाजिक अधिकृत टंक लामिछानेले शान्ति स्मारक निर्माणका लागि एक संस्था मात्र नभइ सबै सरोकारवालाहरूको हातेमालो हुनुपर्नेमा जोड दिएका थिए । उनले बजेट थोरै भए पनि सबैको सहकार्यमा काम छिटो सुरु गर्नुपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला अधिकृत जमुना पौडेल, शान्ति समितिका संयोजक मोहन थापा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ९ चैत्र २०७३, बुधबार १५:३७