अनियमित विद्युत

यसैपनि कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । ठूला उद्योग सञ्चालनमा छैनन् । साना उद्योग–व्यवसायमा पनि अनेक चुनौती छन् । विद्युत आपूर्ति नियमित नहुने ठूलो समस्या बनेको छ । अनियमित विद्युतका कारण सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिनछिनमै विद्युत आउने–जाने समस्याका कारण उद्योग सञ्चालन गर्न समस्या भइरहेको छ ।

अनियमित विद्युत आपूर्तिले उत्पादनमा कमी, यन्त्र उपकरण बिग्रिने र उत्पादन लागत बढ्ने गरेको छ । अनियमित विद्युत आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपनि अहिले अघोषित रूपमा विद्युत कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको हो । उद्योगीहरूले विद्युत आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकारण सुर्खेत ‘वितरण’ केन्द्रसँग पटकपटक आग्रह गर्दै आए पनि समस्या समाधान हुनसकेको छैन । विद्युत वितरण केन्द्र सुर्खेतले भने सिस्टममा समस्या आएका कारण विद्युत अनियमित हुने गरेको जनाएको छ । विद्युत खपत अत्यधिक बढेकाले भोल्टेज कम हुने गरेको छ । एक सय ३२ केभिए प्रशारण लाइन नजोडिदासम्म यो समस्या समाधान हुने देखिदैन । गर्मी मौसम सुरु भएसँगै कोहोलपुर–सुर्खेत लाइनको लोड बढेको छ । अर्कोतिर प्राकृतिक विपत्तिले समेत समस्या भइरहेको छ  । यो समयमा हावाहरी लाग्ने, वनजंगलमा आगलागीका घटनाहरू भइरहेकाले विद्युतको संरचनामा क्षति पुग्ने गरेको र जसले गर्दा विद्युत अनियमित भइरहेको छ ।

कर्णालीमा विद्युत अभाव छ । राष्ट्रिय प्रसारण लाइन विस्तार भएपनि पर्याप्त विद्युत उपलब्ध हुन सकेको छैन । ३३ केभीए प्रसारण लाइनले यहाँको विद्युत माग धान्न सकेको छैन । नागरिकले लोडसेडिङको मार खेपिरहनु परेको छ । त्यसमाथि विना तालिकाको अनियमित रूपमा हुने लोडसेडिङले थप हैरानी दिएको छ । नागरिकका दैनिक जीवनयापनमा मात्रै होइन व्यवसाय र औद्योगिक विकासमा समेत विद्युत अभावले चरम समस्या निम्त्याएको छ । तर लामो समयदेखि यसको समाधान हुन सकेको छैन । विद्युत क्षमता विस्तार गर्ने योजना बनाइएको समेत निकै समय भइसकेको छ । तर अहिलेसम्म योजना कार्यान्वयनमा आउन सकेको छैन । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तार योजनाले पूर्णता पाउन नसक्दा विद्युतको समस्या जस्ताको त्यस्तै छ । आयोजना निर्माणको काम भइरहेपनि विभिन्न बाधा देखिएका छन् । व्यवधान हटाएर जतिसक्दो छिटो १३२ केभीए विद्युत प्रसारण लाइन सञ्चालनमा नल्याउँदासम्म सुर्खेतसहित कर्णालीबासीले अनियमित विद्युतको समस्या झेलिरहनुपर्ने बाध्यता छ ।

प्रकाशित मितिः   १६ बैशाख २०८१, आईतवार ११:५५