डढेलोले जल्छ वर्षेनी आधा वन

समुदायलाई डढेलो नियन्त्रण अभ्यास, आगो लाग्न नदिने प्रतिबद्धता

सुर्खेत, ८ चैत ।
सुर्खेतमा वर्षेनी आधा भाग वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । सुख्खा मौसममा फैलिने डढेलो जिल्लाको कूल वन क्षेत्रमध्ये आधा भागमा लाग्ने गरेको हो । मानिसहरूकै लापरबाहीका कारण वर्षेनी जंगलमा आगो लाग्ने गरेको भन्दै जिल्ला वन कार्यालयले यसले ठूलो नोक्सान पु¥याउने भन्दै चिन्ता व्यक्त गरेको छ ।
वन कार्यालयका अनुसार चैत, वैशाख र जेठ महिनामा बढी डढेलो फैलिने गरेको छ । गर्मी मौसममा जंगलमा पातहरू झर्ने र यसले वनमा आगलागी हुने गरेको कार्यालयको भनाइ छ । सुर्खेतमा हाल एक लाख ७७ हजार हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये करिब आधा अर्थात् ५० हजार हेक्टर वनमा डढेलो लाग्ने गरेको छ । गलत भ्रमका कारण कतिपय सामुदायिक वनका पदाधिकारीहरूले नै वनमा आगो लगाउने गरेका छन् । यस्तै मानिसहरूकै कारण आगलागी हुने गरेको वन कार्यालयले जानकारी दिएको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्टले वर्षेनी जिल्लाको आधा भाग जंगलमा आगलागी हुने गरेको बताए । उनले भने, ‘आगो लगाउँदा वन फस्टाउँछ भन्ने गलत भ्रम छ, सामुदायिक वनका कतिपय पदाधिकारीले नै आगो लगाउँछन् । मान्छेहरूकै लापरबाहीले जंगलमा आगो लाग्छ, वर्षेनी वन सखाप हुन्छ ।’ वनमा आगलागी हुँदासमेत समुदायले चासो नदिँदा थप समस्या भइरहेको उनको भनाइ छ । सामुदायिक वन र समुदाय सक्रिय भएमा जिल्लाको वनमा लाग्ने डढेलोलाई शून्य बनाउन सकिने उनको दाबी छ । यसका लागि आफूहरूले समुदायलाई सचेतना जगाउने र डढेलो नियन्त्रणको अभ्यास गराउन थालेको उनले जानकारी दिए । सल्लो र साल भएको जंगलमा बढी आगलागी हुने गरेको कार्यालयले जनाएको छ ।
सुख्खा मौसम सुरु भएसँगै वन कार्यालयले डढेलो नियन्त्रण सम्वन्धी सचेतनामूलक अभियान सुरु गरेको छ । कार्यालयले सामुदायिक वनका सदस्य र समुदायका व्यक्तिहरूलाई वनमा आगलागी हुँदा नियन्त्रण गर्ने उपाय र स्थलगत अभ्यास गराउन थालेको हो । यही क्रममा कार्यालयले मंगलवार वीरेन्द्रनगरको उत्तर जलाधार क्षेत्रमा रहेका सामुदायिक वनका सदस्यहरूलाई डढेलो नियन्त्रण सम्बन्धी स्थलगत अभ्यास गराएको छ । कटकुवा क्षेत्रमा भएको अभ्यासमा वनमा डढेलो लाग्दा त्यसलाई नियन्त्रण गर्ने तरिका, अग्नी रेखा निर्माण र आगो नियन्त्रण बारे अभ्यास गराइएको थियो । सोही अवसरमा स्थानीयले आफै वनमा आगो लगाएर त्यसलाई नियन्त्रण गर्दै अभ्यास गरेका थिए । यो अभ्यासले डढेलो नियन्त्रण गर्ने सीप सिकाउने वन कार्यालयको भनाइ छ ।
उक्त अभ्यासपछि सामुदायिक वनका पदाधिकारीहरूले अब वनमा कुनै पनि हालतमा डढेलो लाग्न नदिने कसम खाएका छन् । साथै उनीहरूले सामूहिक रूपमा नै वन संरक्षणमा लाग्ने र आगलागी नियन्त्रणमा जुट्ने बताए । कृष्ण सामुदायिक वनका अध्यक्ष खगीसरा गैरेले भनिन्, ‘वन हाम्रो सम्पत्ति हो, यसको संरक्षणमा हामी कम्मर कसेर लाग्नेछौं । अब कसैले आगो लगाए हामी डटेर नियन्त्रणमा लिनेछौं, त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न पछि पर्ने छैनौं ।’ मानवीय कारणले जंगलमा आगो लाग्ने गरेकाले अब समुदायमा पनि आफूहरूले यसबारेमा सचेतना फैलाउने उनको भनाइ छ । सो अवसरमा जिल्ला वन अधिकृत विष्टले भने, ‘वनमा आगो आफै लाग्दैन, मान्छेले नै लगाउँछन् । वन सखाप भयो भने हामी कसरी जिउने ? अब समुदायले नै यसतर्फ ध्यान दिनुपर्छ ।’ उनले सामुदायिक वनका सदस्यहरू मात्र जुटेमा वनमा आगलागी नियन्त्रण गर्न सकिने र जंगल जोगाउन सकिने बताए ।
वन डढेलो नियन्त्रणबारे सचेतना जगाउने उदेश्यले गोठीकाँडाबाट चेतानामूलक ¥याली निकालिएको थियो । ¥याली तथा अभ्यासमा सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरू, स्थानीय बासिन्दा, सेना, प्रहरी र वन कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वन संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । साथै उनीहरूले उत्तरी जलाधारमा वर्षेनी डढेलो लाग्दा वन सखाप हुने गरेको बताए । यसले गर्दा उपत्यकामा पानीको संकट हुने गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । अब आगलागी नियन्त्रण गर्न र यसबारेमा सचेतना जगाउन आफूहरू प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७३, बुधबार १५:४०